
आइतवार , फाल्गुण २९, २०७८
बुटवल, २९ फागुन ।
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गरेका छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाउँदै एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताए ।
उनले गठबन्धन दल निर्वाचनबाट भाग्न सबै उपाए खोजे पनि जनताको र एमालेको दबाब थेग्न नसकेर चुनाव हुने पक्का भएको बताए । एमालेप्रति जनताको आकर्षण देखेर गठबन्धनमा रहेका दलहरुले एक्लै चुनाव लड्न स्थितिमा पुगेको उनले बताए ।
गुल्मी रुरु क्षेत्र–रुपन्देही सम्पर्क मञ्चले शनिबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दावी गर्दै उनले नेता कार्यकर्ताहरुलाई निर्धक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गरे । उनले एमाले एक्लै चुनाव लडेर मुलुकभरका स्थानीय तह जित हासिल गर्ने सुनिश्चित भएको दावी गर्दै त्यसको प्रमाण एमालेबाहेकका दलहरुको गठबन्धनको तयारी र प्रधानमन्त्री समेतले गठबन्धन दललाई नचिडाउन दिएको निर्देशनले काँग्रेस समेत एमालेसंग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताए ।
उपमहासचिव ज्ञवालीले एमाले नेतृत्वको सरकारले गरेका काम जनतासम्म मात्रै पुयाँउदा एमालेबाहेका दललाई जनतासंग भोट माग्न जाने हैसियत नहुने बताए । उनले अहिलेको सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको आरोप लगाए ।
उपमहासचिव ज्ञवालीले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गइरहेकोप्रति चिन्ता व्यक्त गरे । गठबन्धन सरकार बनेपछि महंगी बढेको र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र गठबन्धन दलहरु गम्भिर नभएको उनको भनाइ थियो ।
यसैगरी एमसीसीको विषयमा जनतालाई भ्रमित गर्ने काम गरेको उनले असन्तुष्टि व्यक्त गरेका छन् । सत्तारुढ दलभित्रै एमसीसी बारेको धारणा फरक र द्वैध चरित्रको देखिएको गर्दै उनले त्यस विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले नेता कार्यकर्ताहरुलाई आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तीव्रताका साथ लाग्न आग्रह गरे । मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै एमाले भएको दावी गर्दै उनले जनताको साथ पाउनेमा ढुक्क हुन आग्रह गरे ।
त्यस्तै एमालेका नेता तथा प्रदेशसभा सदस्य कमलराज श्रेष्ठले एमाले बिना मुलुकमा परिर्वतन सम्भव नभएको बताए । उनले एमालेले जितेका स्थानीय तह र अन्य पार्टीले जितेका स्थानीय तहबीच फरक छुट्याउन सके मात्रै एमालेको एकल दुईतिहाइ आउने दावी गदै रुरु गाउँपालिकाको मुहार फेर्ने काम स्थानीय सरकारले गरेको बताए । एमालेले गुल्मीका सबै तहमा आगामी निर्वाचनमा विजय हासिल गर्ने बताए ।
कार्यक्रममा रुरु गाउँपालिका गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले रुरु गाउपालिकामा धेरै काम भएको बताए । रुरु गाउँपालिकाले आवधिक योजना बनाएर काम गरिरहेको र पालिकामा पूर्वाधारको जग बलियो गरी बसाएको बताए । उनले आफूले आलोचना चाहेको तर आलोचना नहुँदा कमिकमजोरी छुटउन नपाएको गुनासो गरे ।
कार्यक्रममा एमाले गुल्मी जिल्ला कमिटी सदस्य हिमाल श्रेष्ठ, रुरु गाउँपालिका उपाध्यक्ष लक्ष्मी पन्थ, एमाले रुरु गाउँपालिका अध्यक्ष फर्सुराम ज्ञवाली, चक्रपाणि ज्ञवाली, किसन ज्ञवाली, हेमबहादुर थापा कपिल ज्ञवाली लगायतले बोल्दै आगामी निर्वाचनमा एक भएर लाग्न र एमालेमा आएको जनलहर आफुहरुलाई उत्साहित गराएको बताए । अब निर्वाचनमा गाउँ फर्केर एमालेलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष हेमबहादुर थापाको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij