
शुक्रवार , फाल्गुण ६, २०७८
सैनामैना, ६ फागुन ।
अमेरिकी सहयोग अनुदान (एमसीसी) लाई लिएर रुपन्देहीको सैनामैनामा पनि विरोध सुरु भएको छ । शुक्रबार सैनामैना वडा नम्बर ४ स्थित मुर्गियामा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी पार्टी), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी लगायत पार्टीले संयुक्त रुपमा एमसीसीको विरोधमा आन्दोलन गरेको माओवादी केन्द्र सैनामैना मुद्दा विभाग प्रमुख शान्ति बरालले जानकारी दिइन् ।
एमसीसी देश र जनताको हितविपरीत भएको भन्दै अमेरिकी साम्राज्यवादलाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने नेताहरुले अडान राखेका छन् । सोही कार्यक्रममा बोल्दै माओवादी केन्द सैनामैना अध्यक्ष मान (नारायण) बहादुर महतले सहयोग गर्ने नाममा विभिन्न राष्ट्रघाती कदम चालिएको भन्दै यसबाट नेपाल र नेपालीको अस्तित्व मेटाउन खोजिएको आरोप लगाए । विभिन्न राष्ट्रघाती बुंदाहरु राखेर एमसीसी संसद्बाट पास गर्ने प्रयास भएकोले त्यो नेपालीको हितमा नभएको ठोकुवा समेत महतले गरे ।
पछिल्ला केही तत्वले नेपाललाई युद्धको मैदान बनाउने योजना भएकाले एमसीसी पास गर्न खोजिएको भन्दै यसको विरुद्धमा माओवादी केन्द्रले सधै प्रतिवाद गर्ने र आन्दोलन चर्काउने उनले चेतावनी दिए । ‘नेपाली कुनै पनि मुल्य चुकाउन तयार छ, तर एमसीसी पास हुने पक्षमा छैन, ’महतले भने ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीसैनामैना नगर अध्यक्ष देवराज पौडेल, राष्ट्रिय जनमोर्चाका नेता कृष्ण बम मल्ल, माओवादी केन्द्रका नेता रामनाथ हरिजनले एमसीसी देशको राष्ट्रघाती सहयोग भएको भन्दै कुनै पनि हालतमा संसदबाट पारित नगर्नुपर्नेमा जोड दिए ।
लाल बहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भोला बस्याल, रुपन्देही जिल्ला सल्लाहकार हरिहर भट्टराई, सैनामैना नगर उपाध्यक्ष राजेन्द्र घिमिरे, नगर सचिव दिपक भण्डारी, किसान संघका जिल्ला सचिव जयश्वर रेग्मी, वाईसियल सैनामैना नगर अध्यक्ष गोविन्द खरेल, माओवादी केन्द्र सैनामैना वडा नम्बर ४ का सचिव सुरज भट्टराई लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij