२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम

लुम्बिनी सौन्दर्यीकरण तथा सरसफाई कार्यक्रम सुरु

शनिवार , मंसिर १८, २०७८

भैरहवा, १८ मंसिर ।
लुम्बिनी सौन्दर्यीकरण तथा सरसफाई कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रम अन्तर्गत बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरबाट उक्त कार्यक्रम सुरु भएको हो ।

जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)  अन्तर्गत लुम्बिनी होटल संघ नेपाल, नेपाल, लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषको सहकार्यमा सुरु भएको कार्यक्रम मंसिर २६ गतेसम्म चल्नेछ ।

नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त आयोजनामा रोजगार कार्यक्रम सञ्चालन गरिएको नेपाल पर्यटन बोर्डका निर्देशक तथा तथा जीविकोपार्जन पुर्नउत्थानका लागि दिगो पर्यटन परियोजनाका राष्ट्रिय संयोजक मणिराज लामिछानेले बताए । गत वर्ष डिसेम्बर १३ मा सम्झौता भएअनुसार काठमाडौं, पोखरा, लुम्बिनी, चितवनसहित देशैभरी कार्यक्रम सञ्चालन गरिने बताए । उनले विगत २ वर्षदेखि कोभिड–१९ का कारण सबैभन्दा संसारभरी पर्यटन क्षेत्र प्रभावित भएको बताए । लामिछानेले पर्यटन व्यवसायसंगै व्यवसायमा लागेको जनशक्ति जोगाउन पर्यटन बोर्डले विभिन्न संघ–संस्थासंगको सहयोगमा सरकारसंग समन्वय गरिरहेको बताए । ‘अग्रपंक्तिमा रहेर जनशक्ति जसले होटल, रेष्टुरेण्ट लगायत विभिन्न पर्यटकीय गतिविधिमा सेवा दिइरहनुभएको छ, उहाँहरुलाई पनि जोगाउने चुनौती भएकाले युएनडीपीसंग सहकार्य गरेर कम्तीमा केही भए पनि छोटो अवधिको रोजगारी सिर्जना गर्न सक्छौं भनेर यो कार्यक्रम बनाइएको हो, ’उनले भने ।

कार्यक्रम अन्तर्गत मुख्य गरी पर्यटकीय सम्पदा क्षेत्रहरु सरसफाई गर्ने, पर्यटकलाई आकर्षण गर्ने, सौन्दर्यकरण गर्ने, जनशक्तिलाई अगाडी बढाउने रहेको बताए ।

यो कार्यक्रमले एकातर्फ जनशक्तिलाई केही राहत मिल्ने र अर्कोतर्फ पर्यटकीय स्थलको सौन्दर्यकरणमा मद्दत पुग्ने उनको भनाइ छ । लुम्बिनीमा कार्यक्रम सञ्चालन गर्दा लुम्बिनी होटल संघ संग सहकार्य गरेको उनले बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कोभिडको कारणले पर्यटन क्षेत्रमा असर परेको बताए । उनले पर्यटन क्षेत्र मात्र नभई लुम्बिनी विकास कोष थला परेको बताए । ‘यसबाट मुक्त हुन पर्यटन क्षेत्रलाई पुर्नरुउत्थान गर्ने कार्यक्रम हामीले सुरुवात गरेका छौं, पक्कै पनि पर्यटकीय क्षेत्रमा पर्यटक नआउँदा सरसफाईको केही कमी होला, सौन्दर्यकरणमा केही कमी हुन सक्छ, ’उनले भने ।  उनले पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ कार्यक्रम सुरुवात गर्न लागिएको बताए ।

बुद्ध जन्मस्थलबाट सुरुवात र लुम्बिनी विकास कोषले कार्यक्रम सुरुवात गर्न पाउँदा खुसी लागेको उनले बताए । ‘लुम्बिनीलाई नेपालको पर्यटकको महत्वपूर्ण स्थल अझै व्यवस्थित र सौन्दर्याकरण गर्न लागिपरेका छौं, ’उनले भने ।

लुम्बिनी विकास गुरुयोजना दुई देखि अढाई वर्षसम्म सम्पन्न गर्न कार्ययोजनाको साथ अगाडी बढेको उनको भनाइ थियो । ‘बाटोघाटो, ढल निकास लगायत गुरुयोजनाले निर्दिष्ट गरेका कार्यहरु सम्पन्न हुनेछन, ’उनले भने । गुरुयोजना सम्पन्न भएपश्चात लुम्बिनी एकदमै आकर्षक बन्ने उनले बताए ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कोभिड–१९ बाट पर्यटन व्यवसाय धरासायी भएको बेला पनि यस क्षेत्रमा काम गर्ने कर्मचारीलाई कसरी टिकाइराख्न भन्ने कुरामा सहयोेग गरेको बताए । उनले मायादेवी मन्दिर परिसरभित्रबाट सरसफाई कार्यक्रम सुरु गरिएको बताए । नेपाल पर्यटन बोर्डले लुम्बिनी होटल संघलाई जिम्मेवारी दिएर हौसला बढाउन बताए । उनले होटल व्यवसाय बाँच्यो भने योसंग सम्बन्धित अन्य व्यवसाय पनि बाँच्ने बताए ।

लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले अभियानमा ७० जना जनशक्ति खटिएको बताए । उनले पर्साचोक देखि लंकापुरसम्म तथा लुम्बिनी विकास कोष क्षेत्रका विभिन्न स्थानमा सरसफाई गरिने बताए । शुक्रबार मायादेवी मन्दिर, मुण्डन क्षेत्रमा सरसफाई गरिएको र १० दिनसम्म लुम्बिनीका विभिन्न क्षेत्रमा सरसफाई गरिने बताए । कार्यक्रममा ७० जना जनशक्ति सहभागि रहेको उनले जानकारी दिए ।

IMG_7543.JPG

कार्यक्रम संयोजक तथा लुम्बिनी होटल संघ, नेपालका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले सरसफाई कार्यक्रमले लुम्बिनीको सौन्दर्यीकरणमा टेवा पुर्याउने बताए ।

IMG_7616.JPG