२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एकतामा जोड दिदैं माओवादी केन्द्र सैनामैनाले मनायो जनयुद्ध दिवस

आइतवार , फाल्गुण १, २०७८

सैनामैना, १ फागुन ।
२७ औं जनयुद्ध दिवसलाई नेकपा (माओवादी केन्द्र) सैनामैनाले विशेष कार्यक्रम गरी मनाएको छ । सहिदलाई स्मरण गर्दै देशभरी माओवादी घटकहरुले अलग अलग कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन् ।

सैनामैनाको मुर्गियामा भएको कार्यक्रम माओवादी केन्द्र सैनामैनाका अध्यक्ष मान (नारायण) बहादुर महतको अध्यक्षता, माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भोला बस्यालको प्रमुख आतिथ्यता, वाईसियल सैनामैना नगर अध्यक्ष गोविन्द खरेल लगायतको आतिथ्यतामा सैनामैनाका विभिन्न वडामा कार्यक्रम भएको हो ।

सोही अवसरमा बोल्दै माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भोला बस्यालले सहिदलाई श्रद्धासुमन व्यक्त गर्दै सहिदहरुको योगदानले नै गणतन्त्र आएको दावी गरेका छन ।। सुरुमै एकै ठाउँमा जनयुद्ध दिवस मनाउन नसकेको भन्दै खिन्नता प्रकट गरेका छन् । ‘मेरो इच्छा थियो विभाजिन माओवादीलाई एउटै केन्दमा ल्याएर मनाउने र एकतासहित जनयुद्ध दिवस मनाउने,’ उनले भने, ‘धेरै अगाडि पनि पुगेका थियौं तर केही तयारीको काम बाकी रह्यो, सम्भव भएन,’ बस्यालले भने ।

त्यस्तै, कार्यक्रममा माओवादी केन्द्र सैनामैनाका अध्यक्ष नारायण महतले विभाजित माओवादीलाई एक ठाउँमा ल्याउने पहिलो योजना रहेको सुनाउदै एकताको जग बसाल्न यात्रा सुरु गरिसकेको बताए । सहिदहरुले बगाएको पसिना र रगतलाई खेर फाल्न नदिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न माओवादी केन्द्र सधै लागी पर्ने कुरा उल्लेख गरे ।

उनले संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दा माओवादीको भएको भन्दै रक्षा कार्यान्वयन गर्ने दायित्व पनि आफ्नै भएको बताए । ‘यो उपलब्धी माओवादी आन्दोलनको हो, ’उनले भने, ‘त्यसैले संविधानको कार्यान्वयनका लागि पनि सबै माओवादी एक हुनुपर्छ ।’ माओवादीबाटै जनवादी र समाजवादी व्यवस्थामा पुग्ने महतको भनाइ  छ। फरक प्रसंगमा बोल्दै उनले एमसीसी देशका लागि हित विपरित भएको भन्दै सदन र सडक दुवैबाट यसलाई बहिष्कार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द्रको सहायक संगठन वाईसियल, महिला संघ, नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम माओवादी केन्द्र सैनामैनाका उपाध्यक्ष राजेन्द्र घिमिरे तथा नगर सचिव दिपक भण्डारीले सञ्चालन गरेका थिए ।