२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सिद्धार्थनगर नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास

सोमवार , मंसिर २७, २०७८

भैरहवा, २७ मंसिर ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ ।  

प्रशासनिक भवन निर्माण कार्य २०८० साल असोज १७ गते सम्पन्न हुने नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले बताए । स्काई/रामसागर जे.भी. अनामनगर, काठमाडौंले निर्माण कार्यको ठेक्का पाएको उक्त भवनको १८ करोड ३७ लाख ४९ हजार ५ सय ३७ रुपैयाँमा सम्झौता भएको बताए । भवन निर्माण कार्यको सम्झौता २०७८ असार २४ गते भएको उनले जानकारी दिए । भवनको जग्गाको क्षेत्रफल २७२२ वर्गमिटर रहेको उनले बताए ।

वरिष्ठ इञ्जिनियर अर्यालका अनुसार भवनको भुईतलामा नक्शा शाखा, जिन्सी, सार्वजनिक शौचालय, दर्ता चलानी, प्रतिक्षालय, नगर प्रहरी, सवारी चालकको लागि कोठा, स्टोर (नक्साको लागि), पहिलो तल्लामा प्रशासन शाखा, लेखा, योजना, शौचालय, पशु शाखा, पुस्तकालय, कृषि, महिला तथा बालबालिका, इलेक्ट्रिकल रुम (प्रत्येक तलामा), दोस्रो तलामा प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख, उपप्रमुख कोठा, शिक्षा, स्वास्थ्य, कानून, न्यायीक समिति रहेनछ । त्यस्तै तेस्रो तलामा खुला टेरेस, सार्वजनिक शौचालय, क्यान्टिन ब्लक, ३ सय जना अट्ने हल, सर्भिस रुम, स्टोर रहनेछ । भवनमा बेसमेन्टदेखि छानासम्म ८ जना अट्ने दुईवटा लिफ्ट समेत रहनेछ । नगरपालिकाका अनुसार भवन बुद्धको झल्को दिने खालको निर्माण हुनेछ । 

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा निर्माण हुने भवनको सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले शिलान्यास गरेका हुन् । 

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले बनाउन लागेको पर्यटकीय गेटको महत्व विस्तारै बुझिने बताए । उनले एक महिनाभित्र पर्यटकीय गेटको उद्घाटन गरिने जानकारी दिए । उनले पर्यटकीय गेटलाई प्रवेशद्वारको रुपमा नबुझिदिन आग्रह गरे । ‘नगरपालिका धेरै व्यवस्थित हुँदै गएको छ, अझै व्यवस्थित गर्दै जानु छ, सक्ने काम गरेका छौं, ’उनले भने । प्रत्येक व्यक्तिले नगरपालिकाको विकास मेरो पनि दायित्व हो भनेर बुझ्दै अगाडी बढ्नुपर्ने उनको भनाइ थियो । 

नगर उपप्रमुख उमा काफ्लले पाँच वर्षे कार्यकालको अन्तिम चरणमा पुगेको बताइन् । उनले भएका/देखिएका कमीकमजोरीलाई औल्याएर खबरदारी गर्न आवश्यक रहेको बताइन् ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले पूर्वाधार व्यवस्थापन हुन नसके सोचेअनुरुप सेवा प्रवाह गर्न नसकिने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट समन्यवकारी सहयोग हुने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विकास भनेको बाटाघाटा बन्नु मात्र नभएको बताए । उनले नगरपालिकाले जे पायो त्यही काम गर्न नपाउने बताए ।

नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थीले सिद्धार्थनगरमा विकास भइरहेको बताए । उनले सानातिना कुरामा अल्झिनुभन्दा नगरको समग्र विकासका लागि एकआपसमा हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताए ।

उद्योग व्यापार संगठन, रुपन्देहीका उपाध्यक्ष रामचन्द्र रेग्मीले नगरको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भएका कार्यहरुको लागि प्रचारप्रसार आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले गत स्थानीय तहको निर्वाचनमा एमालेले सिद्धार्थनगर नगरपालिकामा दुईतिहाई बहुमतका साथ जितेको बताए । उनले भने, ‘एमालेबाहेक कसैले विकास निर्माणका कार्य गर्नेवाला छैन् ।’ वर्तमान सरकारसंग सत्ता टिकाउनेबाहेक केही स्पष्ट नीति नभएको उनको भनाइ थियो ।

नेपाली कांग्रेस सिद्धार्थनगरका सचिव हरिमाया गुरुङले सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताइन् । उनले जनप्रतिनिधिको कार्यकाल सकिन लागेको बताइन् ।

नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका उपाध्यक्ष ध्रुव लामगादेले भवन तोकिएको समयामा सम्पन्न हुन विश्वास व्यक्त गरे । 
नेकपा (एकीकृत समाजवादी) सिद्धार्थनगरका अध्यक्ष राम बहादुर बस्नेतले गरेका कामहरुको प्रचारप्रसार गर्नुपर्ने बताए ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जैसवालले सबै ठाउँमा विकास सम्मानजनक हुनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगरका अध्यक्ष ई. चन्द्रभक्त श्रेष्ठले प्रशासनिक भवन निर्माण अत्यन्तै महत्वपूर्ण कार्य भएको बताए । सिद्धार्थनगर नगरपालकाका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।