
शनिवार , पौष २४, २०७८
भैरहवा, २४ पुस ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले मौसम सफा हुनासाथ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिनामा सुचारु हुने बताएका छन् । उनले दुई महिनामा विमानस्थल उद्घाटन गरेर सञ्चालनमा ल्याइने बताए ।
शनिबार होटल व्यवसायी महासंघ, नेपालको ९ औं वार्षिक साधारणसभाको भैरहवामा उद्घाटन गर्दै मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) को लागि तयारीमा रहेको बताए । उनले भने, ‘विमानस्थलमा क्यालिब्रेशन फ्लाइटको लागि गृहकार्य भइरहेको छ, मौसम सफा भएपछि क्यालिब्रेशन फ्लाइट हुन्छ । विमानस्थलमा लाइटिंग, एअर कण्डिशनिंग र इलेक्ट्रिक सप्लाईको काम भइसकेको मन्त्री आलेले बताए ।
‘विमान अवतरण गर्ने क्रममा केही भाग छुने भएकाले भारतले केही विषयमा अब्जेशन गरेको छ, त्यसका लागि मैले भारतको पर्यटन मन्त्रीसंग कुरा गरेको छु, उहाँ सकारात्मक हुनुहुन्छ, यसबारे प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि जानकारी गराएको छु, उनले भने । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसंगै लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्य बन्ने बताए ।
भारतीय चलचित्र नायकको उदाहरण दिदै मन्त्री आलेले भने, ‘जति दिन काम गर्छु जनताको लागि गर्छु, मैले ठूलो काम गरेको छैन, आफ्नो कर्तव्य निर्वाह गरेको छु जनताको सेवा गर्न आएकाले जनताको शिर झुक्न दिन्न, ‘उनले भने । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरिएको उनले जानकारी दिए ।
कोभिड–१९ महामारीले पर्यटन व्यवसाय धरासायी भएको मन्त्री आलेले बताए । उनले नारायणहिटी संग्रहालय, पशुपति विकास कोष लगायतका क्षेत्रमा देखिएको समस्या समाधानका लागि अघि बढेको बताए । लुम्बिनी गुरुयोजनाको काम ८१ प्रतिशत सम्पन्न भएको उनले बताए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हकिकुल्लाह खाँ, संविधानसभा सदस्य आदित्य नारायण कसौधन, नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य राजु गुरुङ, होटल व्यवसायी महासंघ, नेपालका अध्यक्ष हिरा ध्वज शाह, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने लगायतले बोल्दै पर्यटन तथा होटल क्षेत्रमा भएका समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij