images

शुक्रवार, चैत्र १६ गते २०८०

कोरोनाकालमै थपिए पर्यटकीय पूर्वाधार

कोरोनाकालमै थपिए पर्यटकीय पूर्वाधार

images
images
images
शुक्रवार, मंसिर १० २०७८
शुक्रवार, मंसिर १० २०७८
  • कोरोनाकालमै थपिए पर्यटकीय पूर्वाधार

    म्याग्दी,  १० मङ्सिर। पछिल्ला दुई वर्ष कोरोना महामारीले पर्यटकीय गतिविधि ठप्प भए पनि यहाँका पर्यटकीय  स्थलमा ठूलो लगानीमा होटल थपिएका छन।

    यहाँका व्यवसायीको पर्यटन पूर्वाधारमा लगानी बढेको छ। कोरोनाको फुर्सदको समयलाई पर्यटन व्यवसायीले होटलको क्षमता विस्तार र व्यवस्थापनमा उपभोग गरेका हुन। बेनी नगरपालिका–४ स्थित सिङ्गा तातोपानीमा बेनीका व्यवसायी प्रमोद श्रेष्ठले रु १५ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रिङ’ होटल सञ्चालनमा ल्याएका छन। 

    तातोपानीको पोखरीमा डुबुल्की मारेर गरिने प्राकृतिक उपचार गराउन आउने बिरामीलाई लक्ष्य गरी होटल सञ्चालन गरेको श्रेष्ठले बताए। “छवटा स्वीटसमेत ३८ गेष्टरुम रहेको होटल गत हप्तादेखि सञ्चालन भएको छ”, उनले भने, “सभाहलसहितको होटलमा तीनतारेसरहको सुविधा छ।”

    संसारको सर्वाधिक गहिरो गल्छीमा पर्ने अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अर्का व्यवसायी राजु हमालले रु २० करोड लगानीमा ‘होटल नेचुरल स्प्रिङ’ निर्माण गरिरहेका छन। पच्चीस डिलक्स, आठ स्वीटरुमसमेत ५७ गेष्टरुम रहने साततले होटलको स्ट्रक्चरको काम सकेर, रङरोगन, टायल राख्ने र सजावटको काम भइरहेको होटलले जनाएको छ। अन्नपूर्ण तथा निलगिरी बेसक्याम्प तथा हिमालपारिको मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी ठूला र सविधायुक्त होटल खोलेको सञ्चालक श्रेष्ठले बताए। 

    “कोरोना महामारीले होटल निर्माणमा ढिलाइ भएको हो, कहिले मजदुर पाइएन, कहिले मनसुनले सडक बिग्रेकाले पनि सहज ढुवानीमा समस्या आएको छ, अर्को दसैँसम्म होटल सञ्चालन गर्ने गरी काम भइरहेको छ”, होटल सञ्चालक हमालले भने, “कोरोनाकालमा होटल सुरु गरियो, परिस्थिति असहज हुँदा मूल्य वृद्धिले लागत बढेको छ।”

    त्यस्तै दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाम आउने स्वदेशी तथा भारतीय धार्मिक पर्यटकलाई लक्ष्य गरी बेनी नगरपालिका–९ मा पर्ने गलेश्वरमा करिब रु पाँच करोड लगानीमा होटल मदरल्याण्ड इन निर्माण भइरहेको छ। स्थानीय होटल व्यवसायी टङ्कलाल श्रेष्ठले भारतीय धार्मिक पर्यटकलाई लक्ष्य गरी ठूलो र सुविधायुक्त होटल निर्माण गर्न लागेको बताए। आगामी माघसम्म होटल सञ्चालनमा ल्याउने गरी काम भइरहेको सञ्चालक श्रेष्ठले जानकारी दिए।
     
    “मेरो सानो होटल व्यवसायको अनुभव र सम्बन्धको जगमा ठूलो र सुविधायुक्त होटल निर्माण गरेको हो, गलेश्वर र मुक्तिनाथ जाने धेरै भारतीय पर्यटकले गलेश्वरमा राम्रो होटल नपाएको गुनासो गरेपछि कोरोना कहरमा पनि होटल थप्ने आँट गरेको छु”, श्रेष्ठले भने, “कोरोनाले घरमै थुनिएका, मानसिक तनावमा रहेकाहरु खोप लगाएपछि अब भ्रमणमा निस्कन थालेका छन।”

    त्यस्तै प्रसिद्ध पर्यटकीय गन्तव्य घोरेपानी÷पुनहिलको व्यवसाय कोरोना त्रासले ठप्प छ। कोरोना माहामारी फैलिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ। जङ्गलको बीचमा अवस्थित पुनहिलमा होटलबाहेक अन्य व्यवसाय नभएकाले यहाँका व्यवसायी फुर्सदमा छन। यतिबेला पुनहिलका पर्यटन व्यवसायीले आफ्ना होटलका पुराना संरचना भत्काएर नयाँ बनाइरहेका छन। त्यति मात्र होइन, कोरोना त्रासले पर्यटन नआएपछि फुर्सदमा रहेको घोरेपानी÷पुनहिलका पर्यटन व्यवसायीले आफ्नो व्यवसाय मात्र होइन, पाहुनाको बसाइ लम्ब्याउने उपायको खोजीमा पनि लागेका छन।

    व्यवसायीले पर्यटकको पदमार्ग सुधार गर्ने, भ्यू प्वाइन्टमा आराम कुर्सी राख्ने, घोरेपानी–प्यारीवराहसम्म साइकल तथा पोनी ट्रेक रुट निर्माण गर्नेसमेतका पूर्वाधार थप गरेका छन। घोरेपानीमा मगर सङ्ग्रहालय निर्माण गरिएको छ। पुनहिलसम्म पुग्ने बाटोमा ढुङ्गा बिच्छ्याउने, भ्यू प्वाइन्ट, उकालो बाटो र पुनहिलका भ्यू प्वाइन्टमा आराम बेञ्च, कफी हाउसजस्ता पूर्वाधार थप गरिएको स्थानीय होटल व्यवसायी सुशील पुनले बताए। – सन्तोष गौतम रासस

    images
    images
    images

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij