२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा 

पूर्वप्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

बिहिवार , पौष २२, २०७८

चितवन, २२ पुस । 
यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ । 

उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा १३ औँ संस्करणको चितवनको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशत भन्दा बढी पूरा भइसकेको छ । महोत्सव स्थलमा स्टल निर्माण, महोत्सवको मूल गेट निर्माण, सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक राजु श्रेष्ठले बताए ।

वि.स. २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो । महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिने भन्दै अध्यक्ष श्रेष्ठले महोत्सवको प्रवेशद्वारमा मास्क र स्यानिटाइजर राखिने बताए । महोत्सवमा रहने सम्पूर्ण स्टरहरु बिक्री भइसकेको श्रेष्ठले जानकारी दिए ।

यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टै छुट्टै परिसर रहने श्रेष्ठले बताए । महोत्सव परिसरमा २० वटा रेष्टुरेन्ट रहने भन्दै श्रेष्ठले सबैको बुकिङ पूरा भएको उनले जानकारी दिए । विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्ने गरी मौरीको डमी महोत्सव भित्र राखिने श्रेष्ठले बताए ।

खानेपानी र शौचालयको व्यवस्थापनका लागि काम भइरहेको भन्दै अध्यक्ष श्रेष्ठले महिलाहरुका लागि क्याविन शौचालय निर्माण गरिने बताए । महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहित रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीहरुलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १३ औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको श्रेष्ठले बताए ।

महोत्सवमा चारवटा विशेष र डोमसहित ३५० वटा स्टल रहनेछन् । सबै स्टलको बीमा गरिनेछ । महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ । 

महोत्सव अवलोकन गर्न सर्वसाधारणले रु ५० र विद्यार्थीले रु २५ को टिकट काट्नुपर्नेछ । ज्येष्ठ नागरिक, एकल महिला, शहीद परिवार र अपांगता भएका व्यक्तिको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । 

महोत्सव अवधिभर विभिन्न ६ वटा विधामा गोष्ठी तथा अन्तरक्रिया हुने चितवन महोत्सवका गोष्ठी संयोजक राजेन्द्र ओलीले जानकारी दिए । चितवन महोत्सवको अवसरमा पुस २७ गते कृषि सम्बन्धी, पुस २८ गते उर्जा सम्बन्धी, पुस २९ गते पोल्ट्री सम्बन्धी, ३० गते पर्यटन सम्बन्धी, माघ २ गते कविता प्रतियोगिता तथा साहित्यिक र माघ ३ गते महिला उद्यमी सम्बन्धी गोष्ठी हुने ओलीले बताए । गोष्ठी संयोजक ओलीकाअनुसार उद्योग वाणिज्य संघ चितवनको सभाहलमा बिहान ११ बजेदेखि गोष्ठी सुरु हुनेछ । गोष्ठीका क्रममा विषय विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल र अन्तरक्रिया हुनेछ । 

महोत्सव प्रचार प्रसार समिति संयोजक सुमन श्रेष्ठले महोत्सवको उद्घाटन पुस २५ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताए । त्यस्तै महोत्सवको समापन गर्न माघ ४ गते वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे आउने श्रेष्ठले जानकारी दिए ।