
बुधवार , फाल्गुण १८, २०७८
रुपन्देही, १८ फागुन ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले राज्यको सम्पत्ती दोहन गर्नेहरुलाई चिरफार गरी बाहिर ल्याउने काम पत्रकारहरुको भएको बताएका छन् । प्रमुख शेरचनले आज (बिहिबार)नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै यथार्थ बुझेर गलत गर्नेहरुको कर्तुतलाई जनतासामु ल्याउनुपर्ने धर्म पत्रकारहरुको भएको उल्लेख गरेका हुन् ।
परम्परागत विचार र सामान्ती संस्कारलाई अवलम्बन गर्दा समाजमा जातीय विभेद उत्पन्न भएकोले पत्रकारहरुको पनि फरक संघ स्थापना गर्न बाध्य भएको तर्क समेत उनले दिए । जब समानताको हक प्राप्त हुन्छ, तबबाट पत्रकारहरु भएका संघहरु एक हुनुपर्नेमा जोड उनले दिए । उनले देशभरी रहेका पत्रकारहरु जब एकढिक्का हुन्छन कुनै पनि शासकहरुले दमन र शोषण गर्न नसक्ने ठोकुवा गरे । सबै राजनीतिक दलहरुले पुरातन सोच र विचारलाई हटाएर आम जनताको पक्षमा काम गर्नुपर्ने बताए ।
प्रमुख शेरचनले भने, ‘हामी सबै नेपाली हो, हिमाल, पहाड तराईमा बस्ने भनेर विभेद गर्न पाइँदैन, हावापानी फरक होला तर जनता भनेको सबै नेपाली नै हो । ’विभेदरहित मुल्यनिष्ठ समाज निर्माण गर्न हामी सबै एक हुँ भन्न भावना जागृत हुनुपर्ने उनले बताए । राज्यको चौथो अंग पत्रकार भएका कारण उनीहरुको हकहितका लागी राज्यबाटै चासो र संरक्षण हुनुपर्ने प्रमुख शेरचनले बताए ।
संघीय फोनज अध्यक्ष डण्ड गुरुङ र गजुर्धन राईले बोल्दै समाज परिर्वतनको संम्वाहक पत्रकारिता जंगत भएको तर्क गरेका छन् । युद्ध होस या समाजका हरेक गतिविधि जो अग्रपंक्तिमा रहने भनेकै पत्रकार भएको बताउँदै सरकार श्रमजिवि पत्रकारको हितमा लाग्नुपर्ने माग राखे ।
रुपन्देहीको सैनामैना वडा नम्बर ३, उचडिहवा स्थित थारु होमस्टेमा भएको कार्यक्रम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रमुख मिलन गाहाको अध्यक्षतामा सम्पन्न भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij