
शुक्रवार , फाल्गुण ६, २०७८
भैरहवा, ६ फागुन ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) कम्पनीको जहाज आएसंगै शुक्रबार क्यालिब्रेशन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरु भएको छ । थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्याह्नबाट क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय रुपन्देहीका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले बताए । उनले भने, ‘प्रत्येक दिन फागुन १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी साढे ५ बजेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ, यो समयको बीचमा आन्तरिक उडान बन्द रहनेछ । ’
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक तथा आईसीबी–टूका व्यवस्थापक इञ्जिनियर प्रविन न्यौपानेले विमानस्थलको भौतिक निर्माण कार्यसम्पन्न भइ उपकरणहरु जडान भइसकेको बताए । उनले क्यालिब्रेशनको फ्लाइट ७ देखि १० दिनसम्म चल्ने जानकारी दिए । ग्राउण्ड, टावर, सञ्चार र भवनमा जडान गरिएका उपकरणले काम गरे/नगरेको जाँच गर्न यान्त्रिक परीक्षण उडान सुरु गरिएको न्यौपानेले बताए ।
विमानस्थलको भौतिक निर्माण आयोजना (आईसीबी–वान) का प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले नाकाबन्दी, आन्दोलन, निर्माण सामग्रीको अभाव, कोभिड–१९ लगायत विभिन्न कारणले तोकिएको समयमा सोचेअनुरुप काम हुन नसकेको बताए । उनले भौतिक निर्माण तथा उपकरण जडानका सम्पूर्ण काम सम्पन्न भइसकेको बताए ।
‘क्यालिब्रेशन फ्लाइटका लागि थाइल्याण्डबाट विशेष विमानले आजदेखि काम सुरु गरेको छ, उनले भने, ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तयार गरेको मापदण्ड पुरा गर्नुपर्नेछ ।’ सुरुवाती चरणमा विमानस्थल निर्माण आयोजनाले विभिन्न समस्या झेलेको उनले बताए । यद्यपि सबै सरोकारवालाहरुको आपसी सहकार्यले आयोजना सम्पन्न गर्न सफल भएको उनले बताए ।
एडिबीको सहयोगमा निर्माण गरिएको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यो नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij