
मंगलवार , पौष २०, २०७८
गण्डकी, २० पुस ।
आगामी माघ २९ गते पोखरामा हुने डिष्ट्रिक ३२५ बी नेपालको १० औँ जिल्ला अधिवेशनलाई लक्षित गरी यहाँको पर्यटन व्यवसायीले आकर्षक प्याकेजको तयारी गरेका छन् । लायन्सको जिल्ला अधिवेशनका क्रममा गण्डकीका ११ वटै जिल्लासहित काठमाडौँ, नुवाकोट, धादिङ, गुल्मी र अर्घाखाँची जिल्लाबाट करिब छ हजार प्रतिनिधि पोखरामा सहभागी बन्दैछन् ।
अधिवेशन सम्पन्न गर्ने उद्देश्यसाथ महाधिवेशन मूल आयोजक समितिले पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिसँग सोमबार गरेको छलफलमा पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले लायन्स प्रतिनिधिका लागि होटेल संघका तर्फबाट ३० प्रतिशतसम्म छुट दिने बताए । पोखराका अन्य पर्यटकीय गतिविधिका लागि पनि सम्बद्ध निकायसँग छुटका लागि पहल गरिने उनले बताए ।
“प्याकेजसँगै छ हजार जना प्रतिनिधि र उहाँहरूसँग अन्य परिवारका सदस्यसमेत आएका अवस्थामा त्यसले पोखरामा पर्यटकको संख्या बढ्ने निश्चित छ,” उनले भने, “यति ठूलो कार्यक्रम पोखरामा हुँदा त्यसले यहाँको आन्तरिक पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौँ ।”
सो अधिवेशन यहाँको आन्तरिक पर्यटन विकासका लागि महत्वपूर्ण बन्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् गण्डकी प्रदेशका महासचिव कमला गिरीले बताइन् । कोरोनाले थला परेको पर्यटनलाई यस किसिमका कार्यक्रमले केही न केही राहत पुग्ने बताउँदै उनले पर्यटन सम्बद्ध संघसंस्थाले यसलाई अवसरका रुपमा लिँदै दिन सकिने सुविधा प्याकेजका लागि तयार हुनुपर्ने बताइन् ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले पोखरामा हुने यस किसिमका कार्यक्रमले यहाँको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले अधिवेशनका क्रममा आउने प्रतिनिधिलाई संघ आबद्ध पर्यटक यातायातमा २० प्रतिशतसम्म छुट दिन सकिने धारणा राखे ।
उक्त अवसरमा जिल्ला अधिवेशन मूल समारोह समितिका संयोजक डम्बर सिं गुरुङ, सहसंयोजक मिलन थापा, मोतिराज तिमिल्सिना, पूजन शाक्य लगायत पदाधिकारी एवम् सल्लाहकार धु्रव श्रेष्ठ, विमला श्रेष्ठ लगायतले लायन्स अधिवेशनका सम्बन्धमा जानकारी गराए ।
पोखरास्थित लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अगुवाइमा यहाँका अन्य पाँचवटा लायन्स क्लब पोखरा गण्डकी, पोखरा सेती गण्डकी, हेम्जा, पोखरा युनाइटेड चौतारी र पोखरा लेखनाथले पोखराका अन्य क्लबसँगको सहकार्यमा अधिवेशन सम्पन्न गर्न लागिएको मूल आयोजक समितिका संयोजक मधुसूदन कोइरालाले जानकारी दिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij