
सोमवार , माघ १०, २०७८
बुटवल, १० माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको नरेश्वर बोलबम धामलाई पशुपतिनाथ सरहको आस्थाको केन्द्र मानिन्छ । यहाँ पशुपतिनाथकै पालाको अग्नीकुण्ड अहिले पनि अखण्ड रहेको मानिन्छ । यहाँ नेपाल र भारतका विभिन्न ठाउँका लाखौं धार्मिक पर्यटकहरू तीर्थटनका रुपमा आउने गर्छन् । यहीँ धार्मिक आश्थाको केन्द्रका रुपमा रहेको धामलाई संरक्षण, सम्बर्द्धन र विस्तार गर्दै उपमहानगरले गुरुयोजना बनाएको छ ।
धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने र बुटवल पर्यटन सर्किटमा जोडेर छिमेकी पालिकाका चक्रपथमा कनेक्टिङ गराउने उपमहानगरपालिकाको योजना छ । यहीँ धामको मुख्य केन्द्रमा उपमहानगरले आकर्षक उद्यान (फुलबारी) को निर्माण गरेको छ । मन्दिर व्यवस्थापन तथा सञ्चालन समितिको सहकार्यमा उद्यान निर्माण गरिएको हो । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थल नरेश्वर धाममा पर्यटनको आगमन वृद्धि गर्दै सौंन्दर्यकरणको लागि निर्माण गरिएको उद्यानको सोमबार एक संक्षिप्त समारोहबीच प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।
उद्यानको उद्घाटन गर्दै प्रमुख सुवेदीले धार्मिक तथा ऐतिहासिक स्थल नरेश्वर धामको गुरुयोजना नै बनाएर विकास गर्न लागिएको बताए । धामको धार्मिकसँगै ऐतिहासिक महत्व रहेको बताउँदै उनले यसको संरक्षण, सम्बर्द्धन र विस्तार गर्दै धार्मिक पर्यटनको एउटा केन्द्रका रुपमा विकास गर्न लागिएको बताए । उनले उद्यानलाई आयआर्जनको माध्यमसँग जोड्न आवश्यकता रहेको उल्लेख गर्दै स्थानीय उत्पादन र संस्कृतिलाई पनि उजागर गर्दै आम्दानीको स्रोतका रुपमा लगाउनुपर्नेमा जोड दिए । उद्यानबाट नरेश्वर धाम र यहाँका स्थानीयको उत्पादनसँग जोडिने प्रमुख सुवेदीको भनाइ थियो ।
कोरोनाको पहिलो लकडाउनमा रोजगारी गुमाएका श्रमिकहरुलाई स्वरोजगार बनाउँदै उद्यानको निर्माण गरिएको सुवेदीले बताए । निर्वाचनको समयमा जनतासँग गरिएका प्रतिवद्धताहरु पुरा गर्दै समग्र बुटवलको दिगो विकासमा अघि बढेको सुवेदीले दावी गरे । उपमहानगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक गुमादेवी आचार्यले बुटवलको वडा नम्बर १६ का विभिन्न स्थानलाई धार्मिक, ऐतिहासिक तथा पुरातात्विक विभागले आफ्नो सूचीमा राखेको जानकारी गराउँदै अहिले आफुहरुले तीनै क्षेत्रमा संरक्षण, सम्बर्द्धन र विस्तारको काम गरिरहेको बताए ।
नैरनापुर धाम, बैठालिया कपरकट्टी तार र बैठौलिया बनभोज स्थललाई जोडेर पर्यटन विश्राम स्थलका रुपमा विकास गरिएको उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १६ का अध्यक्ष रामप्रसाद रेग्मीले बताए । यहाँका स्थानीयको आर्थिक उत्पादनमा जोडिने गरी विकास निर्माणका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
प्रवक्ता रेग्मीले सम्पदा तथा सार्वजनिक स्थलको संरक्षण गर्दै नरेश्वर धामको सौंन्दर्यतालाई बृद्धि गर्नको लागि उद्यानको निर्माण गरिएको बताए । उनले पर्यटकलाई आकृषण गर्नको लागि उद्यान महत्वपूर्ण सावित हुने दावी गरे । प्रधानमन्त्री स्वरोजगार तथा उपमहानगरको आर्थिक सहयोगमा धाममा उद्यान निर्माण गरिएको बताए ।
नरेश्वर बोलबम धाम समितिका अध्यक्ष गगन कुमार गुरुङले २६ लाख लागतमा उद्यानको पहिलो चरणको कामको निर्माण गरिएको जानकारी दिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम समतेको बजेटमा उद्यानको निर्माण कार्य सम्पन्न गरिएको अध्यक्ष गुरुङले बताए ।
धाममा आउने श्रद्धालुलाई घुम्नको लागि आधुनिक लाईट जडान गरेर आकृषक पार्क निर्माण गरिएको छ । शौचालय र सभाहल तयार भएका छन् । यस्तै धाम परिसरमा भ्यू टावर निर्माण गरिंदैछ । धामका कोषाध्यक्ष ममता पौडेलले जिर्ण बनेको मन्दिरको विकास तथा संरक्षणको लागि स्थानीय तहमा जनप्रतिनिधि आएपछि कायापलट भएको बताइन् ।
झाडीले ढाकिएको, अतिक्रमणमा परेको र संरक्षण अभावमा जीर्ण बनेका क्षेत्र जनप्रतिनिधि आएपछि आकर्षक बनेको कोषाध्यक्ष पौडेलको भनाइ छ । यस क्षेत्रमा सञ्चालन गरिएका सबै योजना साकार भएमा बुटवलको एउटा पर्यावरणीय पर्यटनको क्षेत्रका रुपमा यहाँको विकास हुने स्थानीय अगुवा चुडामणी पौडेलले बताए ।
१२ विगाहमा पिकनिक स्थल निर्माण
बुटवलको सेमलारमै आकर्षक पिकनिक स्थल निर्माण गरिएको छ । वडा नम्बर १६ मा नै बैठौलिया सेमलार वनभोज स्थल निर्माण भएको हो । उक्त स्थलको पनि सोमबार एक संक्षिप्त समारोहबीच उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उक्त वनभोज स्थल अर्थात् पिकनिक स्पटको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा प्रमुख सुवेदीले नरैनापुर धाम, बैठोलिया कपरकट्टी ताल, क्रिकेट रंगशलाको गुरुयोजना बनाएर समग्र विकास निर्माणको काम अगाडि बढाइएको र अहिले पूरा हुने चरणमा पुगेको बताए । उपमहानगरको ७ लाख र स्थानीय उपभोक्ताको ७८ हजार बराबरको लागतमा नदि किनारमा व्यवस्थित वनभोज स्थलको निर्माण गरिएको उपभोक्ता समिकिा अध्यक्ष टेकबहादुर कठरीयाले जानकारी दिए । यहाँ शौचालय, आकर्षक आधा दर्जन सेडहरु, विश्राम स्थल, पार्किङ स्थल, खानेपानी, हरियाली क्षेत्रको निर्माण गरिएको छ ।
सुन्दर हराभरा र खुला स्थानमा कलकल नदिको आवाजसंगै वनभोज गर्न सकिने गरी सेडहरु निर्माण गरिएको छ । बुटवलको सहरी विकास गुरुयोजना अन्तर्गत आवधिक र दीर्घकालीन योजना तय भएका र आवधिक योजना पूरा हुने चरणमा पुगेका नगर योजना आयोगका सदस्य सचिव मेघराज भट्टराईले जानकारी बताए ।
सेमलार र मोतीपुर क्षेत्रमा बुटवलले उपसहर अर्थात् स्याटेलाइट सिटी निर्माणका लागि भौगर्भिक अध्ययन पूरा गरिसकेको छ । यहाँको जमिनमा खेतीका लागि, बस्तीका लागि र नयाँ उपसहरका लागि अलग अलग क्षेत्र छुट्याएर अध्ययन गरिएको छ । यिनै क्षेत्रमा बुटवलले बहुतले बहुउद्देश्यीय भवन निर्माणका लागि समेत सार्वजनिक–निजी साझेदारीको अवधारणा बनाएर काम गरिरहेको प्रवक्ता रेग्मीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij