डोल्पा, १७ असोज । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोई लगायत स्थानमा व्यावसायिक अंगुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अंगुर फलेको छ ।रहर लाग्ने गरी फलेका अंगुर देख्दा फार्ममा पुग्ने जो कसैको पनि मन लोभिने गर्छ । कृषकलाई भने लटरम्म फलेको अंगुर देख्दा चिन्ताले पिरोल्न थालेको छ । लटरम्म फलेको पुष्ट दाना भएको अङ्गुर बिक्री नभएर बोटमै कुहिन थालेपछि चिन्ताले सताएको हो ।
अमिलो पीडा
डोल्पालीलाई गुलियो अंगुरको स्वाद चाख्न जहाज नै चढेर नेपालगञ्ज, सुर्खेत लगायत शहर बजार नै झर्नुपथ्यो । कि त जहाजमा प्रतिकिलो रु ११०सम्म तिरेर झिकाएर खानुपथ्र्यो । यसरी झिकाइएको अंगुर पेटभरि खान होइन चाख्न मात्र पाइन्थ्यो । अब समय फेरिएको छ । दुई वर्षयता नगरपालिका भित्रैै फालाफाल अंगुर उत्पादन भएको छ । बिहान दिउँसो साँझ जुनसुकै समयमा डोकामा र बोरामा अंगुर आइपुग्छ । कुनै विषादी नहालेको गुलियो कालो अंगुर पेटमा अटाए जति खान पाइन्छ ।
अर्गानिक अंगुर नबिकेपछि कृषकलाई गुलियो अंगुरले अमिलो पीडा दिन थालेको हो । वडा नं–१ बस्ने सुस्मिता श्रेष्ठले खाँती ज्युलामा व्यवसायिक अंगुरखेती गरेकी छन् । उनले स्थानीय जातको सिमी, मकै, कोदो लगायत अन्नबाली हटाएर उक्त खेती गरेकी हुन् । चार रोपनी जमिनमा सुरु गरिएको अंगुर हाँगै झुक्ने गरी फल्न थालेको दुई वर्ष भयो । सुरुमा नगरपालिकाबाट अनुदानमा पाएको अंगुर रोप्न पाउँदा र लगाएको अंगुर पहिलो वर्ष फल्दा जति श्रेष्ठमा उत्साह थियो अहिले त्यो उत्साह आधा घटेको छ । यस वर्ष आफ्नो फार्ममा करिब १५ क्विन्टलसम्म अंगुर फलेकामा एक भाग पनि बेच्न नसकिएको गुनासो गर्दै उहाँले नेपालगञ्ज, सुर्खेत लगायत बजारमा लगेर बेच्न पाए रू चार लाखसम्मको अंगुर उत्पादन भएको उनले बताइन् ।
“अरु परम्परागतखेती हटाएर अंगुरखेती सुरु गरँे, फार्ममा लाखौँको अंगुर फलेको छ, घरमा आर्थिक संकट छ, बजार नहुँदा अङ्गुर त्यसै कुहिँदै आएको छ”, श्रेष्ठले भने । “गत वर्ष रू २०÷२५ हजारको अंगुर बेचेँ, यस वर्ष मुश्किलले रु ५० हजारसम्म बिक्री भयो होला, अरु सबै कुहिएर खेर गइरहेको छ, दुःखकष्ट गरेर हुर्काएको अंगुर बिक्री नहुँदा मन दुख्छ ।”
“डोल्पामा अंगुर बेच्न समस्या छ, डोकोमा बोकेर गाउँगाउँ, मेला पर्वमा पुर्याएर प्रतिकिलो १०० रुपैयाँमा दिँदा पनि विक्री हुँदैन, गुलियो अंगुरले अमिलो पीडा दिएको छ”, उनले दुखेसो पोखिन् । “एक जना मान्छे नै खटाएर अंगुरको रेखदेख गर्नुपर्छ, कुनै निकायबाट घेरबारको व्यवस्था गरिदिएको भए धेरै राहत हुने थियो, त्योभन्दा पनि स्थानीय सरकारले बजारको सुनिश्चत गरे कृषक आत्मनिर्भर भई आर्थिक हिसाबमा पनि मजबुत हुन्थे”, श्रेष्ठले भने । अर्का कृषक कमल हमालको पीडा पनि उस्तै छ । उनले पनि १५ क्विन्टल सिमी र मकै उत्पादन हुने पाँच रोपनी खेतमा अंगुर लगाएका छन् । फार्ममा करिव रू तीन लाखसम्मका अंगुर लटरम्म फलेकामा यस वर्ष मुस्किलले रू २५ हजारको मात्र विक्री गरे । “जिल्लाका मुख्य बजारका रुपमा रहेका त्रिपुराकोट, दुनै, जुफाल लिकुमा एउटै कृषकको अंगुर बिक्न गाह्रो हुन्छ, अरु ४०÷५० कृषकको अंगुर बिक्ने त कुरै भएन”, उनले भने ।
“बजार अभावमा वर्षेनी लाखौँ मूल्यका अंगुर त्यसै खेर जान थालेको छ, घरमा खाएर, आफन्तलाई बाँडेर पनि सकिदैन, रातदिन मान्छे खटाएर फलाएको अंगुर बोटमै कुहिएको देख्दा मन पीडाले भरिन्छ”, हमालले भने, “नगरपालिकाले अंगुर खपतका लागि कि ढुवानी अनुदान कि त वाइन प्रशोधन मेसिन ल्याई दिएको भए राम्रो आम्दानी हुन्थ्यो कि भन्ने आशा छ, होइन भने प्रत्येक वर्ष सयौँ क्विन्टल अंगुर खेर जान्छ, काटेर फाल्नुबाहेक अरु कुनै विकल्प छैन् ।” त्रिपुराकोट, गल्ली, रल्ली, रंग र खदाङमा गरेर ४०÷५० कृषकले पनि व्यवसायिक रूपले अंगुरखेती गरेका छन् ।
साढे दुई करोडमा अंगुरखेती
त्रिपुरासुन्दरी नगरपालिकाले व्यावसायिक अङ्गुरखेतीका लागि पटकपटक गरेर रु दुई करोड ४० लाख खर्च गर्नाका साथै व्यवसायिक खेती गर्न इच्छुक कृषकलाई निःशुल्क विरुवा वितरणदेखि एङ्गल र जाली खरिदका लागि सो रकम खर्चेको थियो ।
स्व. मेयर बुढाको सम्झना
कृषकलाई आत्मनिर्भर बनाई नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन स्व. मेयर ओमबहादुर बुढाले भारतको नासिक पुगेर अंगुरका बिरुवा खरिद गरेर कृषकलाई वितरण गरेका थिए । अंगुरका लागि उर्वर माटो भएकै कारण व्यवसायिक यसमा उनले जोड दिए । मेयर बुढा कृषि भन्नेबित्तिकै हुरुक्कै हुने र कृषि व्यवसाय गरेर खान्छु भन्नेलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने गरेकाले अहिले पनि कृषकले सम्झिने गरेका छन् ।
नासिकमा जस्तै अंगुर फलाएर कृषकलाई आत्मनिर्भर बनाउन खोज्ने उहाँ जस्तै नेतृत्व नगरले बिरलै मात्र पाउने भन्दै त्रिपुराकोटका एक कृषकले प्रत्येक वर्ष उत्पादित अंगुर खपतका लागि नगर क्षेत्रमै प्रशोधन केन्द्र खोल्ने मेयर बुढाको सपना भएकाले उनी जीवित भएको भए बजारीकरणको समस्या भोग्नु नपर्ने गुनासो गरे । यस वर्ष अंगु फार्म घेरबारका लागि बजेट छुट्याइए पनि सबै रकम कोरोना नियन्त्रणमा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले बताए । अंगुर कृषकलाई मध्यनजर राख्दै अर्को वर्षदेखि घेराबार, ढुवानी अनुदान लगायत बजारीकरणका लागि विशेष कार्यक्रम ल्याइने उनको भनाइ थियो । रासस