
बुधवार , फाल्गुण १८, २०७८
भैरहवा, १८ फागुन ।
गहुँ जोन सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार रुपन्देहीको मर्चवारमा सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ रुपन्देहीको आयोजनामा कोटहीमाई गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको हो ।
यसै आर्थिक वर्षदेखि मर्चवार क्षेत्र अन्तर्गत कोटहीमाई, मर्चवारी र समरीमाई गरी ३ वटा गाउँपालिकाका १० वटा वडामा गहुँ जोन सञ्चालन हुन लागेको परियोजनाका प्रमुख वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले बताए । कार्यक्रममा अधिकृत काफ्लेले गहुँजोन कार्यक्रमको उद्देश्य तथा ढाँचाका बारेमा विस्तृत विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले मर्चवारबासीको सपना पुरा गराउन पहल गरिरहेको बताए । उनले व्यवसायिक खेती र चक्लाबन्दीमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा गहुँ जोन सञ्चालक समन्वय समिति संयोजक जगन्नाथ प्रसाद कुर्मी, कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धिताल, मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, जागेश्वर कान्दु ,३ वटै पालिकाका कृषि शाखा प्रमुख लगायत वडाअध्यक्ष, सदस्य तथा कृषकहरुले आ–आफ्ना भनाइहरु राखेका थिए । कृषि अधिकृत सुमन खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच जगन्नाथ प्रसाद कुर्मीको संयोजकत्वमा गहुँ जोन सञ्चालक समन्वय समिति गठन गरिएको छ । जसको सदस्यहरुमा अवधेश बरई, मति कुर्मी, कृष्ण चौधरी, शिवनारायण यादव, रुखमणी पाल, राम नरेश मुराव, सुनिता कलवार र दुर्गाप्रसाद चौधरी रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij