
बुधवार , पौष ७, २०७८
भैरहवा, ७ पुस ।
होटल व्यवसायी महासंघ नेपालको नवौं वार्षिक साधारणसभा भैरहवामा हुने भएको छ । महासंघको पदाधिकारी (सचिवालय) बैठकले आगामी पुस २४ गते साधारणसभा भैरहवामा गर्ने निर्णय गरेको हो । पुस २४ गते साधारणसभा तथा २५ र २६ गते होटल व्यवसायीका लागि ‘हस्पिटालिटी म्यानेमेन्ट’सम्बन्धी तालिम सञ्चालन गरिने महासंघले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष हिरा ध्वज शाहले भैरहवामा हुने नवौं वार्षिक साधारणसभामा ४ सय जना प्रतिनिधिहरुको सहभागिता रहने बताए । उनले महासंघमा ७७ वटै जिल्लाबाट गरी ८० हजार व्यवसायीहरु आबद्ध रहेको जानकारी दिए । त्यस्तै पुस २५ र २६ गते लुम्बिनी प्रदेश सरकारको सहकार्यमा हुने ‘हस्पिटालिटी म्यानेमेन्ट’सम्बन्धी तालिममा ८०/९० जना व्यवसायीको सहभागिता रहने शाहले बताए ।
कोभिड–१९ का कारण थला परेको पर्यटन व्यवसायलाई केही भए पनि मद्दत पुगोस् भनेर आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा साधारणसभा गर्न लागिएको उनको भनाइ छ । ‘लुम्बिनी प्रदेशको मुख्य आर्थिक केन्द्र भैरहवा हो, होटल व्यवसाय संकटमा छ, पर्यटन क्षेत्रमा चहलपहल बढाउन र आर्थिक चलायमानका लागि भैरहवा रोजेका हौं, ’उनले भने ।
साधारणसभा सम्पन्न गर्न अध्यक्ष शाहको अध्यक्षतामा विभिन्न ८ वटा उपसमिति गठन गरिएको महासंघका निवर्तमान अध्यक्ष अमृत भुजेलले बताए ।
होटल व्यवसायी महासंघ, नेपालको पहिलो वार्षिक साधारणसभा २०६९ सालमा बाँकेको नेपालगंजमा सम्पन्न भएको थियो ।
होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य एवं होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साधारणसभाको सह-आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij