
आइतवार , फाल्गुण २९, २०७८
भैरहवा, २९ फागुन ।
भैरहवा गर्मी शुरु भइसक्यो। तराईको बढ्दै जाने उखरमाउलो गर्मीमा रमाइलो गर्न कहाँ जाने, कोभिड महामारी पनि मत्थर हुँदैछ। यही मौकामा रमाउन घरबाहिर निस्कन मन लागेको छ भने रुपन्देहीको भैरहवानजिकै उपयुक्त थलो तयार भइसकेको छ।
बेलहियाबाट केही उत्तरमा रहेको स्वागतद्वारबाट केही पूर्वमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट स्वागत गर्न तयार छ। आधुनिक शैलीमा बनाइएको यो रमणीय स्थल गत शुक्रबारदेखि सञ्चालनमा आएको छ। ५०० रुपैयाँ तिरेर बिहान ११ बजेदेखि बेलुकासम्मै रमाइलो गर्न पाइन्छ यहाँ।
कोभिड महामारीपश्चात् सरसफाइ र आवश्यक सुधार गरी पार्क सञ्चालनमा ल्याएको सञ्चालक निरज बराल बताउँछन्। उनका अनुसार साढे छ बिघा क्षेत्रफलमा रहेको पार्कमा वाटरपार्क, बैङ्केट हल, रेस्टुरेन्टसमेत सञ्चालनमा आएका छन्। प्राकृतिक सामुद्रिक छालकै जस्तै अनुभव लिने गरी वेभ पुल, रेन डान्स, क्रेजी रिभरलगायतका सुविधा पार्कमा रहेको छ। वयस्क र बालबालिकाका लागि अलग–अलग स्लाइडको व्यवस्था गरिएको सञ्चालक बरालले बताए।
हामीले बालबालिकादेखि पाको उमेरका व्यक्तिसम्मका लागि पार्कमा संरचना बनाएका छौं उनी भन्छन् दिनभर पार्कभित्र बस्दा पनि दिक्क लाग्नेछैन, हामीले सुरक्षित र व्यवस्थित रुपले सेवा दिनेछौं।
वाटरपार्कअन्तर्गत नौवटा स्लाइड रहेका छन् भने यस क्षेत्रमै ठूलो ४० फिटको अग्लो टावरबाट स्लाइड एवं अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको उनले बताए।
आन्तरिक तथा बाह्य पर्यटकको नेपाल बसाइ अवधि बढाउने लक्ष्यका साथ नेपाली संस्कृति झल्किने विभिन्न हस्तकला, पेन्टिङ आदि खरिद गर्न मिल्ने पसल, फुड कोर्ट, प्रतीक्षालय, लकरलगायतका सुविधा यहाँ पर्यटकले पाउँछन्। नेपाल–भारतको सीमा बेलहिया नजिकै रहेको पार्कमा १० हजार वर्ग फिटको बहुउद्देश्यीय हल, तीन तलाको रेस्टुरेन्ट र १५ हजार वर्ग फिटको खुला पार्किङको सुविधा रहेको छ।
शुरुमा जग्गासहित ४५ करोडको लागतमा सञ्चालनमा आएको पार्क र रिसोर्टको लगानी बढ्दै गएको उनी बताउँछन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij