images

शुक्रवार, बैशाख २१ गते २०८१

काम सिक्दै, अघि बढ्दै नगर उपप्रमुखहरु

काम सिक्दै, अघि बढ्दै नगर उपप्रमुखहरु

सुरुवाती चरण चुनौतिपूर्ण रहे पनि सिकाईपछि काममा केही सहजता

images
images
images
बुधवार, पौष ७ २०७८
बुधवार, पौष ७ २०७८
  • काम सिक्दै, अघि बढ्दै नगर उपप्रमुखहरु

    बुटवल, ७ पुस । 
    वि.सं. २०७४ मा देशभरका ७५३ स्थानीय तहमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकाहरूमा ३५ हजार जनप्रतिनिधि चुनिए । त्यसमध्ये ४० प्रतिशत अर्थात् १४ हजार भन्दा बढी महिला प्रतिनिधिको रुपमा चुनिएका थिए । खास गरी नगरपालिका तथा गाउँपालिकाका उपप्रमुख पदमा अधिकांश महिला चुनिएका छन् ।

    images
    images
    images

    वि.सं. २०७२ सालमा जारी भएको संविधानले तोकेअनुसार यति बेला राज्यका हरेक तह र तप्कामा महिला सहभागिता बढेको छ । संविधानले स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेपछि अधिकांश स्थानीय तहको उपप्रमुखमा महिला छन् । लुम्बिनी प्रदेशमा पनि धेरैजसो स्थानमा उपप्रमुख पदमा महिला नै छन् । एक पालिकामा प्रमुख र अन्य धेरैजसो पालिकामा उपप्रमुख पदमा महिला रहेका छन् । उनीहरुले सामान्य राजनीतिक जीवनदेखि जनताको प्रतिनिधिको रुपमा सेवा गरे । जनप्रतिनिधिहरुले ४ वर्षको अनुभव संगालेका छन् ।

    महिलाको तुलनामा पुरुषहरु जिम्मेवार पदमा बसेको हुनाले महिलाहरुले बेलाबेलामा समस्या भोग्नुपरेको बताएका छन् । रुपन्देहीका नगरका उपप्रमुखहरु नेतृत्वमा पुग्दासाथ काम गर्न केही ग्राहो भए पनि विस्तारै कामहरु गर्न सफल भएको बताउँछन् ।

    रुपन्देहीको एक मात्रै उपमहानगर बुटवल उपमहानगरपालिकाकी उपप्रमुख हुन गुमादेवी आचार्य । पार्टीका विभिन्न पदमा रहेर काम गरे पनि उपप्रमुख पद उनको लागि नयाँ नै थियो । यो पदमा बसेर के के कामहरु गर्नुपर्ने हो त्यसको बारेमा उनलाई खासै थाहा थिएन । निर्वाचनमा स्थानीय पालिकामा प्रमुख र उपप्रमुख पदमध्ये एकमा महिला अनिवार्य भएका कारण धेरैजसो महिलाका लागि यो नौलो थियो ।

    सुरुवाती चरणमा काम गर्नुपरेको र अधिकारहरु बाँझिएका कारण समस्या भएको उनी बताउँछिन् । उनी भन्छिन–‘उपप्रमुखको मुख्य जिम्मेवारी न्यायीक समितिको संयोजक नै हो । यसका अलवा अनुगमन लगायतका कार्यहरु हामीले गर्नुपर्ने थियो । अनुगमन त सहजै गर्न सक्दथ्यौँ तर न्यायीक समितिको संयोजक बनेर काम गर्न ग्राहो भएको थियो । कानूनी सल्लाहकार नआउँदासम्म न्याय सम्पादनमा पनि केही असहजता देखा परेका थिए ।’

    सुरुवाती केही महिना काम गर्नको लागि ग्राहो भएको उनको भनाइ छ । विभिन्न तालिमहरु लिँदै कामहरु सिक्दै जाँदा अहिले धेरै कामहरु गर्न सफल भएको उनी बताउँछिन् । उनी भन्छिन्–‘सुरुवाती अवस्थामा ऐन कानुन र कार्यविधि नहँदा काम गर्न समस्या भोग्नुपरेको थियो । यसका साथै पर्याप्त मात्रामा जनशक्तिको अभाव हुँदा स्थानीय नागरिक स्थानीयसँग जोडिएको हँदा सबै काम नगरपालिकाको होइन भनेर नबुझिदिदा समस्या पनि भोगेका थियौं ।’

    उपप्रमुख आचार्यले संघ प्रदेशको काम नगरपालिकाले गर्ने हो भनेर स्थानीयले बुझ्दा निकै समस्या आएको सुनाउँदै अझै पनि यो समस्या हट्न नसक्दा समस्या समाधान हुन नसकेको बताउँछिन् ।

    न्यायीक समितिमा हेर्ने मिल्ने र नमिल्ने काम मुद्दाहरु आउँदा पनि कार्यकालमा चुनौतिहरु खेपेकी आचार्यले पछिल्लो समय बुटवल क्षेत्रमा ई-रिक्सा व्यवस्था निकै चुनौतिको विषय रहेको बताउँछिन् ।

    कोरोनाको कारणले केही समस्या भए पनि धेरैजसो कामहरु सम्पन्न भएको उनको दावी छ । जनता केन्द्रीत विभिन्न सामाजिक कार्यहरु गरिसकेको उपप्रमुख आचार्यको दावी छ ।

    ‘बुटवललाई लैंगिक हिंसा मुक्त नगर बनाउने रणनीति तयार भएको छ । बुटवलले महिलाको लागि विशेष गरी उपप्रमुख उद्यमशिलता कार्यक्रम अन्र्तगत महिलाहरुलाई सिपमूलक तालिम दिलाएको छ । यसले महिलालाई अगाडि बढ्न निकै सघाएको हामीले महसुस गरेका छौँ ।’ उपप्रमुख आचार्य भन्छिन्–उपप्रमुखसंग मातृत्व संरक्षण कार्यक्रम गरी महिला तथा बालबालिकाको ज्यान जाने खतरालाई न्यूनीकरण गरेको, आधारभूत विद्यालयमा बालिकालाई निःशुल्क दिवा खाजाको व्यवस्था गरेको, महिलाहरू घरेलु हिंसामा नपरुन भनेर स्थानिय तवरबाटै न्यायको व्यवस्थालाई चुस्तदुरुस्त बनाएका छौँ ।’

    उपमहानगर सञ्चालनका लागि महत्वपूर्ण ऐन कानुन तथा कार्यविधि बनाएको उपप्रमुख आचार्य सुनाइन् । १५ वर्ष रणनीतिक गुरुयोजना बनाएर उपमहानगरको विकासका लागि अगाडि बढेको उनको भनाइ छ ।

    पहिला ४ हजार करदाताबाट बढाएर अहिले १८ हजार भन्दा बढी पुर्याएको उपप्रमुख आचार्य बताउँछिन् । उपप्रमुख आचार्यले भनिन्–‘शतप्रतिशत राजस्व पनि संकलन गरेका छौं । उपमहानगरको प्रमुख प्रशासकीय भवन निर्माण पनि करिब सकिनै लागेको छ । ट्राफिक व्यवस्थापन गर्नको लागि शहरी विकास ट्रान्सपोर्ट निर्माण गरिसकेका छौं, शिक्षा क्षेत्रमा कार्य सम्पादन यहाँका सामुदायिक स्क्ुललाई नेपालको उत्कृष्ट विद्यालय घोषणा समेत भएको छ, यो पनि हाम्रो उपलब्धी नै हो ।’

    यता जिल्लाकै चर्चामा रहेको तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरीदेवी चौधरी पनि आफ्नो कार्यकाल सकिनै लाग्दा खुसी छिन् । तिलोत्तमा नगरपालिका निर्माण भएसंगै केही फरक गरौ र सवोत्कृष्ट बनौँ भन्ने योजनाअनुसार नै काम गर्दा धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछिन् ।

    कार्यभार सम्हालेको  सुरुवाती समयमा काम गर्दा केही ग्राहो भए पनि खासै समस्या नभएको बताउँछिन् । उपप्रमुख चौधरीले भनिन् –‘काम शुरु गर्दा सबैलाई ग्राहो हुने स्वभाविक नै हो, तर खासै ठुलो चुनौति भने हामीले सहनुपरेन ।’

    तिलोत्तमाको हकमा हरेक कार्यमा जनतालाई साथ लिएर हिडेको हुनाले पनि केही सहज भएको उनको अनुभव छ । जनताको साथले गर्दा नै नमुना नगरपालिका बनाउन सफल भएको उपप्रमुख चौधरी बताउँछिन् ।

    उपप्रमुख पदमा रहँदा न्यायीक समितिको संयोजक भूमिका सहज रुपमा निर्वाह गर्नु रहेको बताउँदै कानूनी ज्ञानको अभावमा काम गर्न निकै नै ग्राहो भएको तर विस्तारै सिक्दै जाँदा सहज अवस्था आएको उनको भनाइ छ ।  

    तिलोत्तमा रुपन्देहीको पहिलो बालमैत्री स्थानीय तह बनेको बताउँदै अन्य यस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्न सफल भएको बताइन् । उनले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेका बताउँदै यसले सेवा प्रवाहमा सहजता आएको बताइन् । पालिकामा भएका कामहरुको बारेमा बताउँदै उनले भनिन्– ‘हामीले धेरै कार्यहरु गरेका छौं । साथै हामीले स्वास्थ्य क्षेत्रमा पनि सुधारका कार्यहरु गरेका छौं । सबै वडामा स्वास्थ्य चौकी निर्माण गरिरहेका छौं । सबैजसोमा निर्माण सकिएका छन् । यस्तै महिलाहरुलाई प्रोत्साहनका कामहरु पनि गरेका छौँ ।’

    बर्थिङ सेन्टरमा प्रसुती गराउनेलाई सरकारले दिने रकमको साथै नगरले थप सहयोग गर्दै आएको बताउँदै उनले १ हजार थप रकम नगर र सरकारले दिने निःशुल्क औषधिको साथमा थप अन्य पौष्टिक कुराहरु पनि निःशुल्क व्यवस्था मिलाएको जानकारी दिइन् ।

    ‘शिक्षामा पनि राम्रो सुधार भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घटिरहेको अवस्थालाई मध्यनजर गर्दै गुणस्तर वृद्धि गर्ने काममा हामी लाग्यौं । शैक्षिक गुणस्तर सुधार गर्दै भौतिक सुधार तथा शिक्षकको आकर्षण बढाउने काम गर्दा अहिले विद्यार्थीको संख्या बढेको छ । नतिजा पनि गुणस्तरीय नै आएको छ ।’ तिलोत्तमामा भएका विकासका कार्यहरुको बारेमा बताउँदै उनले भनिन्–‘साथै अपांगताको रातो र निलो कार्ड भएकालाई सरकारले भत्ता दिने भए पनि पहेलोलाई पनि केही राहत होस् भनेर ५ सयका दरले मासिक भत्ता दिइरहेका छौं । हामी प्लाष्टिक/पोलिथिनमुक्त नगर बनाउन सफल भएका छौं । यस्तै लैंिगकमैत्री नगरको पनि हामी तयारीमा छौं, एकल महिलाको लागि पनि तालिम तथा आयमुलक हुने कार्यहरु गराइरहेका छौँ ।’
    जिल्लाको देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ काम गर्दैगर्दा करिब ४ वर्ष पुरा गरिसक्दा धेरै कामहरु गर्न सफल भएको बताउँछिन् । राजनीतिक रुपमा विभिन्न पदमा बसेर काम गरे पनि उपप्रमुख पद नौलो भएकोले काम कर्तव्य र अधिकारको बारेमा जनकारी नहुँदा काम गर्न ग्राहो भएको उनको भनाइ छ । उनले भनिन्–‘सुरुमा केही डर भए पनि यसलाई मैले अवसरको रुपमा लिएँ, अहिले काम गर्न सहज भएको छ ।’

    उपप्रमुखको मुख्य जिम्मेवारी भनेको न्यायीक समितिको संयोजक बनेर न्यायसंगत कामहरु गर्नुपर्दा निकै ग्राहो भएको उपप्रमुख गुरुङ बताउँछिन् । उनले भनिन, ‘सामाजिक क्षेत्रमा गरेको कामले न्यायीक समितिमा निकै समस्या भएको थियो । विस्तारै तालिम लिँदै जाँदा र कानुनी सल्लाहकारको नियुक्तिले काम गर्न सहज भयो ।’ पालिका स्थापना नै पहिलो भएकोले यो कार्यकालमा मुख्य रुपमा आफै सञ्चालित हुनको लागि आवश्यक पर्ने नियम कानूनहरु बनाएको उपप्रमुख गुरुङले बताइन् ।
    उनले भनिन् –‘यहाँको बिकास निर्माणका कामहरु गर्यौं, हामीले मुख्य रुपमा स्वास्थ्य क्षेत्र धेरै सुधार गरेका छौं, हामीसंग यतिबेला १५ शैयाको अस्पताल निर्माण गरेका छौं, यसका साथै स्वास्थ्य चौकीहरु निर्माण तथा स्वास्थ्य ईकाई केन्द्र पनि निर्माण गरेका छौं।’

    उनले देवदहको विकासका कामहरुको बारेमा सुनाउँदै भनिन् –‘यस्तै कोशेली भवन निर्माण पनि गरेका छौं । जसमा यहाँ उत्पादन भएका सामग्रीहरु बेचबिखनको लागि सहज हुनेछ । यस्तै कृषि उपज केन्द्र निर्माण गरेका छौं । यस्तै कृषिमा उपकरण तथा आर्थिक अनुदान पनि प्रदान गर्दै आएका छौं । महिलाहरुको लागि पनि विभिन्न कामहरु हामीले गरिसकेका छौं, जसमा महिलाहरुलाई उद्यमी बनाएर आयआर्जन गर्न सहयोग पुग्ने काम गरिरहेका छौं ।’

    बिना राना सैनामैना नगरपालिका उपप्रमुख हुन् । उनी पनि राजनीतिक र सामाजिक कामबाट उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनलाई सामाजिक कामबाट कानूनी काम गर्दा निकै ग्राहो भएको बताउँछिन् । उनले न्यायीक समितिको संयोजक बन्दा निकै ग्राहो भएको सुनाउँदै कानूनी सल्लाहकारको सहयोगमा धेरै कामहरु सिकेको सुनाइन् ।

    कामहरु सिक्नु नै उनको लागि महत्वपूर्ण कुरा रहेको बताउँछिन् । पहिलो कार्यकालमा कामहरु पूर्ण रुपमा सिक्न पाए यस पछि पनि सामाजिक जीवन बिताउन सहज हुने उनको भनाइ छ । उनले मन लगाएर सिकेकै कारणले काममा गुनासो नरहेको बताइन् । उनले भनिन्, ‘न्याय सम्पादनमा निकै चुनौति आए पनि सबै व्यवस्थापन गराएर पठाउने गरेका छौं, अहिले कुनै पनि मुद्दा दोहोरिएर आएका छैनन् । कामहरु गर्दा चुनौति भए पनि हामीले सामान गरेर आफुले गरेका बाचाहरु पुरा गर्नुपर्ने जिम्मेवारी थियो, खास गरी चुनावी प्रतिवद्धता भनेको नै महिलाहरुको लागि उद्यमशिलता बनाउने नै रहेको थियो, यस अन्तरगत मैले र नगरपालिकाले काम गरिरहेका छौं ।’

    ‘महिलाको लागि उद्यमशिल बनाउन तालिम दिईरहेका छौं, जसको कारणले गर्दा महिलाहरु आयआर्जन गरी आत्मनिर्भर भएका छन् । यो कामहरु करिब करिब पुरा भइरहेको छ । हामीले सबैलाई तालिम दिन नसके पनि जसलाई तालिम दियौँ सबै स्वरोजगार बन्नुभयो ।’ ‘उपप्रमुख रानाले सैनामैनामा आफ्नो कार्यकालका उपलब्धी सुनाउँलै भनिन् टोल, वडा र नगरमा किशोरी बालबालिका समूह गठन गरेर उनीहरुलाई क्षमतावान बनाउन काम गरिरहेका छौं, यसले आत्मनिर्भर बन्न सहज भएको छ । यसका साथै आर्थिक अभाव भएकालाई अनुदान दिएर आत्मनिर्भर बनाउने कामहरु गरिरहेका छौं ।’

    यता जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका उपप्रमुख जानकीदेवी श्रीवास्तवले आफूले कानून नपढेकोले धेरै समस्या भएको बताउँछिन् । उनी यो पदमा निर्वाचित हुँदै गर्दा यहाँ के गर्नुपर्छ भन्ने केही थाहा नभएको बताउँदै उनले सबैलाई न्याय कसरी गर्ने, कानूनी भाषामा परिभाषित कसरी गर्ने लगायतका निकै चुनौतिपूर्ण रहेको बताइन् । उनले पहिलो वर्ष नगरबाट पाउनुपर्ने अधिकार नपाएको बताउँदै सिक्दै जाँदा अहिले हरेक कार्यमा आफुले सहभागिता जनाउँदै आएको बताइन् । उनले भनिन् –‘मैले पहिलो वर्षमा मेरो अधिकार भित्र पर्ने अनुगमन लगायतका कुराहरुको अधिकार पाइन् । प्रमुखले नै यी कामहरु गर्नुभएको थियो,

    तर पछिका वर्षहरुमा भने मैले अधिकार प्राप्त गरे ।’ उनले लुम्बिनी नगर क्षेत्रभित्र विकास निर्माणका कामहरुका साथै महिलाहरुको लागि पनि कामहरु र योजनाहरु बनाएको बताइन् । उपप्रमुख श्रीवास्तवले भनिन् –‘यहाँको विकासका कामहरु हामीले गरेका छौं । सडक तथा नाला निर्माणको कामहरु गरेका छौं । म आफै पनि महिला भएकोले महिलाको लागि कामहरु पनि गरेकी छु । महिलाहरुलाई सिपमूलक तालिम दिएका थियौं । यसले धेरैलाई स्वरोजगार र आत्मनिर्भर बन्न सहज भएको छ । यसका साथै सुत्केरी स्याहार कार्यक्रम पनि सञ्चालनमा ल्याएका छौं ।’उनले अपांगता भएकालाई स्वरोजगार तालिम लगायतका कार्यक्रमहरु सञ्चालन गरेको बताइन् । उनले अन्य गरिब परिवारलाई राहतको प्रबन्ध मिलाएको बताइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij