
शनिवार , पौष १७, २०७८
सैनामैना, १७ पुस ।
थारु समुदायको कला संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा खिचडी महोत्सव हुने भएको छ । प्रत्येक वर्ष आयोजना गरिँदै आएको खिचडी महोत्सव आगामी माघ १ र २ गते हुने भएको हो ।
शनिबार पत्रकार सम्मेलन गर्दै थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिले सैनामैना वडा नम्बर २ स्थित उचडिहवामा रहेको थारु होमस्टेमा सो महोत्सव गर्न लागेको जानकारी दिएको हो । महोत्सवको तयारी भइरहेको आयोजक थारु कल्याणकारिणी सभा नगर समितिका अध्यक्ष दुल बहादुर थारुले बताए ।
पाँचौ माघी महोत्सवमा यस पटक स्थानीय थारु संस्कृतिको पहिचानलाई थप उजागर गर्ने तथा नयाँ पुस्तालाई समेत मौलिक कला संस्कृति संरक्षणमा अग्रसर गराउने थारु कल्याणकारिणी सभाका खुशीराम चौधरीले बताए । चौधरीका अनुसार महोत्सवको मुख्य आकर्षणको रुपमा थारु समुदायको मौलिक खाना चिचर, पोका, घोँगी, माछा, हाँस लगायत विभिन्न परिकार रहनेछन् ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीहरुको प्रदर्शनी, थारु खानाका परिकार आदि स्टलहरु रहनेछन् । महोत्सवमा थारु जातिको विभिन्न नाच तथा झाँकी, लोक नृत्यहरुको प्रदर्शन रहनेछ ।
थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयुर नाच, सजनी विरहनी, साहित्य वाचन, विविध शैक्षिक प्रतियोगिता रहने बताइएको छ । महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सव प्रचारप्रसार तथा सांस्कृतिक संयोजक राजकुमार चौधरीले बताए ।
महोत्सव सम्पन्न गर्न ४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । जसमा सैनामैना नगरपालिकाबाट रु.२ लाख सहयोग, विभिन्न चन्दादाता र व्यवसायिक स्पोन्सरबाट समेत आर्थिक व्यवस्थापन गर्न आयोजक लागिपरेको पत्रकार सम्मेलनमार्फत उल्लेख गरिएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij