
शनिवार , फाल्गुण २८, २०७८
रुपन्देही, २८ फागुन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का वरिष्ठ नेता अशोक राईले अधिकार प्राप्तिका लागी संघर्ष गरिरहेको बताएका छन् । जसपा रुपन्देही क्षेत्र नम्बर १ को आयोजनामा शुक्रबार भएको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे वरिष्ठ नेता राईले आफनो पार्टी उत्पीडित जनताको पक्षमा सधै वकालत गरिहेको बताए ।
उनले सुशासन, आर्थिक विकास, समानता र अधिकार प्राप्तिका लागि जनताको पार्टी जसपाबाहेक अरु कुनै पार्टी नभएको ठोकुवा गरे । संविधान नै विभेदकारी भएको तर्क गर्दै विभेदको अन्त्यका लागी पार्टी लागिपरेको बताए ।
जसपा पार्टी वैकल्पिक शक्तिको रुपमा उदय भएको दावी व्यक्त गर्दै देशभरीबाट यो पार्टीमा आउनेको लहर बढ्दो भएको उल्लेख गरे । नेपालका दुई ठूला पार्टी भनिएका कांग्रेस र एमाले जनतालाई भ्रमको खेती गरिरहेको बताए । देशलाई निकास दिन्छु भन्दै जनतालाई ढाटेर इतिहास बेचेर भ्रष्टाचारमा चुर्लुम्मै डुबेको उनले आरोप लगाए ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि तथा पशुपन्छी मन्त्री सुमन शर्मा रायमाझीले देश र जनताको विश्वास र भरोसाको पार्टी जसपा भएको बताइन् ।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज दान बहादुर चौधरी, पूर्व मन्त्री तथा केन्द्रीय सदस्य गोविन्द प्रसाद चौधरी, प्रदेश सह–इञ्चार्ज मोहम्मद वकिल मुसलमान, केन्द्रीय सदस्य कमल खनाल, जसपा केन्द्रीय सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य किस्मत वि.क, जसपाका नेता महेन्द्र यादव, पार्टीका संघीय परिषद सदस्य विद्या यादव लगायतले बोल्दै देशको विकास र निकासका लागी जसपाबाहेक अरु नभएको बताए ।
जसपा रुपदेही जिल्ला अध्यक्ष रामअवतार यादवले परिर्वतनको संवाहक जसपा भएको बताए । सबै जातिको हकअधिकारका लागि लड्ने पार्टी भएको बताउँदै अध्यक्ष यादवले विकास र विचारमा अब्बल मानिदै गएको बताए । संगठन विस्तार र सुज अभियानले तीव्रता पाएको बताउँदै जसपामय बनाउन रणनीति बनाए आफुहरु लागिरहेको बताए । उनले कांग्रेस र कम्युनिष्ट विभेदकारी र शोषण गर्ने पार्टी भएको आरोप लगाए ।
२ सय बढी जसपामा प्रवेश
कांग्रेसको किल्ला तोड्दै निर्वाचित रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष व्यासमुन थारु जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
जसपा क्षेत्र नम्बर १, रुपन्देहीले तिलोत्तमा–१० स्थित बेवरामा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा थारु जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका वरिष्ठ नेता अशोक राई, महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले पार्टीमा स्वागत गरे । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा व्यास मुन थारु नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । आफूलाई पार्टीले वेवास्ता गरेकोले जसपामा प्रवेश गरेको उनले बताए ।
कार्यक्रममा कांग्रेस, एमाले र अन्य विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी जसपामा प्रवेश गरेको पार्टीका संघीय परिषद सदस्य तथा युवा नेता विद्या यादवले बताए । पछिल्लो क्रममा जसपामा आउनेको लहर बढ्दो देखिएको छ । चन्दन चौधरीको अध्यक्षता तथा विजय बहादुर सिंह थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij