२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सैनामैनामा एमसीसीविरुद्ध विरोध सभा

बिहिवार , फाल्गुण १२, २०७८

सैनामैना, १२ फागुन ।
अमेरिकी सहयोग अनुदान एमसीसीलाई लिएर रुपन्देहीको सैनामैनामा पनि विरोध कार्यक्रम चलिरहेको छ । बिहीबार सैनामैना वडा नम्बर ६, स्थित कलौनीमा नेकपा (माओवादी केन्द्र) सैनामैना नगर समिति, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, जसपा लगायत पार्टिले संयुक्त रुपमा एमसीसीको विरुद्धमा आन्दोलन भएको माओवादी केन्द्र सैनामैना मुद्दा विभाग प्रमुख शान्ति बरालले जानकारी दिइन् । एमसीसी देश र जनताको हितविपरीत भएको भन्दै अमेरिकी साम्राज्यवादलाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने अडान समेत उनले राखिन् ।

सोही कार्यक्रममा बोल्दै माओवादी केन्द सैनामैना अध्यक्ष मान (नारायण)बहादुर महतले सहयोग गर्ने नाममा विभिन्न राष्ट्रघाती कदम चालिएको भन्दै यसबाट नेपाल र नेपालीको अस्तित्व मेटाउन खोजिएको आरोप लगाए । विभिन्न राष्ट्रघाती बुंदाहरु राखेर एमसीसी संसद्बाट पास गर्ने प्रयास भएकोले त्यो नेपालीको हितमा नभएको ठोकुवा समेत महतले गरे ।

पछिल्ला केही तत्वले नेपाललाई युद्धको मैदान बनाउने योजना भएकाले एमसीसी पास गर्न खोजिएको भन्दै यसकोविरुद्धमा माओवादी केन्द्रले सधै प्रतिवाद गर्ने र आन्दोलन चर्काउने उनले चेतावनी दिए । नेपाली कुनै पनि मुल्य चुकाउन तयार छ तर एमसीसी पास हुने पक्षमा नभएको कुरा समेत अध्यक्ष महतले उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)सैनामैना नगर अध्यक्ष देवराज पौडेल, नेकपा क्रान्तिकारी सैनामैना नगर संयोजक एकदेव पौडेल, जनमोर्चा सैनामैना अध्यक्ष लाल प्रसाद क्षेत्री लगायतले एमसीसी देशको राष्ट्रघाती सहयोग भएको भन्दै कुनै पनि हालतमा संसद्बाट पास नगर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा माओवादी केन्द जिल्ला सल्लाहकार हरिहर भट्टराई, सैनामैना नगर उपाध्यक्ष राजेन्द्र घिमिरे, पार्टीका सैनामैना नगर सचिव दिपक भण्डारी, वाइसीयल सैनामैना नगर अध्यक्ष गोविन्द खरेल, माओवादी केन्द्र सैनामैना मुद्दा विभाग समन्वय समितिका प्रमुख शान्ति बराल लगायतको सहभागिता थियो । माओवादी केन्द्रका युवा नेता रोमनाथ न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।