
आइतवार , फाल्गुण २९, २०७८
बुटवल। स्केटिङ गर्नेहरुका लागि खुशीको खबर छ ! रुपन्देहीमा स्केटिङ पार्क खुलेको छ। जहाँ पैसा नतिरी स्केटिङ खेल्न र सिक्न पाइन्छ।
रुपन्देहीको तिलोत्तमामा स्केट पार्क तथा सामुदायिक केन्द्र सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिका ४ डिंगरनगर तिनाउ नदी किनारमा बनेको यो पार्कमा बालबालिकाले निशुल्क सिक्न र खेल्न पाउने स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले बताए।
उनका अनुसार तिलोत्तमा नगरपालिकाको अनुमतिमा १० कठ्ठा क्षेत्रफलमा स्केट पार्क सञ्चालन गरिएको हो। करिब साढे २ करोडको गुरुयोजना तयार गरेर १० कठ्ठा क्षेत्रफलमा ३ चरणमा काम पूरा हुने उनले बताए। ३ महिनामा पहिलो चरणको ८० प्रतिशत काम सक्दा ४० लाख रुपैयाँ खर्च भएको छ।
व्यवसायिक स्केट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु गरिएको सेन्टरमा आवासीय प्रशिक्षण दिइने पहाडीले बताए। जसमा प्रशिक्षण केन्द्रसहित पुस्तकालय र आवाससमेत बनाइने उनले बताए। एसियन गेम समावेस रहेको यो खेलमा नेपालले प्रतिनिधित्व गर्ने खेलमध्येमा नेपाल पहिलो नम्बरमा रहेको छ। काठमाडौं, धरान, पोखरा, बुटवलमा गरी स्केटिङ खेलका २ सयभन्दा बढी खेलाडीहरू छन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij