
सोमवार , फाल्गुण २, २०७८
भैरहवा, २ फागुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिको बैठक सोमबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा सहभागी उपसमितिका सदस्यहरुले पर्यटन व्यवसायीले भोग्नुपरेका समस्या, सहुलियत पुर्नकर्जा आगामी दुई वर्षसम्म पाउनुपर्ने, बैंक ब्याजमा तथा साँवा भुक्तानीमा समय सीमा थप हुनुपर्ने लगायतका समस्या, कोरोनाले पारेको प्रभावका कारण सहज रुपमा व्यवसाय गर्न अप्ठ्यारो भएको विषयहरु समाधान गर्नुपर्ने बताएका थिए ।
त्यस्तै पर्यटनको विकासको लागि छिटो भन्दा भन्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हुनुपर्ने, समयक्रम अनुसार आन्तरिकतर्फको पार्किङ्ग परिसर र प्रस्थान कक्षहरु विस्तार गरिनुपर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
छलफलमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले संघले निरन्तर रुपमा पर्यटन उद्योगको समस्या समाधानमा पहल गरिरहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, प्रदेश उपाध्यक्ष दीपक पौडेलले पर्यटन उद्योगीहरुको समस्या समाधानको लागि प्रदेश उद्योग वाणिज्य संघ तयार रहेको बताए । पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य संजय बजिमयले छलफलमा उठेका बिषयवस्तुहरु समाधानको लागि सम्बन्धित निकायहरुमा संघले पहल गर्ने बताए ।
बैठकको सहजीकरण संघका महासचिव विजय पाण्डे गरेका थिए । बैठकमा सिद्धार्थ होटल एशोसियनका पदाधिकारी, संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij