
सोमवार , पौष १२, २०७८
सैनामैना, १२ पुस ।
रुपन्देहीको सैनामैनामा रहेको विद्यालयहरु पछिल्लो समय असुरक्षित बन्दै गएका छन् । शिक्षादिक्षा दिने पवित्र मन्दिर नै असुरक्षाको घेरामा परेपछि शिक्षासंग सरोकार राख्ने व्यक्ति एवं अभिभावक चिन्तित बन्न थालेका हुन् ।
शनिबार सैनामैनाको एक सरकारी विद्यालयमा तोडफोड गरी नगद राशी चोरी भएको छ । सैनामैना वडा नम्बर ३ स्थित जनज्योति आधारभूत विद्यालयमा रु.५५ हजार नगद राशी चोरी भएको छ ।
शुक्रबार दिउँसो ४ बजे विद्यालय बन्द गरेपछि आइतबार विहान १० बजे विद्यालयका शिक्षक स्कुल पुग्दा सो घटना भएको पाइएको हो । विद्यालयको प्रशासनिक कार्यालयको एक दराजमा राखिएको पैसा चोरी भएको तथा ल्यापटप समेत फुटाइएको विद्यालयका प्राधानाध्यापक बुद्ध प्रसाद गौतमले जानकारी दिए ।
घटना भए लगत्तै विद्यालयले इलाका प्रहरी कार्यालय रन्यौरा प्रहरीमा निवेदन पेश गरेको छ । घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कानूनी उपचार गर्न प्रहरीलाई आग्रह गरिएको छ ।
घटनाको अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामीछानेले बताए । घटना कसरी घट्यो, कसले घटायो भन्ने अहिलै नै एकिन नभएको र अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने प्रहरी निरीक्षक लामिछानेको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij