२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लकडाउनमा पनि गौतमबुद्ध विमानस्थलको काम जारी

मंगलवार , श्रावण ६, २०७७

भैरहवा, २ वैशाख ।

लकडाउनका कारण मुलुकको निर्माण क्षेत्र ठप्प जस्तै भए पनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने धमाधम भइरहेको छ ।

विमानस्थल निर्माणका लागि आवश्यक उपकरण चीनमै रोकिए पनि यहाँ रहेका कामदारले भने कामलाई निरन्तर जारी राखेका छन् । सरकारले केही दिन अघि मात्रै कामदारलाई भित्रै सुरक्षित राखेर ठूला आयोजनालाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

कोरोना भाइरसका कारण सुरुमा चीनले सामाग्री रोकेको थियो भने पछिल्लो समय रसुवागढी नाका बन्द भए पछि विमानस्थलका लागि आवश्यक सामान नेपाल भित्रिन पाएका छैनन् । चिनियाँ नयाँ वर्ष मनाउन आफ्नो देश फर्किएका २० जना प्राविधिक कामदार पनि चीनमै रोकिएका छन् । विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले प्राविधिक र कामदार गरी २८ जनाको चिनियाँ टोली विमानस्थल निर्माणमा खटिएको छ । उनीहरु लाकडाउनको बेला पनि दिनरात नभनी काम गरिरहेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार परियोजना क्याम्प भित्रै बस्ने मजदूरहरुले धमाधम काम गरिरहेका छन् । “लकडाउनका कारण धेरै क्षेत्रको निर्माण कार्य ठप्प जस्तै भए पनि हाम्रो काम जारी छ, २८ जना चिनियाँ कामदारसहित ८० जना कामदारले विमानस्थल निर्माणको काम गरिरहेका छन्”–अधिकारीले भने । विमानस्थल निर्माणका लागिड लकडाउन अघिसम्म दैनिक दुई सय कामदार खटिएका थिए । अहिले भने क्याम्प भित्र रहेकाले मात्र कामलाई निरन्तरता दिएका हुन् । विमानस्थलको पुरानो धावनमार्गमा लाइट जडान, टर्मिनल भवनको फिनिसिङ, सेन्ट्रल एसी जडान, टाल लगाउने र तारबारको काम चलिरहेको आयोजना प्रमुख अधिकारीले बताए । उनले भौतिक पूर्वाधारको काम अझै १० प्रतिशत बाँकी रहेको बताए । जसमा ६ प्रतिशत उपकरण जडानको काम र चार प्रतिशत भौतिक पूर्वाधारका अन्य काम बाँकी छन् । लकडाउनका बेला अन्य गतिविधिमा स्थानीय प्रशासनले कडाइ गरेको छ । राष्ट्रिय गौरवको आयोजनाको काम सुरक्षित एवं सतर्कताका साथ अघि बढाउने भनेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउनको बेलामा पनि काम गर्न अनुमति दिएको हो । आयोजना प्रमुख अधिकारीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग समन्वय गरेर काम गरिरहेको बताए । उनले बाहिरबाट सामान ल्याउन गाह्रो भए पनि आइसकेका सामानहरुको जडान नरोकिएको बताए । विभिन्न समयमा समस्या झेल्दै आएको गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाको लागत पनि बढ्दै गएको छ । समय लम्बिंदा लागत स्वतः बढ्ने अधिकारीले बताए । विमानस्थल निर्माणको कुल लागत ६ अर्व ८२ करोड रुपैयाँ छ । यो रकम जग्गा अधिग्रहण बाहेकको हो । यसमा एसियाली विकास बैंकको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । आयोजना अन्तर्गत १० मेगावाट सौर्य उर्जा निकाल्न करिब एक अर्ब लागत लाग्ने अनुमान छ । विमानस्थलमा सौर्य उर्जामार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने गरी काम अघि बढाइएको छ । आयोजना प्रमुख अधिकारीका अनुसार एडीबीको अनुदानमा सौर्य उर्जा जडान गरिने भएको हो । विमानस्थललाई प्रदुषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी मुलुकमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढेको अधिकारीले बताए ।