images

बुधवार, बैशाख १२ गते २०८१

नौलो शैलीले माघी मनाउन चाहन्छन् थारु समुदाय

नौलो शैलीले माघी मनाउन चाहन्छन् थारु समुदाय

थारु समुदायका नयाँ पुस्ताले पनि सम्झने र निरन्तर रुपमा गरिरहुन् भन्नको लागि पनि थप मनोरञ्जनसहित नयाँ विषयवस्तुसहितको माघी चाहन्छन् थारु समुदायका व्यक्तिहरु

images
images
images
शनिवार, माघ १ २०७८
शनिवार, माघ १ २०७८
  • नौलो शैलीले माघी मनाउन चाहन्छन् थारु समुदाय

    बुटवल, १ माघ । 
    कोखिलामा ढकिया, टाउकोमा धरी, घाँटीमा सुतिया र लामो चौकी, हातमा बाजु, नाडीमा गहट्टा (अगेला पखेला) । कम्मरमा करधुन, खुट्टामा काडा, कम्मरमाथि अङिया र कम्मर तल लेहेङा लगाएर सजिएका छन् रुपन्देही सैनामैना नगरपालिका–२ उचडिहवाका सुमि चौधरी, विनिता थारु र कल्पना थारु । 

    images

    माघ १ गते माघी पर्व । थारु समुदायको प्रमुख तथा महत्वपूर्ण पर्व । यही चाडपर्वकै अवसरमा थारु समुदायको मौलिक पहिचानसहितको पहिरनमा सजिएका हुन् । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ उचडिहवामा थारु समुदायको बस्ती छ । यहाँ थारु समुदायका व्यक्तिहरुका मात्रै ६९ वटा घर छन् । यी घरहरु माघीको लागि दुलही जस्तै सिंगारिन्छन् । झट्ट हेर्दा लाग्छ कि ठूलै विवाह समारोह चलिरहेको छ । घरका सबै सदस्यहरु चट्ट सिगाँरिएका छन् ।

    माघा ना हैली सुअरिक 
    सिकार खाइली होना
    सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड
    सखि ए हो, माघा के पिइली गुरी गुरी जाँड

    यो भाका यतिबेला हरेक थारु समुदायका घरहरुमा गाइन्छ । यो नै माघीको महत्वपूर्ण र पौराणिक गित हो । रुपन्देहीको सैनामैना नगरपालिका २ उचडिहवाकी ४५ वर्षिया सिता थारुले हरेक साल माघी पर्वको लागि आफ्ना सन्तान तथा छिमेकीलाई यो गीत सिकाउँछिन । यो वर्ष पनि माटोबाट बनेको खपडाले आधा भन्दा धेरै छाएको घरको आँगनमा बसेर उनले यो सिकाइरहेकी थिइन् । 

    १० धुर क्षेत्रफलमा बनेको कच्ची १ तल्ले घर । २ वटा कोठा, बीचमा गल्ली । बाहिर पाली र भान्सा । आँगनमा आगो बाल्न राखिएका दुईवटा मुडा । धान राख्ने भकारी । माछा मार्ने जाल र माछा राख्न बाँसको चोयाबाट बुनिएको टोकरी । यो उनको घरको सिनारि हो । श्रीमान, ससुरा, २ छोरी र १ छोरासहित उनको सुखी परिवार छ ।

    सिताको घर वडा कार्यालयबाट ५० मिटरको दुरीमा छ । उनको घर पुरानो ढाँचाको छ । यति बेला उनलाई भ्याईनभ्याई छ । परपहाहुनाको स्वागत सत्कार गर्नमा । यो दिन उनका लागि वर्षभरीको सबैभन्दा महत्वपूर्ण दिन हो । मुहारमा खुसी ल्याउँदै भन्छिन्, ‘यो पर्व बाउबाजेको पालामा सामान्य तरिकाले मनाउँथ्यौ । तर अहिले केहि फरक अनि रमाइलो शैलीमा मनाउँछौ । उनको कुरा सुनिरहदा लाग्छ कि पर्वमा केही फरकपन आएको छ । उनी थप्छिन, ‘माघी पर्वमा मौलिक परम्परालाई यथावत राख्दै थप मनोरञ्जनको बाटो खोज्नुपर्छ । ’

    थारुले अमिलो मुख बनाउँदै पहिले पहिलेको माघी पर्व मनाउँदाको अनुभव सुनाइन हरुवा चरुवा, कमैया, कम्लहरीको समयमा निकै दुःख भोग्यौ । सासु ससुुराहरु यही कामको लागि सबेरै उठेर जिम्दाहरुकोमा जाने र राती अबेरसम्म काम गर्ने हुँदा चाडपर्व मनाउँदा खासै खुसी लाग्ने थिएन ।

    थारु समुदायका व्यक्तिहरुलाई लाग्छ, अहिलेको पर्व मनाउने शैली अलि राम्रो छ ।  केही पहिलेसम्म कमैया र कम्लहरीहरु छुटाउने फुकाउने आर्थिक हिसाबकिताव मिलाउने काम पनि यसै दिन गरिन्थ्यो तर अहिले त्यो हटेको छ । अहिले यो समुदाय पनि सामान्य व्यक्तिसरह बस्न पाउने अवस्थामा पुगेको छ । 

    पुरानो भन्दा नयाँ शैली मन पर्छ 

    देख्दा झट्ट बुढ्यौलीले छोएका रुपन्देही सैनामैनाका धनिराम थारु हरुवा चरुवाको अनुभव संगालेका व्यक्ति हुन् । ६९ वर्षिय उनले करिब १८ वर्ष  (२५ वर्ष पुग्दा)सम्म हरुवा चरुवाको काम गरे । हरुवा चरुवाको काम गर्दा यो सामान्य नै थियो । बाउबाजेको सम्पत्ति भए पनि हरुवा चरुवा बस्नुपर्ने थारु जातिको बाध्यता जस्तै रहेको उनी सुनाउँछन् । 

    आफ्नो अनुभव सुनाउँदै उनले भने,‘हरुवा चरुवाको बेलामा दुई भाइले घरमा काम गर्ने बाँकी दुई भाईले हरुवा चरुवा गर्ने हुन्थ्यो, हामी पनि त्यहीँ गर्यौं ।’ माघीको दिनमा जमिन्दारको घरमा गएर खिचडी खाएसंगै उनीहरुको घरमा काम गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अहिले आफूहरु स्वयं रमाइलो गर्न सक्ने अवस्थामा रहेको सुनाउँछन् । 

    बिहान ३ बजेदेखि काम गर्न पुगेको अनुभव सुनाउँदै भावुक बने धनिराम थारु । आँखाको गहभरी आँसु ल्याउँदै भन्छन्, ‘बिहान ३ बजे काममा गयो, बिहान खाना खान आधा घण्टा आफ्नै घर आयो, राती ८ बजेसम्म काम गर्यो, धेरै दुःख पायौँ । दिनभर काम ग¥यो, ज्याला ४ सेई (१ पाथी)।’

    माघी पर्व मनाउँदा पुसको अन्तिम दिनमा गाउँभरीका थारु समुदायका व्यक्तिहरु मिलेर सुँगुर काट्ने गरेको अनुभव सुनाउँदै धनिरामले ढिक्री, रोटी, माछा बनाइएको बताए । पहिलेदेखि नै रातभरी नाचगानका साथ रमाइलो गर्ने प्रचलन रहेको उनले सुनाए । 
    सोही दिन सबेरै तिर्थस्थलमा नुहाएर आइसकेपछि आफ्नो छोरी चेलीलाई उपहार दिने चलन छ । त्यो उपहारमा चामल, नुन, दाल आदि आफ्नो गक्ष अनुसार निकालेर दिइन्छ । यसले दिदीभाइहरुमा सम्बन्ध बढाउने थारु बताउँछन् । 

    माघी मनाउँदै जाँदा धेरै दुख भोगेको भएर पनि उनलाई माघीमा अब रमाइलो हुनुपर्ने बताउँछन् । धार्मिक एवं पौराणिक महत्वका कुराहरुलाई दर्शाउँदै नयाँ शैलीले थप मनोरञ्जनसहित माघी मनाउनुपर्ने बताउँछन् । 

    फेरियो शैली, महोत्सव बन्यो महान पर्व

    माघी पर्व मनाउने शैली फेरिँदै जान थालेको छ । समयानुकुल परिवर्तनलाई थारु समुदायले पनि सहजै स्वीकार्न थालेका छन् । सानो गाउँको खाली स्थानमा बसेर मनाईएको माघी यतिबेला महोत्सवको रुपमा परिवर्तित हुँदै आएका छन् । 

    रुपन्देही सैनामैना क्षेत्रमा थारु होमस्टे सञ्चालन गरेर बसेकी विष्णु थारु नयाँ तरिकाले माघी पर्व मनाउनुपर्ने बताउँछिन् । परम्परालाई कायमै राख्नको लागि भए पनि नयाँ र थप मनोरञ्जनको तरिकाबाट मनाउनको लागि कामहरु गर्नुपर्ने उनी बताउँछिन् । 

    नयाँ पुस्ताले हरेक कुराहरुलाई बिर्सदै जाने भएकोले पनि संस्कृति जर्गेना गर्नको लागि नयाँपन सहितको शैली आवश्यक रहेको बताउँछिन् उनी । थारुहरुको महान पर्वलाई यतिबेला माघी महोत्सवको रुपमा मनाउन थालिएको छ । माघे संक्रान्तिमा अन्य समुदायका ब्यक्तिहरुले कार्यक्रमहरु गरे पनि थारु समुदायले नै पर्वलाई महोत्सवमा लैजान थालेको हो ।

    क्षेत्र–क्षेत्र अनुसार स्थान तोकेर माघी मनाइँदै आएको छ । कोरोनाको महामारीको बाबजुत पनि सानो क्षेत्रमा भए पनि महोत्सवको रुपमा मनाउने तयारी थारु समुदायले गरेको देख्न पाइन्छ । 

    थारु कल्याणकारी समितिका दुल बहादुर थारु भन्छन, ‘समयको मागअनुसार कार्यक्रमहरु आयोजना हुँदै आएका छन् । पछिल्लो समय माघि मनाउने शैलीमा आएको केही फरकपनले संस्कृतिमा कुनै आँच आउँदैन । पुरानो संस्कारलाई बचाउनको लागि यस्ता सांस्कृतिक कार्यक्रमहरु महत्वपूर्ण हुन्छ ।’

    महोत्सवमा स्थानीय उत्पादित खिचडी, थारु परिकारमा ढिकरी, घोगी, माछा, अनादिको भुजा, पतुसनी, कछुवाको मासु, बंगुरको मासु, गङटा, मुसा, पकौडा, खिचडी रहने गर्दछन् । जुमडा, झरराबाट मनोरञ्जन तथा थारु समुदायका गितहरुमा रमाईलो नाचगानको प्रबन्ध मिलाइएको हुन्छ । 

    यस्ता छन् माघी मनाउँदाका परिवर्तन (पहिले र अहिले)

    माघी लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा बसोबास गरिरहेका थारु समुदायले विशेष गरी मनाउँछन् । लामो अनुभव संगालेका  व्यक्तिहरुले पहिलेको अनुभवका आधारमा धेरै कुराहरुमा परिवर्तन भएको प्रतिक्रिया दिन्छन् । थारु समुदायमा अरु बेलाका तुलनामा यो समयमा महिलाहरुलाई विशेष ठान्ने गर्दछन् । प्राय : यो समयमा महिलाहरुले मिठा भोजन बनाउने भएकोले पनि विशेष महत्वका साथ हेर्ने गरिएको हो । 

    थारु कल्याणकारी समिति रुपन्देहीका उपसभापति बुद्धि चौधरीले नयाँ शैलीको नाममा पुराना केही कुराहरु हराउँदै गएको बताउँछन् । यो समुदायका व्यक्तिहरु माघीको दिनमा हरुवा चरुवा बस्ने दिनको रुपमा रहेको थियो । यो आजभोली अन्त्य भएको छ । यो थारु समुदायका व्यक्तिहरुमा सकारात्मक कुरा हो । उनका अनुसार माघीको अवसरमा विभिन्न घाटहरुमा स्नान गर्ने गरिएको भए पनि यो काम विस्तारै हराउँदै गएको छ । घरका वृद्ध व्यक्तिहरु तीर्थस्थलमा गएर नुहाउने इच्छा व्यक्त गरे पनि

    आजभोली घरमै नुहाउन थालिएको छ । यसप्रति थारु समुदायका अग्रजहरुले दु:ख  व्यक्त गर्न थालेका छन् । अन्य समयमा पनि तयार हुने सामग्रीहरु माघीको दिनमा पनि पाक्ने हुनाले केही फरक मासुहरु तथा मदिराको प्रयोग बढ्दै गएको ६९ वर्षिय धनिराम थारु बताउँछन् । उनले लोकल रक्सीको सट्टामा बजारमा आएका अन्य रक्सीको प्रयोग बढेको बताउँछन् । थारु समुदायको महान पर्व माघिमा पहिलेको समयमा गाइने गीतहरु लोप हुने अवस्थामा रहेका छन् । उनीहरु आफ्नो मातृभाषाको गितहरु बिर्सेको बताउँदै यो सिकाउने प्रयास गरे पनि प्रयोगको अभावमा लोप हुने अवस्था रहेको सुनाउँछन् । 

    अहिलेका माघी विशेष कार्यक्रमहरुमा थारु भाषाका गीतहरु प्रस्तुत हुन्छन् । यसले भाषा जोगिए पनि पुराना भाका, लय तथा गितहरुको अस्तित्व घट्दै आएको छ । 

    कोरोनाको त्रासले पर्व मनाउन गाह्रो

    थारु समुदायले सामूहिक रुपमा मनाउने पर्व माघीमा कोरोनाको प्रभाव राम्रै पर्ने देखिएको छ । गृह मन्त्रालय तथा स्थानीय प्रशासनले २५ जना भन्दा धेरै व्यक्तिहरु भेला हुन नपाउने निर्णय गरेकोले पर्व मनाउन गाह्रो हुने थारु कल्याणकारी समिति रुपन्देहीका उपसभापति चौधरी बताउँछन् । सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी पर्व मनाउने योजना रहेको स्थानीय थारुहरु बताउँछन् । 

    यो दिनमा गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा निकै ठूलो मेला लाग्ने गरेपनि यो वर्ष मेला नलाग्ने भएको हो । यो समयमा तीर्थालुहरु स्नान गर्न तीर्थस्थलमा पुगे पनि मेला नलाग्ने भएका हुन् । देवघाटको मेला पनि स्थगित भएको छ । कोरोनाका कारण यस वर्षको माघे संक्रान्ति मेला प्रभावित हुने भएका छन् । ठाउँठाउँमा लाग्ने मेला तथा स्नान कार्यक्रमहरु स्थगित भएका छन् ।

    परम्परालाई समेट्दै माघी मनाऔँ : उपसभामुख थारु

    लुम्बिनी प्रदेशसभा उपसभामुख कृष्णी थारुले यो समुदायका व्यक्तिहरुको जीवनशैलीमा निकै परिवर्तन आएको बताउँदै माघीलाई अझै महत्वका साथ मनाउनुपर्ने बताउँछिन् ।

    पछिल्लो समय परम्परालाई मेट्ने काम भएको हल्ला आए पनि त्यो अनुसार केही नभएको उनी बताउँछिन् । उनले परम्परालाई मेटेर कुनै पर्वहरुको महत्व नरहने बताउँदै पर्वलाई पर्वकै तवरबाट मनाउन आग्रह गरिन् ।

    ‘माघी पर्व खानपिन र रमाइलोमा मात्र सीमित छैन, खेतीपाती कृषि किसानीमा बढी व्यस्त रहने थारु समुदायका लागि चाडपर्व थकान मेटाउने अवसर पनि हो, उपसभामुख थारुले भनिन्, ‘वर्ष दिनका लागि नयाँ नीति नियम बनाउने, त्यसको कार्यान्वयनका लागि प्रतिज्ञा गर्ने, नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने, गएको वर्षभरीको कामको समीक्षा पनि हुन्छ । कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह समेत गरेकी छन् । 

    यस्तो छ माघीको महत्व

    माघी पर्व थारुका लागि मात्र होइन अन्य समुदायमा पनि आ–आफ्नो ढंगले मनाउने गरिन्छ । माघ १ गते नेपालको पश्चिम तराईमा विशेष दिनका रुपमा लिने गरिन्छ । तराईका थारु समुदायमा माघी पर्वका नाममा मनाइने यो दिन एक प्रकारले सो समुदायका लागि मुक्तिको दिन जस्तै हो ।

    माघे संक्रान्ति सबैको चाड भए पनि यो मूलत : माघी भनेर थारु समुदायले बडो महत्वका साथ मनाउने गर्छन् । थारु समुदायको यो दिन नव वर्ष पनि हो । थारु समुदायले आफन्त र मान्यजनबाट नयाँ दिनको सुरुवात गर्ने दिनका रुपमा हर्षोउल्लासकासाथ रमाइलो गर्दै मीठामीठा खानेकुरा खुवाउने चलन छ । बाह्र संक्रान्तिमध्ये माघे संक्रान्ति हो । माघे संक्रान्ति हाम्रो महत्वपूर्ण पर्व हो । यो सबै जातिको साझा पर्व हो ।

    माघीमा थारु समुदायमा जिम्दारको घरमा कमैया बस्ने वा नबस्ने भनेर छिनोफानो गर्ने दिनका रुपमा पहिले व्यापक थियो । कमैया प्रथाको अन्त्यपछि त्यो परम्परा हटेको छ तर निर्मूल भएको छैन । थारु समुदायले कमैया र कम्लरी बस्ने दास व्यवस्थाको दुःखद संस्कारको लामो संघर्षपछि अन्त्य भएको छ ।

    सांस्कृतिक संस्कार र पर्वका रुपमा रहेको माघीलाई थारु समुदाायको मुक्ति पर्वका रुपमा लिन थालिएको थारु अगुवाको भनाइ छ । माघ महिनाको प्रथम दिन सूर्य धनुराशीबाट मकर राशिमा प्रवेश गर्छन् । यसलाई तिलुवा संक्रान्ति या मकर संक्रान्ति पनि भनिन्छ । विभिन्न जातीय समुदायले यसलाई विशेष महत्वका साथ मनाउने गर्छन् ।

    तिलुवा संक्रान्तिको दिन तिललाई सख्खरमा मिसाएर लड्डु बनाएर खाइन्छ । तिलमा विभिन्न तत्वहरु पाइन्छ । यो दिन घीउ, चाकू तिल, मह, सख्खर, तरुल, सख्खरखण्ड, पिडालु खाने गरिन्छ । मैथिली भाषिक समुदायले दही, पापड, घीउ अनि अचार खाने गर्छन् । यी सबै खानाले शरीरमा न्यानो प्रदान गर्छन् । नेवार समुदायले घीउ, चाकू, सँल्हु, खाने गर्छन् । काठमाण्डौ नजिकको पनौतीमा ठूलो मेला लाग्छ । यो लिच्छिवी मानदेवको पालादेखि सुरु भएको हो ।

    मगर जातिमा तारो हान्ने खेल खेलिन्छ । तारोमा निशाना लगाउनेलाई जयजय गर्दै गाउँमा डुलाइन्छ । यस पर्वमा मगरहरुले धूमधामका साथ पितृहरुको पूजाआजा गर्छन् । माघे संक्रान्ति मीठो खाने पर्व हो । यो सबै जात जातिका समुदायको अलग अलग तर सबैले मनाउने चाड हो । यसको पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्व छ । यो वैज्ञानिक तथा अर्थपूर्ण संस्कारको रुपमा स्थापित भएको छ । 

    यसबाट मानिसलाई चर्म रोग, बाथ रोगबाट पनि मुक्ति पाउन सकिन्छ । जसले शरीरलाई जाडोबाट बचाउन सक्छ । त्यसैले यसलाई तिलुवा संक्रान्ति पनि भनिएको छ । तिललाई पवित्र खाद्यान्न मानिन्छ । विभिन्न पूजा आजामा यसको प्रयोग गरिन्छ । भौगोलिक रुपमा भन्दा अब सूर्य भूमध्य रेखाबाट उत्तरतिर लाग्छ । माघ १ गतेबाट हिंउँदको कठोर जाडो कम हुँदै जान्छ । यस ऋतुपछि वसन्तको बहार आउने हुनाले यसलाई विशेष महत्वका साथ मनाइएको छ । पौराणिक मान्यता अनुसार माघ १ गते महाभारतका पात्र भीष्मले इच्छा मृत्युको वरदान पाएको दिन हो । 


    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij