२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कञ्चनका गाउँब्लक जग्गालाई लालपूर्जा वितरण

आइतवार , आश्विन २४, २०७८

सैनामैना, २४ असोज ।
नापी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न गाउँमा रहेका गाउँब्लक जग्गाको नापी कार्यसम्पन्न गरी लालपूर्जा वितरण गरेको छ । सो अन्र्तरगत शनिबार कञ्चन गाउँपालिका वडा नम्बर ४ र ५ मा १८७ घरधुरीलाई जग्गाधनीको प्रमाणपत्र वितरण गरिएको हो । गत आर्थिक वर्षमा नापी कार्यालय रुपन्देहीले जग्गाको नापजाँच सुरु गरेको थियो । नापी कार्यालयले करिब ६ विगाह गाउँब्लक जग्गाको नापी गरेको थियो ।

लामो समयसम्म जग्गाधनी प्रमाणपूर्जा नपाएका स्थानीयहरु पूर्जा पाएसंगै खुसी भएका छन् । कञ्चन गाउँपालिका वडा नम्बर ४ की इश्वरा खत्री जग्गाधनी प्रमाण पाएपछि निकै नै खुुुसी भइन् । ‘लामो समयसम्म गाउँब्लक जग्गामा बस्दा प्रमाण पाइन्छ पाइँदैन भन्ने कुनै निश्चित थिएन बल्ल आएर आज पुर्जा पाइयो, ’उनले भनिन् । नापी विभागका निर्देशक दामोदर ढकालले यो पटक जिल्लाभर यस वर्ष १ हजार २४ जना घरधुरीलाई लालपुर्जा वितरण गरिने जानकारी दिए ।

वितरण कार्यक्रममा बोल्दै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सबैको अथक प्रयासबाट गाउँब्लक जग्गालाई जग्गाधनी प्रमाणपत्र दिन सफल भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका शाहले गाउँब्लक जग्गासंगै सुकुम्बासीहरुलाई जग्गाधनी बनाउन वर्तमान सरकार लागिपरेको बताउँदै भ्रममा नपर्न सवै नागरिकलाई विश्वस्त पारे । शाहले भने, ‘कुरा गरेर केही हुनेवाला छैन, जनताको मन जित्न काम देखाउनुपर्छ, आरोप प्रत्यारोप लगाएर जनतालाई भ्रममा पार्ने होइन सबैको एक्वबद्धताबाट मात्र देशले विकासको काँचुली फेर्छ, ’उनले भने । 

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले एमाले नेतृत्वको सरकारले बनाएको सुकुम्बासी समस्या समाधान आयोग वर्तमान सरकारले खारेज गरेर जनतालाई धोका दिएको आरोप लगाए । उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका जनमुखी बजेट तथा विकास आयोजना अहिलेको सरकारले कटौती गरेको बताए ।

कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सुकुम्बासी समस्या समाधानका लागी कसरत गरिएकोे बताए । सरकार फेरबदल हुँदा केही विलम्ब भएको बताउँदै यो सरकारले यो समस्या समाधान कुरामा आफु विश्वस्त रहेको कुरा उल्लेख गरे ।