२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोरोनाको कहर : प्राविधिक र उपकरण नआउँदा बिमानस्थल निर्माण प्रभावित

मंगलवार , श्रावण ६, २०७७

भैरहवा ।
चीनमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको काम प्रभावित बनेको छ । नेपालका अन्य राष्ट्रिय गौरवका आयोजना जस्तै बिमानस्थल निर्माणमा पनि कोरानाको असर देखिएको छ ।

अग्रेजी नयाँ बर्ष मनाउन चीन पुगेका दक्ष जनशक्ति भाईरसका कारण नेपाल फर्कन नपाएपछि विमानस्थल निर्माणको काम प्रभावित बनेको आयोजनाले जनाएको छ । बिमानस्थल निर्माणको काम चिनिया कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेसंगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन नसकेको आयोजना प्रमुख ई. प्रबेश अधिकारीले बताए ।

जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम प्रभावित भएको आयोजना प्रमुख अधिकारीले बताए । कोरोनाको संक्रमणका कारण चीनबाट ल्याईने उपकरणहरु टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट जडान गर्न र धावन मार्गका लागि आबश्यक लाईट लगाएतका उपकरणहरु ल्याउन सकिएको छैन । जसका कारण आयोजनाको काम प्रभावित भएको हो ।

भाइरसका कारण २० जना चिनीया दक्ष जनशक्ति नेपाल आउन सकेका छैनन् आयोजना प्रमुख अधिकारीले भने– जसका कारण निर्माण कार्यको अन्तीम समयमा रहेको बिमानस्थलको आयोजना प्रभावित बन्न पुग्यो ।’ टर्मिनल बिल्डिङ र रनवेमा जडान गर्नुपर्ने चार–पाँच कन्टेनर उपकरण अहिले सम्मै चीनमै रोकिएको आयोजनाको भनाई छ ।

कोरोना भाइरसको संक्रमणको अवस्था हेर्दा विमानस्थल निर्माणको काम चौथो पटक थपिएको म्यादभित्र पनि पूरा हुन नसक्ने देखिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चौथो पटक सन् २०२० को मार्च ३० सम्मका लागि म्याद थपेको थियो । ‘कोरोना भाइरसको असरले अप्ठेरो अवस्था आयो’–विमानस्थलका आयोजना प्रमुख अधिकारीले भने–‘अब विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कुरा कोरोना भाइरसको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने भो ।’

आयोजना प्रमुख अधिकारीका अनुसार ४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा अहिले २० जनाले मात्र काम गरिरहेका छन् । विमानस्थलको १० प्रतिशत कामको प्रगति प्राविधक र उपकरण नआउंदा प्रभावित भएको आयोजना प्रमुख अधिकारीले बताए । मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथो पटक थपिएको म्यादमा पनि अन्तराष्ट्रिय उडानका लागि विमानस्थल तयार नहुने अधिकारीले खुलस्त पारे । २०१८ सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण शुरु भएको थियो । बिभिन्न कारण देखाउदै आयोजनाको समयाबधी थपिएको थपै छ ।

कोरोना भाइरस संक्रमणका कारण चालू आर्थिक वर्ष भित्र सञ्चालनमा आउने भनीएको बिमानस्थल तोकिएको समयाबधि भित्र सञ्चालनमा आउने सम्भावना न्यून रहेको जानकारहरु बताउँछन् । आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ ।

८६ प्रतिशत काम सम्पन्न
निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा अहिले फिनिसिङको काम भईरहेको छ । विमानस्थलको ८६ प्रतिशत भौतिक निर्माणमा प्रगति भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको पहिलो चरण अर्थात् आइसिबी–१ कोे अधिकांश काम सकिएपनि रन वे मा बत्ती जडान, ब्यागेज ह्याण्डलिङ सिस्टम लगायत केही अत्यावश्यक काम प्रभावित भएको छ ।

आयोजना प्रमुख अधिकारीका अनुसार सञ्चार उपकरण जडानको तयारी छ भने फिनिसिङको काम बढीमा ५ प्रतिशत मात्र बाँकी छ । बिमानस्थलमा ८÷१० प्रकारका उपकरणहरु जडान गर्नु पर्ने छ, त्यसमध्ये अधिकांश उपकरण आईसकेका छन् आयोजना प्रमुख अधिकारीले भने आउनु पर्ने केहि महत्पुर्ण उपकरण र दक्ष जनशक्ति आउन नपाउदा आयोजनाको काम प्रभावित बनेको छ । उपकरण जडान नगरी फिनिसिङको काम पनि प्रभावित बनेको उनको भनाई छ । अहिले टर्मिनल बिल्डिङमा उपकरण जडानको काम प्रभावित बनेको छ । एसि जडानका लागि एक्पोर्ट १०÷१२ जना कामदार नआएका कारण एसि जडान रोकिएको छ ।

दोस्रो चरण आइसिबी–२ अन्तर्गतका कम्युनिकेसन, नेभिगेसन र सर्भिलेन्सको काम मध्ये भिओआररडिएमई सञ्चार उपकरण, मौसम पूर्वानुमान उपकरण पनि ९५ प्रतिशतन्दा बढी आइसकेका र जडानको तयारी भइरहेको छ । बाँकी पाँच प्रतिशत उपकरण थाइल्याण्डबाट आउने अधिकारीले बताए ।

३१ डिसेम्बर २०१४ काम शुरु भएको यो आयोजनाको पहिलो चरणको काम (आइसिबी–१) ६ अर्ब ८२ करोड लागतको हो । विमानस्थल आयोजनामा एडिबीको ४० दशमलव पाँच प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्ट्सको ३० दशमलव पाँच प्रतिशत ऋण र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ । त्यस्तै, आइसिबी–२ अन्तरगत विमानस्थलमा जडान हुने उपकरणहरूका लागि पनि करिब ५० करोड लगानी छ ।