२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्री शर्माको ११ बुँदे निर्देशन

बुधवार , फाल्गुण १८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १८ फागुन ।
    अर्थ मन्त्रालयले धितो बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखहरूलाई स्वागत कार्यक्रम गरी बधाई दिदै पुँजी बजार सुधारका लागि विभिन्न निर्देशन समेत दिएको छ । मन्त्रालयले खुल्ला प्रतिष्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा कृष्णबहादुर कार्कीलाई नियुक्त गरेको थियो ।

    बुधबार अध्यक्ष हमाल र सिइओ कार्कीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका सुधारका लागि दुवै निकायलाई विभिन्न ११ बुँदे निर्देशन दिएका छन् । खुल्ला प्रतिष्पर्धाबाट छनौट भएर आएका नयाँ नेतृत्वले कसैको दबाब र प्रभावमा परेर काम नगर्न उनले निर्देशन दिए । उनले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजी बजारबाट आउने वातावरण सृजना गर्न पनि निर्देशन दिए । पुँजी बजारको समस्या समाधान गर्ने र सर्वसाधारणको लगानीको सुरक्षा गर्ने मुख्य उदेश्यले दुवै निकायमा नयाँ नेतृत्व छनौट गरेको उनले प्रष्ट पारे ।

    सो अवसरमा अर्थमन्त्री शर्माले पूँजी बजारमा लगानी भएको पैसा ठूला परियोजनामा आउने वातावरण सृजना गर्नुपर्ने समेत बताए । ‘जनतामा भएको पैसा पूँजी बजारमा त आयो । अब यो पैसालाई पूँजी निर्माणमा लगाउन सक्नुपर्यो । ठूला परियोजनामा पुँजी लगानी गर्ने बिषयमा तपाईहरू (धितोबोर्ड र नेप्सेका अधिकारी) ले ध्यान दिनुपर्छ’, उनले भने, ‘राष्ट्रिय महत्वका आयोजनामा कसरी लगानी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु अहिलेको पुँजी बजारको आवश्यकता हो ।’

    साथै उनले पूँजी बजारमा राजनीति नगर्न पनि आग्रह गरेका छन् । ‘पुँजी बजारमा राजनीति गर्नु हुँदैन । यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ’ उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन ।’ मन्त्री शर्माले कार्यभार सम्हाल्ने बित्तिकै पुँजी बजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा नयाँ नेतृत्व चयन गरेको बताए । नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्याउने उनले विश्वास व्यक्त गरे ।

    उनले इन्साइडर टे«डिङ, पम्प एड डम्प र सर्कुलर कारोबार जस्ता विकृत क्रियाकलाप आउँदो दिनमा पुँजी बजारमा नदेखिन गरी काम गर्न निर्देशन दिए । ‘म मन्त्रालयमा आउनासाथ सर्कुलर कारोबार, पम्प एड डम्प र इन्साइडर टे«डिङ जस्ता विकृत कारोबारका बिषयमा कसैले आधिकारिक रूपमा केही भनेको थिएन । म आएपछि यो विकृतिबारे बोलिएको र छानबिन गरी कारवाहीको दायरामा ल्याइएको छ’ उनले भने, ‘त्यसैले आउँदा दिनमा पनि यस्ता विकृत कारोबार मान्य हुँदैन ।’
    उनले साना लगानीकर्ताको पुँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी

    बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिएका छन् ।

    कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए । त्यस्तै राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिष्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडी बढाउन निर्देशन दिए ।

    धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले बित्तिय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्ताहरूलाई सु–सुचित गर्ने बताए । उनले साक्षरताकै अभावमा लगानीकर्ताहरू हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताए । त्यस्तै ठूलो ‘मार्केट मेकर’ को अभाव देखिएको उनको भनाइ थियो । नेप्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले लगानीकर्ताको गुनासो नआउने गरी काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे ।

    अर्थमन्त्री शर्माले दिएका मुख्य ११ निर्देशनहरू

    १) कोभिड–१९ को महामारीबीच पुँजीबजारलाई लगानीकर्तामैत्री बनाउने गरी नेपालको पुँजी बजारलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छिमेकी मुलुकहरू भारत, चीन, पाकिस्तान, बंगलादेश, अमेरिका, बेलायतमा कसरी पुँजी बजार सञ्चालन भएको छ भन्ने अध्ययन गर्ने । 

    २) पुँजी बजारबाट कसरी पुँजी निर्माण गर्न सक्छौं ? कसरी लगानीकर्तालाई उच्चतम प्रतिफल प्रदान गर्न सक्छौं र राष्ट्रिय महत्वका आयोजनाहरूमा आवश्यक लगानी कसरी व्यवस्था गर्न सक्छौं भनेर अध्ययन गर्नुपर्नेछ । ठूला पूर्वाधार, उत्पादन, पुँजी निर्माणका लागि पुँजी संकलन गर्ने व्यवस्था मिलाउने ।

    ३) २० कात्तिक ०७५ देखि नयाँ टिएमएस भित्रिएको छ । यसले केही सहजता ल्याए पनि अझै प्रयोगकर्तामैत्री छैन भन्ने गुनासो छ । यस्ता गुनासो समाधान गर्नुपर्नेछ ।

    ४) लगानीकर्ता समानस्तरका नहुने हुँदा साना कम्पनी, स्टार्टअप कम्पनीहरूलाई पनि पुँजी बजारमा प्रवेश गर्ने बाटो खुल्ला हुनुपर्छ । विशेष गरी एसएमई तथा ओटिसी बजारको विकास गरी भेन्चर क्यापिटल समेतको आधारमा साना कम्पनीहरूको लागि आवश्यक बजारको विकास गर्नुपर्छ ।

    ५) सुचीकरणमा आउन नसकेका तथा आइपिओको लागि योग्य भइ नसकेको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूको सेयरलाई ओटिसी बजार विकास गरी कारोबार गर्ने व्यवस्था मिलाउने । आउँदा दिनमा इन्ट्रा डे कारोबार र सर्ट सेलिङ गर्न मिल्ने गरी प्रणालीको सुधार गर्ने ।

    ६) अटोमेसन अक्सन सुरु गर्ने । अक्सन बजार लिलामीबाट सुरुमा विक्री हुन नसकेका सेयर र खरिद विक्री हुन नसकेका कारोबारको देशभर सबै लगानीकर्ताले खरिद गर्न पाउने व्यवस्था मिलाउने ।

    ७) ब्रोकरलाई सक्षम बनाउन ‘सब–ब्रोकर’ मोडल तयार गर्ने । डेरिभेटिभ्स औजार बनाई कारोबार गर्ने । कमोटिभी एक्सचेन्ज सम्बन्धी ऐनलाई अगाडी बढाउने । यो ऐन बनेको ४ वर्ष भयो ।

    ८) अर्थतन्त्रको प्रतिनिधित्व गर्ने बैज्ञानिक तवरले निर्माण गरिएको नयाँ परिसूचक तयार गर्ने । भारतमा बम्बई स्टक एक्सचेन्ज, अमारिकाको डाउजोनस तथा नासडाक जस्ता परिसूचक निर्माण भएका छन् । त्यसबाट शिक्षा लिने । मार्केट क्यापका आधारमा लार्ज क्याप इण्डेक्स, मिड क्याप इण्डेक्स र स्मल क्याप इण्डेक्स बनाई बजार परिसूचकलाई थप व्यवस्थित गर्ने ।

    ९) उत्पादनमूलक धेरै कम्पनीहरू सेयर मार्केट भन्दा बाहिर रहेकाले सेयर बजारमा ल्याउन बुक बिल्डिङ प्रणाली लागू गर्ने । इण्डेक्स फण्ड तथा टे«डेट फाण्डको सुुरुवात गर्ने । 

    १०) ब्रोकरलाई मार्जिन ल्याण्डिङ दिने कुरा लागू गर्ने । ब्रोकर कम्पनी तथा मर्चेन्ट बैंकिङ संस्थाहरू मार्फत मार्जिन ल्याण्डिङ प्रकृया अगाडी बढाउने ।

    ११) सर्कुलर कारोबार, पम्प एड डम्प र इनसाइडर टे«डिङ रोक्ने । पुँजी बजार सम्बन्धी जनचेतना, पुँजी बजार साक्षरताको संचालन, तालिम केन्द्रको स्थापना गर्ने ।