२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

पोखराको पर्यटन प्रवद्र्धन गर्ने अभियान बुटवलमा 

सोमवार , फाल्गुण ९, २०७८

बुटवल, ९ फागुन ।
पश्चिमाञ्चल होटल संघ पोखराले दुई दशकदेखि सुरु गरेको ‘जाउँ है पोखरा’ यो वर्ष पनि निरन्तरता दिएको छ । अभियानको टोलीले सोमबार बुटवलमा सरोकारवालासंग अन्तरक्रिया गरेको छ । कोभिड–१९ को संक्रमणका कारण जटिल समस्यामा परेको पर्यटन क्षेत्र उकास्नका लागि अभियान महत्वपूर्ण हुने सहभागीहरुले बताए । 

बुटवलबाट सुरु भएको अभियान हेटौडा, विरगंज, चितवन लगायत शहरमा फागुन ८ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने संयोजक विकल तुलाचनले बताए । पोखरामा भएका नयाँनयाँ गन्तव्यहरुको खोजी भएको र त्यसबारे समेत जानकारी दिने काम अभियान सहयोगसिद्घ हुने उनले बताए । पछिल्लो समय नेपालका अधिकांश मुख्य शहरसंग पोखरा हवाईमार्गबाट जोडिएको भन्दै उनले यसबाट पर्यटकहरुलाई फाइदा मिल्ने बताए । 

बन्जी, प्याराग्लाईडिङ, हाईकिङ, साईक्लिङ, केबलकार लगायत साहसिक खेलहरुको कारण पनि पोखरा पर्यटकको आकर्षक बन्न सफल भएको उनले बताए । फेवा नव वर्ष महोत्सवमा आमन्त्रण गर्ने रुपमा आफूहरुले अभियान चलाएको उनले बताए । 

लुम्बिनी प्रदेशका पर्यटन सचिव महेश न्यौपानेले ‘सेभ द कल्चर, सेल द कल्चर’ लाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढेको बताए । समुदायका मानिसहरुलाई अग्रसर गराएर यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने गरी कल्चरल भिलेज अवधारणा ल्याउँदा सफलता मिल्ने भन्दै यो धेरै महत्वपूर्ण हुने बताए । 

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेचर, कल्चर र एडभन्चरका बारेमा जानकारी दिने काम २ दशकदेखि गर्दै आएको भन्दै प्रविधिमैत्री पर्यटन विकासमा अघि बढेको बताए । आन्तरिक पर्यटक नै दिगो पर्यटक भएको भन्दै अहिले ३ प्रतिशतबाट ५० प्रतिशत पुगेको उनले बताए । संस्थागत रुपमा होटल संघले ३० प्रतिशतसम्म छुटका साथै थप अन्य छुटको व्यवस्था गरिरहेको उनले बताए । पर्यटक आदानप्रदान गर्ने रुपमा अभियान सञ्चालन भएको उनले बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पोखरा पर्यटन विकासमा अन्य क्षेत्रलाई सिक्ने र सिकाउने रुपमा रहेको बताए । लुम्बिनी क्षेत्रलाई समेटेर अघि बढ्न सके मात्र समग्र पर्यटन क्षेत्र पूरा हुने उनले बताए । 

नेपाल होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले पोखरा व्यवसायीहरुबाट चलाइएको अभियान निकै उदाहरणीय भएको भन्दै देशका अन्य संघहरु अघि बढ्नुपर्ने सुझाव दिए । कोभिडबाट धरासायी भएको पर्यटन क्षेत्र उकास्न सरकारले पुर्नकर्जा १ वर्षको घोषणा भए पनि त्यो सान्दर्भिक नभएको दुखेसो गरे । कम्तिमा ५ वर्षको अवधि बढाउनुपर्ने उनले बताए । व्यवसायीहरुको पर्यटकप्रति गरिने व्यवहार, सत्कारका विषयमा समेत ध्यान दिनुपर्ने बताए । सरकारले आन्तरिक पर्यटनको बढाउन नीतिगत रुपमा नै अघि बढाउनुपर्ने सुझाव दिए । 

नाटा लुम्बिनीका अध्यक्ष सागर अधिकारी, होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विप्लव पौडल, भरतराज पराजुली, हरि शर्मा गैरे, बच्चुराम तिवारी, संघका महासचिव राजेन्द्र ढकालले पोखरा, बुटवल र चितवनलाई एउटा गोल्डेन त्रिकोणका रुपमा विकास गर्नुपर्ने सुझाव दिए ।