
मंगलवार , श्रावण ६, २०७७
बुटवल, ३ असार
कोभिड–१९ को महामारीले सबै भन्दा बढी पर्यटन क्षेत्रलाई समस्यामा पारेकोले पर्यटन व्यवसायलाई लकडाउन अवधीका लागि सरकारले दिन मिल्ने शुल्कहरुमा छुट गरी दिन व्यवसायीहरुले माग गरेका छन ।
उनीहरुले पर्यटन व्यवसायीले सरकारलाई तिर्ने वार्षिक व्यवसाय कर, विद्युत महशुल शुल्क, घरवहाल कर, आय कर लगायतका विषयमा छुट गरिदिन सरकारसंग माग गरेका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले बुधवार वि.सं. २०७७ सालको भित्तेपात्रो विमोचन समारोहमा वोल्ने व्यवसायीहरुले तीनै तहका सरकार पर्यटन व्यवसायीले भोग्नु परेको समस्याका सवालमा गम्भिर हुन नसकेको गुनासो गरेका छन ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले कोभिड–१९ ले व्यवसायीलाई पारेको विकराल समस्याका सवालमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिए । उनले लकडाउनले कुनकुन क्षेत्र र व्यवसायमा के कति समस्या पारेको छ भन्नेबारेमा सरकारले विशेषज्ञ टोली गठन गरी छानबीन गरी सोही अनुसार राहत प्रदान गर्न जरुरी रहेको औल्याए ।
संघका अध्यक्ष समुन्द्र जिसीले लकडाउनको समयमा घर भाडा माग्ने, भाडा नदिएको नाममा घर खाली गराउन खोज्नहरुको तथ्यांक संकलन गरिरहेको बताउँदै सहज वातावरण तयार नहुँदासम्म त्यसप्रकारका हर्कत नगर्न घरधनीहरुलाई आग्रह गरे ।
गुराँस डिष्ट्रिलरी प्रा.लि.का सञ्चालक उज्जवल श्रेष्ठ, मार्केटिङ म्यानेजर गोपाल राजभण्डारी, महासंघका सल्लाहकार देवी कुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधव कुमार खनाल लगायतले व्यवसायीले भोग्नु परेको समस्यामा सरोकारवाला निकाय गम्भिर हुनुपर्ने माग राखेका थिए । संघको भित्तेपात्रो प्रकाशन गर्न गुरास डिष्ट्रिलरी प्रा.लि.ले आर्थिक सहयोग गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij