२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बालिका हिंसाबाट जोगिन यसो गरौं, बेलैमा सजग बनौं

आइतवार , कार्तिक २, २०७७

– देवी काफ्ले
आज दैनिक रुपमा बालिका बलात्कार अनि हत्याका घटनाले सामाजिक सञ्जाल, पत्रपत्रिका तथा मिडियाहरु रंगिएका छन् । दैनिक रुपमा घट्ने यस्ता घटना न्यूनीकरण हुनुको सट्टा झन् बढ्दो किन छ ? आजको यथार्थ  बालबालिका बलात्कार तथा यौनजन्य हिंसामा प्रायजसो आफन्त वा नजिकका ब्यक्तिहरुबाट परेका  छन् । आफ्नो घरपरिवार भित्रका सदस्य, नजिकको छिमेकी, हेरचाह वा संरक्षणको अधिकार पाएका व्यक्ति, शिक्षक आदिबाट हिंसामा परेका हुन्छन् । अनि बालबालिका संरक्षणका लागि भनेर खोलिएका संस्थामा पनि बालिका संस्थाकै प्रमुखबाट बलात्कारको सिकार बनेको घटना सेलाएको छैन् ।
कैलालीमा काकाले भतिजी बलात्कार गरे । पोखरामा दाजुले बहिनी बलात्कार गरे । फेरि कैलालीमा बुवाले छोरी बलात्कार गरे । बैतडीमा शिक्षकले छात्रा बलात्कार गरे । छिमेकीले बलात्कार गरे । दिनहुं बलात्कार अनि बालिका हत्या । अनि अपराधीलाई कारवाही भएको बिरलै पाइन्छ । त्यसैले आफ्ना बालबालिकालाई सकेसम्म एक्लै नछाडौं । यहाँ भरोसा आफन्तकै छैन् अनि पराईको भरोसा कसरी गर्ने ?

बलात्कार अथवा यौनजन्य हिंसामा बालबालिका कसरी पर्छन् ?
वास्तवमा यौनजन्य हिंसा पुरुषबाटै हुन्छ । पुरुषको मनमा विकृति आएपछि उसले सिकार खोज्छ । सायद त्यो बेला उ भित्रको वास्तविक पुरुष मरेको हुन्छ, त्यसैले उ कुकर्म गर्न लाग्छ । अनि उसका सिकार हुन्छन् नाबालक बालबालिका । यहाँ बालकहरु पनि हिंसामा परेका छन् तर घटना बाहिर ल्याइँदैन । जब पुरुषले ब्याड टच गर्छ बच्चालाई तबदेखि नै हिंसा सुरु हुन्छ । काखमा खेलाउने बच्चाका अंगहरु मुसार्ने आदि गर्छ । त्यो बेला बच्चाले असहज मानेता पनि व्यक्त गर्न सक्दैनन् तर उसले ठान्छ कि बच्चाले ईन्जोय गरेको छ ।

बच्न के गर्न सकिन्छ ?
हामी अभिभावकको बानी सुधार्नुपर्छ । हामी सबैलाई सहजै विश्वास गर्छौं । त्यो विश्वासले भित्र भित्र घात गरेको थाहा पाउँदैनौं अथवा पाउन चाहान्नौं । सबैभन्दा पहिला त हामीले बच्चाहरुसंग साथीवत् व्यववहार गर्नुपर्छ ता कि हाम्रा नानीबाबुले आफुलाई असहज लागेका कुराहरु निर्धक्क भन्न सकुन् । जब तपाईं हामी बच्चाको कुरा सुन्न चाहान्नौ तब बच्चा भित्रभित्रै कुण्ठित हुन पुग्छ र बाध्यता बस् अपराध सहेर बसिरहनुपर्ने ठान्छ । फलस्वरुप अपराधीले आफ्नो मनोकांक्षा सहजै पुरा गरेको हुन्छ । अर्को कुरा हामीले बच्चाहरुलाई आफु भन्दा ठुला मान्छेलाई सधैं आदरसम्मान गर्न भन्छौं आज त्यो अर्ति अलि फराकिलो बनाउनुपर्ने भएको छ । अब आफु भन्दा ठुला मान्यजनहरुलाई पनि व्यवहारको आदर गर भनेर सिकाउनु पर्छ । किनकी जति पनि बालबालिका बलात्कार भएका छन् या यौन हिंसामा परेका छन् आफु भन्दा ठुलाबाटै भएका छन् ।

अब विशेष ख्याल गर्नुपर्ने कुरा–तपाईंको घरमा प्रायजसो बिना काम नै आइरहने र बच्चासंग सहजै नजिक हुने, बच्चालाई नै बढी फोकस गर्ने व्यक्तिप्रति पनि सजग बन्नुस् । कहीं कतै उसको खराब दृष्टि तपाईंको बच्चामाथि त परेको छैन् ? आफ्ना बालबालिकालाई सकेसम्म एकान्त ठाउँतिर खेल्न पनि नपठाउनुस् र एकान्त बाटो हिड्नुपर्ने छ भने एक्लै नपठाउनुस् ।
यदी होम ट्युशनको लागि शिक्षक राख्नु भएको छ भने बन्द कोठामा होइन तपाईंको नजर पुग्ने ठाउँमा पढाउन लगाउनुस् । ताकी एक्लोपनको फाइदा उठाउन नसकोस् । अब आफ्ना बच्चालाई संगै राखेर मान्छेले उनीहरुलाई शरीरको कुन ठाउँमा छुँदा अथवा शरीर सुमसुम्याउदा के गर्ने भन्ने कुरा सम्झाउनुस् । कसैले उनको अंग सुमसुम्यायो अथवा गलत तरिकाले छोयो भने चिच्याउन सिकाउनुस् । केही मात्रामा यौनजन्य हिंसाबाट बच्नेछन् ।

अपराधी कसरी चिन्ने ?

अपराधी त जो कोही पनि हुन सक्छ । उ छुट्टै  अथवा अलग त हँुदैन । मानिस नै हो । अनि अपराधीले एकै पटकमा यौनजन्य हिंसा गर्दैन् । उसले जब मनमा ठान्छ कि यो बच्चाको सिकार गर्नु छ भनेर तबदेखि नै उसले वरपरको वातावरण नियालेको हुन्छ । बच्चा कति बेला कुन अवस्थामा एक्लो हुन्छ र आफ्नो वासना पूरा गर्ने हो त्यसका लागि घरको वातावरण पनि नियाली रहेको हुन्छ । जब ऐन मौका आउँछ उसले झम्टिन्छ । यदि तपाईको वरपर बलात्कार लगायत यौनजन्य घटना घटिसकेको छ र अपराधीलाई गाउँमै मिलिभगत गरी चोख्याइएको छ भने ख्याल गर्नुस् त्यो शिकारी अर्को शिकारको दाउमा रहेको हुन्छ । यस्तै शिकारीको सिकार बनिन् बझाङकि सम्झना ।अब आफ्ना बालबच्चालाई खेल्न पठाउँदा या घरबाहिर पठाउंनु परेमा सकेसम्म एक्लै नपठाउनुस् । बच्चाहरु स्वभावैले मिठा खानेकुराहरु खोज्छन् । त्यसैले सकिन्छ भने समय समयमा थोरै भए पनि आफुहरुले नै खुवाउनुहोस् ताकी बदमासले दिएको चकलेटको पछि उनीहरु नलागुन् ।

भर्खरै कोटेश्वरमा एकजना मान्छेले सानी सात वर्षकी नानीलाई हातमा चकलेट र चाउचाउ राखिदिएर बलात्कारको प्यास गरेको समाचार आएको छ । यति गर्नु भयो भने केही हदसम्म हाम्रा नानीबाबुलाई यौनजन्य हिंसाबाट बचाउन सकिन्छ । अपराधी हाम्रो आँखा अगाडि हुन्छ तर हामीले न त चिन्न सक्छौं न त शंका नै गर्छौं त्यसैले अपराधीले सहजै आफ्नो कुण्ठा पोखेको हुन्छ । आफन्तबाट भएका यस्ता हिंसामा बच्चाले बताएका कुरा नपत्याइदिंदा बच्चा चुप बस्न बाध्य हुन्छ । अपराधी विस्तारै तपाईं हाम्रो नजिक आइरहेको छ बेलैमा सजग बनौं । समाजमा बालहिंसा सम्बन्धि छलफल र बहस चलाऔं । सबैलाइ सचेत बनाऔं ।