२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

राप्रपा एकताबद्ध रुपमा अगाडी बढ्नुको विकल्प छैन : दीपक बोहरा

आइतवार , मंसिर २६, २०७८

भैरहवा, २६ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, संविधानसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले राप्रपा एकताबद्ध रुपमा अगाडी बढ्नुको विकल्प नभएको बताएका छन् । उनले सम्पूर्ण नेता कार्यकतालाई सन्तुलित एवं संयमित भइ एकताबद्ध रुपमा पार्टी संगठनमा लाग्न आह्वान गरेका छन् । 

राप्रपाको एकता महाधिवेशनबाट निर्र्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको आइतबार शुभकामना दिदै नेता बोहराले यस्तो बताएका हुन् । उनले महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वप्रति पार्टीका तमाम सदस्य, शुभचिन्तक, शुभेच्छुहरुका साथै आम जनसमुदायले समेत आशा एवं भरोसा गरेको बताए । महाधिवेशनबाट आएको निर्वाचन परिणामका साथै निर्वाचनको समयमा पक्ष विपक्षमा बाँडिनुलाई प्रजातान्त्रिक अभ्यासको रुपमा स्वीकार्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘अब हामीलाई विभाजित हुने छुट छैन, यथार्थलाई बुझौं ।’

कोभिड–१९ बाट ग्रसित भएको एक वर्षपश्चात पोष्ट कोभिड भइ स्वरमा केही समस्या भएकाले थप उपचारको लागि यही मंसिर २८ गते न्यू योर्क अमेरिका जाने लागेको उनले जानकारी दिए । ‘पार्टीका साथीहरुका साथै शुभचिन्तक र शुभेच्छुकहरुको शुभेच्छाले म छिट्टै स्वस्थ्य भइ फर्कनेमा विश्वस्त छु, ’उनले भने । 

स्वास्थ्य उपचारबाट फर्केपछि पूर्ण रुपमा पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढाउँदै राप्रपालाई मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गर्न सक्दो योगदान गर्ने नेता बोहराले प्रतिबद्धता व्यक्त गरेका छन् ।