मंगलवार , चैत्र ८, २०७८
काठमाडौँ, ८ चैत। ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ।
कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन आइपिओको बिक्री खुला गरेको हो।कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कूल निष्कासनको पाँच प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र तीन प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
सर्वसाधारणले यही चैत ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी चैत २२ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
कम्पनीले हाल ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कूल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु–४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ। कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु १२ अर्ब आठ करोड हुने जनाएको छ।कम्पनीको अधिकृत पुँजी रु पाँच अर्ब र हालको जारी पुँजी रु तीन अर्ब १२ करोड ५० लाख तथा संस्थापकबाट चुक्ता भएको चुक्तापुँजी रु दुई अर्ब ५० करोड छ।
कम्पनीले यसअघि आयोजना प्रभावित बासिन्दाका लागि ३१ करोड २५ लाख कित्ता र यो आह्वान पत्रानुसार सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयर ९३१ लाख २५ हजार कित्ता बाँडफाँटपश्चात चुक्तापुँजी रु तीन अर्ब १२ करोड ५० लाख पुग्नेछ। यसअघि स्थानीयलाई गत फागुन २ देखि २० सम्म ३१ लाख २५ हजार कित्ता शेयर बिक्री खुला गरी सोको बाँडफाँटसमेत गरी सकिएको कम्पनीले जनाएको छ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij