
बुधवार , माघ १२, २०७८
मोरङ, १२ माघ ।
प्रदेश नं १ मा राष्ट्रियसभा तीन सदस्य पदको आज भएको निर्वाचनको मतपरिणाम साँझ सार्वजनिक गरिएको छ । उक्त निर्वाचनमा दुई स्थानमा गठबन्धन दलले विजयी भएको छ भने एक स्थानमा नेकपा (एमाले) विजयी हुन सफल भएको छ । राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपालकुमार बस्नेत (झापा) निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा(एमाले)का गुरुप्रसाद बराल (मोरङ)ले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नेकांका बस्नेत विजयी भएका छन् ।
उनीहरू दुवैले चार हजार ४८८ मत ल्याएका थिए । अन्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्वरबहादुर विष्ट(झापा)ले १६८ मत ल्याएका थिए । अन्यतर्फ प्रदेशसभा सदस्यको एक मत र स्थानीय निकायतर्फ दुई मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
त्यसैगरी अपांग/अल्पसंख्यकबाट नेकपा (एमाले)का सोनाम ग्याल्जेन शेर्पा (सोलु) चार हजार ४७० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धन दलबाट जनता समाजवादी पार्टी, नेपालका हेमराज राई थुलुङ (भोजपुर) चार हजार ३८६ मत ल्याएका थिए । उक्त मतदानमा स्थानीयतर्फको चार मत बदर भएको थियो ।
त्यस्तै महिला उम्मदेवारतर्फ नेकपा (एकीकृत समाजवादी) का जयन्तीदेवी राई (भोजपुर) चार हजार ६९२ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) की सुमित्रा सुवेदी भण्डारी (झापा)ले चार हजार ३६२ मत ल्याएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जु प्याकुरे (झापा) ले १२० मत ल्याएकी छन् । महिलातर्फको मतदानमा स्थानीय तहको तीन मत बदर भएको थियो ।
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (गठबन्धन दल)बाट तीन जना र एमालेबाट तीन जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेदवार रहेका थिए ।
राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन् । आज भएको निर्वाचनमा प्रदेशसभातर्फ ९१ र स्थानीय तहका २७० जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत भरत लम्सालले विजयी उम्मेदवारलाई आजै साँझ प्रमाणपत्र वितरण गरेका छन् । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij