
मंगलवार , आश्विन २६, २०७८
भैरहवा, २६ असोज ।
नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको चौथो पीठ स्थापना हुने भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ हाल दुर्गा मन्दिर रहेको ठुलो बालापुरमा जगतपुरुको पीठ स्थापना हुने भएको हो । पीठ स्थापना भएपछि नेपालका विभिन्न धार्मिक स्थलहरुको दर्शन गर्न आउने भारतीय भक्तजनहरुलाई समेत सहयोग पुग्ने स्थानीयले बताएका छन् । वैदिक सनातन धर्म रक्षाको निम्ति जगदगुरुको चाहना अनुसार नेपालको चारकुना उत्तर, दक्षिण, पुर्व र पश्चिममा ४ पीठ स्थापना हुनेछन् । जसमध्ये पुर्वमा जगदगुरुको मुल गद्दी रहेको चताराधाम पीठ स्थापना भइसकेको छ । पश्चिममा महाकाली शारदा पीठ भाक्केनी धाम, उत्तरमा मुक्तिक्षेत्र शालाग्राम शर्बेश्वर पीठ पुरा हुने अवस्थामा छन् ।
दक्षिणमा ओमसतियामा चौथो पिठ स्थापना हुने जगदगुरुको सचिवालयले जनाएको छ । यी पीठहरुको माध्यमबाट सनातन धर्मको रक्षाका लागि विभिन्न अभियान सञ्चालन हुने छन् । नेपालमा पहिलोपटक भारतीय गुरुहरुको समेत सहभागितामा कुम्भ मेला आयोजना गर्नु भएको जगदगुरुले भैरहवामा स्थापना गर्न लागेको पीठले पश्चिम नेपाल र लुम्बिनी प्रदेशलाई धार्मिकरुपमा स्वर्गतुल्य बनाउने स्थानीय समाजसेवी विष्णु बहादुर रायमाझीले बताए ।
विलक्षण स्वभावका तपस्वी, यशस्वी जगदगुरुको भैरहवा स्थापना हुन लागेको पीठलाई स्थानीय रुपमा समेत सहयोग गरिने समाजसेवी रायमाझीले जानकारी दिए । पीठको अभियान यहि माघ १ गतेदेखि सुरु हुने स्थानीयले जानकारी दिएका छन् ।
पीठ स्थापनाका लागि सुरुमा जगदगुरुको उपस्थितिमा महायज्ञ गरिने स्थानीय लक्ष्मण पन्थीले बताए । उनले माघदेखि फागुनसम्म पीठ निर्माणका लागि विभिन्न धार्मिक कार्यहरु गरिने जानकारी दिए । फागुनपछि जगदगुरुको चाहना र योजना पीठको नामाकरण र डिजाइन तयार गरिने पन्थीले बताए । सदचारी, सहिष्णु, उदार र परोपकारी भावनाका जगदगुरुको अभियानमा भैरहवावासीको समेत योगदान हुने भन्दै रुपन्देहीमा अहिले खुसीयाली छाएको छ ।
यसक्षेत्रले अभिभावक पाएको भन्दै छिटो जगदगुरुको पीठ स्थापना हुनुपर्ने चाहना यहाँका उद्योगी, व्यापारी, समाजसेवी, राजनीतिज्ञहरुको रहेको छ । धार्मिक खोज र अनुसन्धानबाट नेपाललाई धार्मिक रुपमा सम्पन्न गराउने अभियानका लाग्नु भएका जगदगुरुले नेपालमा बराहक्षेत्र भित्र पर्ने चतारधाममा प्राचीन हरिद्धार रहेको पुष्टी गर्नुका साथै पिण्डेश्वर कुम्भमेलाको सञ्चालन, देशका चार कुनामा जगदगुरु चार पीठ स्थापना अभियान र जगदगुरुकुलम सञ्चालन गरेको स्थानीय कल्पना रायमाझीले जानकारी दिइन । नेपाल आमाको अष्टधानुको ७५ फिट अग्लो मूर्ति निर्माण, मेची–महाकाली पैदल यात्रा र शंखमूलमा सबैभन्दा ठुलो शंख निर्माण जगदगुरुको अभियानमा भएका धार्मिक कार्यहरु हुन । यो अभियान अझ फराकिलो भएर अगाडी बढ्ने जगदगुरुको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij