२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राष्ट्रिय युवा संघ सैनामैनामा नयाँ नेतृत्व

आइतवार , फाल्गुण १५, २०७८

सैनामैना, १५ फागुन ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सैनामना नगर कमिटीमा नयाँ नेतृत्व आएको छ । संघको प्रथम अधिवेशनले गोपाल खड्काको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको आयोजकले जनाएको छ ।
कमिटीको उपाध्यक्षमा केशव पाण्डे, बादल चन्द ठकुरी, राजु श्रेष्ठ, बन्दना न्यौपाने, रोहित खनाल, सचिवमा सुमन घिमिरे, उपसचिवमा सागर अधिकारी, विमल चौधरी, शिव श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला घर्ती रहेका छन् ।

सोही अवसरमा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज खिमलाल भट्टराईले एमालेलाई बलियो बनाउने मुख्य खम्बा युवा संघ भएको बताए । पार्टीलाई चलायमान र सुदृढ बनाउनका लागि युवा संघको भूमिका अतुलनीय रहकाले सक्षम नेतृत्व आउन जरुरी रहेको उनले बताए । युवा संघले व्यक्तित्व विकास मात्र नभई नेतृत्व विकास समेत गर्ने हुँदासंघमा युवाहरु बढी आकर्षित भएको उनले तर्क गरे ।

राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक समेत रहेका नेता भट्टराईले देश र जनताको जिम्मा लिने पार्टी एमालेबाहेक अरु नभएको ठोकुवा गरे । परिर्वतनकारी शक्तिका रुपमा एमाले उदय भएको जिकिर गर्दै उनले क्रान्तिका लागी आफनो पार्टी मैदानमा खडा भएको बताए ।

पाँच दलीय परमादेश सरकारले देशलाई संकटको भुमरीमा पारेको उनको आरोप थियो । वर्तमान सरकारले एमसीसीको बारेमा मुख खोल्नेबित्तिकै यसबारे एमालेले आधिकारिक धारणा बाहिर ल्याउने उनले बताए ।

02.jpg

त्यस्तै एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज भुमिश्वर ढकालले सैनामैना नगर युवा संघको पकड क्षेत्र भएको बताए । युवा संघमा आउने हजारौँ युवाहरु क्षमतावान भएको दावी गर्दै ढकालले युवा संघबाट नेता जन्मिने बताए । लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गरी मुलुकलाई आर्थिक सम्वृद्धिको दिशामा लैजान युवाहरुको सहभागिता अपरिहार्य रहने बताए । उनले देशको निकास एमालेले मात्र दिन सक्ने भएकाले आगामी स्थानीय तहको चुनावमा फेरि पनि एमालेको वर्चस्व कायम राख्न एकढिक्का भएर अघि बढ्नुपर्ने दिन आएको बताए ।

team photo.jpg

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज सुमन पुरी, रुपन्देही जिल्ला इञ्चार्ज नकुल शाही, जिल्ला अध्यक्ष मनोज गौचन लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश भएका छन् ।युवा संघ सैनामैना नगर कमिटीका अध्यक्ष प्रेम थापाको अध्यक्षता तथा एमालेका युवा नेता दिपक न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।