
बिहिवार , पौष २२, २०७८
सैनामैना, २२ पुस ।
रुपन्देहीको गैडहवा गाउँपालिका जेष्ठ नागरिकको सहारा बन्दै अघि बढेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ को स्वीकृत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत गाउँपालिकाले जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, अंपाग, पिछडा वर्गलाई सम्मान स्वरुप चिसोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको हो ।
गैडहवा गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म करिब ४ हजार ३ सय ५५ जनालाई न्यानो स्वीटर, कम्बल वितरण गरिएको हो । जसमा जेष्ठ नागरिकले १ हजार ७ सय २४ जना, जेष्ठ दलित नागरिक ४७६ जना, एकल महिला ३६० जना, पूर्ण अपांग, दलित बालबालिका, लोपन्मुख गरी ४ हजार ३ सय भन्दा धेरैलाई करिब रु.२८ लाख २५ हजार बराबरकोे न्यानो कपडा प्रदान गरिएको हो ।
गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले ज्येष्ठ नागरिक सम्मान तथा न्यायो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सो कार्य सामाजिक सम्मान भएको बताए । अध्यक्ष केवटले जेष्ठ नागरिकसंग भएको ज्ञान, सिप देशको सम्पत्ति र गहना भएको बताए । उनले जेष्ठ नागरिकलाई पालिकाले पालनपोषणदेखि स्याहार सुसारका लागि बिभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
ज्येष्ठ नागरिक सम्मानका लागि गाउँपालिकाले सधै रचनात्मक कामहरु सुरुका वर्षदेखि गर्दै आएको बताए । गैडहवामा विकास निर्माणको गतिले तीव्रता लिइरहेको बताउँदै सबै क्षेत्रको विकासमा फड्को मारेको अध्यक्ष केवटको दावी छ । जनतालाई स्वस्थ बनाउनु गाउँपालिकाको पनि दायित्व भएको उनले बताए । उनले भौतिक पूर्वाधारसंगै लक्षित वर्गका कार्यक्रमलाई संगसंगै अघि बढाएको बताउँदै आफ्नो कार्यकालमा भएका गतिविधिका बारेमा जानकारी दिंदै समृद्धि र सुखी गाउँपालिका बनाउने लक्ष्य रहेको बताए ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष सुभावती यादवले आफूहरु निर्वाचित भएर गाउँपालिकामा आएदेखि लक्षित वर्ग अन्तर्गत जेष्ठ नागरिक, आदिवासी जनजाति, युवा, दलित, अपांगता भएकाहरुका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिइन् । महिलाहरुको क्षेत्रमा विभिन्न आयआर्जनका सीपमुलक कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले चिसो बढ्दै गइरहेको बेला गाउँपालिकाले समयमै न्यानो कपडा दिदा ज्येष्ठ नागरिक निकै खुसी भएको बताए । जनता नै पालिकाका जर्नादन भएको बताउँदै घिमिरेले स्वास्थ्य लगायत आधारभुत क्षेत्रमा पालिका संवेदनशिल बनेको र बजेट पनि विनियोजन गर्दै आएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij