
शुक्रवार , माघ १४, २०७८
भैरहवा, १४ माघ । कोरोना महामारीको तेस्रो लहरले विभिन्न क्षेत्रलाई प्रभावित बनाएको छ । शैक्षिक संस्थाहरु बन्द छन्, अन्य व्यापार व्यवसाय पनि सुस्ताएको छ । कोभिडको कारण देखाउँदै कतिपय ठाँउमा लगानीको वातावरण समेत प्रभावित भएको छ ।
तर, भैरहवाका ६ जना युवाहरु भने यही महामारीकाबीच होटल व्यवसायमा कम्मर कसेर लागिपरेका छन् । कोभिड महामारीकैबीच रेष्टुरेण्ट निर्माणको काम सुरु गरेका ६ जना युवाहरुले कोभिडको तेस्रो लहरकै बीचमा सञ्चालनमा ल्याएका छन् । महामारीलाई छिचोल्दै व्ब्यवसायलाई अगाडी लैजाने उनीहरुको अठोट छ ।
फरकफरक पेशा र व्यवसायबाट एक ठाँउमा उभिएका उनीहरुले रेष्टुरेण्टलाई खानाका पारखीहरुका लागि एउटा गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । खानाका पारखीहरुलाई फरक मेनु र स्वादका साथ ‘द ग्राण्ड किचन’ नामको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको सञ्चालक उमेश आर्चायले बताए । आर्चायसहित राजु रिजाल, श्री रायमाझी, हरिप्रसाद आचार्य राजु पाण्डे र नविन आचार्यले भैरहवाको जनकपथमा उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।
शिक्षा, स्वास्थ्य, पर्यटन, रेष्टुरेण्ट र बैकिङ क्षेत्रमा गरी उनीहरुको आ–आफ्नै अनुभव छ । उनीहरुले आ–आफ्नो क्षेत्रलाई पेशा र व्यवसायका रुपमा पनि अगाडि बढाएका छन् । ‘सबै जनाको आफ्नै पेशा भए पनि आफ्नो ठाँउको विकास र प्रवद्र्धनको लागि हामी जस्तै यूवा नै उद्यमशिल हुनुपर्छ भन्ने ठानेर हामी यो व्यवसायमा लागेका हौं अध्यक्ष आर्चायले भने, ‘सुरुवाती चरणमा यसले राम्रो प्रभाव जमाएको छ ।’
हामी जस्ता युवाहरु रोजगारीको लागि विदेशिनु परेकोे छ, वैदेशिक यात्रालाई केही हदसम्म भए पनि रोक्नको लागि हरेक क्षेत्रका युवाहरु उद्यमशिल हुन जरुरी सञ्चालक राजु रिजालले भने, ‘उद्यमशिल बन्न र रोजगारी प्रदान गर्न हामीले यो रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हौं । ’रेष्टुरेन्टमा हाल १३ जनाले प्रत्यक्ष रोजगारी पाएको उनले बताए ।
रेष्टुरेण्टका अर्का सञ्चालक रिजाल १४ वर्षसम्म दुबईमा रेष्टुरेण्ट क्षेत्रमा काम गरेका आएका हुन् । विदेशमा काम गर्दा सिकेको सिपलाई आफ्नै जन्मथलोमा प्रयोग गर्नका लागि रेष्टुरेण्ट चलाउने सोच अनुसार लगानी गरेको रिजालको भनाइ छ । खाना बनाउन असाध्यै मन पराउने रिजालले अहिले रेष्टुरेण्टमा किचनसहित आन्तरिक व्यवस्थापन गरिरहेका छन् । कफि र बिरयानी बनाउन मस्त रिजाल सानैदेखि भान्सा (किचन) छिर्न सौखिन थिए ।
जागिरको सिलसिलामा दुबई पुगेका उनले आफ्नो जागिरे यात्रा पनि किचनबाटै सुरु गरे थिए । दुबईमा रहदा उनले लामो समय चेन बिजनेशको रुपमा रहेको कफिसपमा काम गरेका थिए । त्यस्तै रेष्टुरेण्टमा पनि केही वर्षमा काम गरेको उनको अनुभव छ । विदेशमा काम गरिरहँदा उनलाई एउटै कुरा मनमा खेलिरहन्थ्यो, यहाँ सिकेको सिप र श्रम आफ्नै देशमा लगाउनुपर्छ भनेर ।
१४ वर्षको विदेश बसाईपछि नेपाल आएको केही समयपछि कोरोना महामारी बढ्यो, रेष्टुरेण्ट चलाउने सोचसहित आएको मलाई कोरोनाले केही समय झस्कायो पनि रिजालले भने, ‘कोरोना मथ्थर भएपछि रेष्टुरेण्ट चलाउने सोच बनाउँदा साथीहरु जुट्यौ, त्यसपछि टिम बनाएर यो रेष्टुरेण्ट चलायौं ।’
सुरुमा एक्लै भए पनि ४०÷५० लाख भित्रमा रेष्टुरेण्ट चलाउने सोच बनाएका रिजालले टिम पाएपछि ६ जनाको सहकार्यमा द ग्राण्ड किचन सुरु गरिएको रिजालले बताए ।
‘आफ्नो सीप र क्षमतालाई व्यवसायिक रुपमा अगाडी बढाउन यो रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हौ, विदेशमा सिकेको सिपलाई यहाँ मज्जासंग प्रयोग गर्नेछु, ’रिजालले भने । संचालकमध्यकै एक जनाको एक कठ्ठा जग्गाभित्र तयार पारिएको यस रेष्टुरेन्टमा अन्य रेष्टुरेन्टमा भन्दा केही छुटै खालको विशेषता रहेको सञ्चालक आचार्य बताउँछन् । रेष्टुरेण्टमा पारिवारिक वातावरण, बालमैत्री, अफिसियल वातावरण प्रदान गर्ने हिसाबले सञ्चालनमा ल्याएको आचार्यको भनाइ छ । उनी भन्छन्, ‘अहिले मानिसको जीवनशैली फेरिएको छ । कहिलेकाँही घरबाहिर निस्किएर रमाइलो गर्ने परिवार र काखमा बस्ने बच्चाहरुका लागि मध्यनजर गरी बच्चाहरुका लागि खाना र बस्नका लागि प्रबन्ध मिलाइएको छ । अर्गानिक कफिसँगै पुस्तक पढ्न रुचाउनेहरुको लागि यो उत्तम ठाउँ हो । ’
डेढ करोडको लगानीमा सञ्चालमा आएको ग्राण्ड किचन रेष्टुरेण्टले भैरहवा र यस आसपास रहेका व्यवसायिक फर्म र परिवारमा समेत डेलिभरी सुविधासहित परिकारहरु उपलब्ध गराउँदै आएको छ । रेष्टुरेण्टमा इण्डियन, नेपाली, कन्टिनेन्टल खानाका साथै ४ प्रकारका नयाँ परिकारहरु तथा २५ प्रकारको कफिको स्वाद लिन पाइनेछ । रेष्टुरेण्टले भैरहवा आसपासका कर्पोरेट ग्राहकलाई लक्षित गरी अफिस डेलिभरीको व्यवस्था गरेको सञ्चालक आचार्यले बताए । द ग्राण्ड किचनमा बालबालिकालाई लक्षित गरी प्रत्येक शनिबार बिहानको नास्ता किड्स मेनु रहनेछ भने प्रत्येक शुक्रबार ह्यप्पी आवर लगायतको सुविधाहरु ग्राहकले लिन सक्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij