
शुक्रवार , कार्तिक ५, २०७८
सैनामैना, ५ कात्तिक ।
लुम्बिनी प्रदेशका सासद भुमिश्वर ढकालले लगानी र नाफाको ग्यारेण्टी हुने अर्थनीति सरकारले ल्याउनुपर्ने बताएका छन् । शुक्रबार नयाँ गोरेटो बहुउदेश्य सहकारी संस्थाको २१ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रभावकारी अर्थनीति नहुँदा समाजवादको बाटोमा हिड्न नसकिने सांसद ढकालले ठोकुवा गरे ।
नेकपा एमाले लुम्बिनी प्रदेशस संसदीय दल प्रमुख सचेतक समेत रहेका ढकालले सरकारले अघि सारेको तीन खम्बे अर्थनीतिलाई सही ढंगले अबलम्बन गर्न सके मात्र समाजवादको अनुभुति आम नागरिकले गर्न पाउने उल्लेख गरे । उनले राष्ट्रिय पुंजीलाई प्रवर्धन गर्ने, परम्परागत खेतीलाई आधुनिकरण गर्नेतर्फ केन्द्रीत भए मात्र देश समृद्धिको दिशातर्फ उन्मुख हुने बताउँदै विषयगत सहकारीलाई एकीकरण गरी बहुउदेश्यीय सहकारी हुनुपर्नेमा जोड दिए । अहिलेको सहकारी बैंकसंग प्रतिष्पर्धा गर्ने खालको हुनुपर्ने सांसद ढकालको भनाइ छ ।
कार्यक्रममा सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले सहकारीलाई राष्ट्रिय उत्पादनमा उल्लेखनीय सहभागिता गराउने खालको ऐन कानुन बनाउनुपर्ने बताए । सहकारी उद्यमशिलतामा आधारित हुनुपर्ने बताउदै मेयर कार्कीले कालोबजारी, एकाधिकारलाई अन्त्य गरि उत्पादनमुलक र सेवामुलकमा सहकारी बढी केन्द्रित भएर जानुपर्ने बताए ।
सोही प्रसंगमा नगरप्रमुख चित्र बहादुर कार्कीले अबिरल वर्षाका कारण धानमा पुर्याएको क्षतिको विवरण लिने काम भइरहेको बताए । सैनामैना १ देखि ११ वडामा पुगेरै वास्तविक पीडित किसानहरुको पहिचान गरी तथ्यांक दिने काम भएको बताउँदै प्रदेश र संघीय सरकारबाट पनि आवश्यक सहयोग हुन आएमा किसानहरुलाई धानको विउ र मालपोत मिनाहा गर्ने कुरामा नगरपालिका दत्तचित्त भएर सहयोग गर्ने बताए ।
कार्यक्रममा जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा जेष्ठ नागरिक शालिकराम घिमिरे, विष्णु प्रसाद काफ्ले, धनराज प्रसाद चौधरी, दधिराम पुरी र राम बहादुर ज्ञवाली रहेका छन् ।
सैनामैना रामापुर कलौनीस्थित वाईट हाउस पार्टी प्यालेसमा भएको कार्यक्रम नयाँ गोरेटो बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद चापागाईको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष कुल प्रसाद चापागाईको वार्षिक प्रतिवदेन, कोषाध्यक्ष खेमलाल ढकाल, लेखा सुपरीवेक्षण समिति संयोजक मुक्तलाल गिरीद्वारा लेखा तथा आर्थिक प्रतिवेदन पेश भएका थिए । संस्थाका उपाध्यक्ष ऋषिराम पाण्डेको स्वागत तथा सचिव धन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij