
शुक्रवार , फाल्गुण २७, २०७८
भैरहवा, २७ फागुन ।
नेपाल जनता पार्टीले ‘एक घर एक नोट अभियान’ सुरु गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सामाजिक कार्यलाई निरन्तरता दिन उक्त अभियान सुरु हुने पार्टीले जनाएको छ ।
नेपाल जनता पार्टी जिल्ला कार्यसमिति, रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी पार्टीको अभियानबारे जानकारी गराएको छ । पार्टीका रुपन्देही जिल्ला अध्यक्ष चन्द्रभान तिवारीले जिल्लाका हरेक गाउँ/टोलमा पुगेर जनतासंग नोट र भोट दुवै माग्ने बताए । उनले जाती, सम्प्रदाय अथवा लिंगको आधारमा कुनै भेदभाव सम्पूर्ण नागरिकलाई राजनीतिक एवं धार्मिक न्याय, समान अवसर तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्दै नेपाललाई संघीय लोकतान्त्रिक हिन्दू राष्ट्रको रुपमा विकास गर्नु पार्टीको मूल उद्देश्य रहेको बताए ।
उनले जनताले मत दिएर पठाएका पार्टीले इमान्दारीपूर्वक देश र जनताको पक्षमा काम गर्न नसकेकोले त्यसको विकल्पमा नेपाल जनता पार्टीको स्थापना भएको बताए । अध्यक्ष तिवारीले जनताको माग बिना केही नेताको स्वार्थमा नेपालमा धर्मनिरपेक्षता लादिएको आरोप लगाए । उनले भने, ‘मुलुकमा बिना आवश्यकता धर्मनिरपेक्षता ल्याइयो, कसको इसारामा ल्याइयो ।’
उनले पार्टीले आफ्नै चुनाव चिन्हबाट निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउनुपर्ने माग गरे । पार्टी संगठन विस्तार तथा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको तिवारीको भनाइ थियो ।
पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष लालमन साहले २०६२ सालमा स्थापना भए पनि अहिलेसम्म सक्रिय नरहेको कारण अब पार्टी सशक्त रुपमा अघि बढ्ने बताए । उनले दिनप्रतिदिन पार्टीप्रति आकर्षण बढ्दै गएको दावी गरे ।
नेपाल जनता पार्टीका रुपन्देही अध्यक्ष चन्द्रभान तिवारीको अध्यक्षता तथा केन्द्रीय कार्यकारिणी महामन्त्री दिपेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश उपाध्यक्ष शत्रुधन पण्डित, राघवेन्द्र तिवारी, अरुण गुप्ता, मदन कान्दु, सन्जित जयसवाल, ओमप्रकाश सहानी, राजेन्द्र प्रसाद शुक्ला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका लुम्बिनी प्रदेश प्रवक्ता अमरकान्त झाले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij