
आइतवार , आश्विन १८, २०७७
भैरहवा, १८ असोज ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आइतबार विभिन्न क्लबहरुसंग छलफल गरेको छ । सिद्धार्थनगरको सुन्दरता हरियाली र छाडा चौपाय व्यवस्थापनका बारेमा छलफल गरेको हो । लायन्स तथा रोक्ट्याक्ट क्लबका पदाधिकारीहरुबीच छलफल भएको हो ।
छलफलमा सहभागीहरुले वृक्षारोपण गरेर मात्र नहुने संरक्षण पनि गर्नुपर्ने कुरामा जोड दिएका थिए । लुम्बिनी रोडमा सडक निर्माण पुरा गरेर मात्र वृक्षारोपण गर्नुपर्नेमा पनि सहभागीले जोड दिएका छन । खाली जग्गा नगरपालिकाले दिने र क्लबले वृक्षारोपण गर्ने पनि उनीहरुले बताएका छन ।
सहभागिहरुले फोहोरमैला व्यवस्थापन र छाडा चौपायका बारेमा विभिन्न विकल्पहरु प्रस्तुत गरेका थिए ।
सबै क्लब मिलेर संयुक्त रुपमा काम गरेर एक पटक हेर्नुपर्नेमा नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए । उनले पटक पटक छाडा चौपायको व्यवस्थापनमा आफुले गरेका पहल सफल नभएकाले सबै मिलेर निकास निकाल्न पनि आग्रह गरे ।
नगरप्रमुख अधिकारीले कावोसोती, त्रिवेणीदेखि शंकरनगर, बाउन्नकोटी र चन्द्रौटासम्म सबै ठाउँमा आफै पुगेर चौपायको व्यवस्थापनमा लागेको तर कुनै ठाउँमा पनि राख्न नपाए पछि छलफल चलाएको स्पष्ट पारे ।
कार्यक्रममा लायन्स क्लबका गौतम गुप्ताले नगरपालिका भित्र कान्जीहास बनाएर सञ्चालन गरे व्यक्तिगत रुपमा ५१ हजार सहयोग दिने पनि घोषणा गरे । नगरपालिकाको आफ्नै जग्गा पट्खौलीमा कान्जीहाउस सन्चालन गर्न पनि उनले सल्लाह दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij