आइतवार , चैत्र १३, २०७८
भैरहवा, १३ चैत ।
रुपन्देहीमा रहेका ५ दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा वित्तीय सचेतनार्याली गरिएको छ । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा नेपाल राष्ट्र बैक सिद्धार्थनगरको आयोजनामा साताव्यापी कार्यक्रमअन्तर्गत शनिबार जिल्लामा रहेका बैंक, वित्तीय तथा लघुवित्तीय संस्था, कर्मचारी तथा सञ्चालकहरुले वित्तीय जागरणसम्बन्धि सचेतनामूलक नगर परिक्रमा गरिएको हो ।
विश्वव्यापी रुपमा २०१२ देखि मनाइँदै आएको सप्ताहको नेपालका लागि राष्ट्र बैंकले संयोजन गर्दै आएको छ । अर्गनाइजेशन अप इकोनोमिक कोअर्पाेरेशन एण्ड डेभलपमेन्टको वार्षिक कार्यक्रम नेपाल राष्ट्र बैंकको समन्वयमा २०१३ देखि नियमित रुपमा विविध कार्यक्रम गरी मनाइँदैछ । यो सप्ताहको मुख्य उद्देश्य नै युवा र सरोकारवालहरुका लागि वित्तिय सचेतना गराउनुरहेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए । ग्लोबल मनी विक कोअर्डिनेशन कमिटीको निर्णयबमोजिम नेपाल राष्ट्र बैंकले केन्द्रिय कार्यालय, मातहत तथा प्रदेश कार्यालयबाट साताव्यापी कार्यक्रम गरेको हो । नियमन गर्ने मातहतका बैंक तथा वित्तीय संस्थाहरुले पनि आ–आफ्नो तरिकाले शिक्षा तथा सचेतना अभिवृद्धिको कार्यक्रम गरिरहेको उपनिर्देशक पाण्डेले बताए ।
सप्ताहअन्तर्गत सिद्धार्थनगर कार्यालयले नवलपरासीमा कृषक, वैदेशिक रोजगार, ज्यालादारी, युवा तथा उद्यमी, विद्यार्थीहरुलाई वित्तीय साक्षरता सचेतनामूलक कार्यक्रम, सञ्चार माध्यममा सन्देशमूलक सूचना तथा जानकारी, नियमन संस्थाहरुमा अन्तरक्रिया तथा साक्षरता, वित्तीय र्याली लगायतको कार्यक्रम गरेको स्प्ताहका संयोजक रमेश न्यौपानेले बताए । सप्ताहअन्तर्गत नै आइतबार सहुलियत कर्जा तथा पुर्नकर्जा विषयक अन्तरक्रिया गर्न लागिएको छ भने हामीले नियमन गर्ने संस्थाहरुले पनि दर्जन बढी कार्यक्रम आ–आफ्ना क्षेत्रमा गरेका छन ।
शनिबार बिहान कार्यालय परिसरबाट सुरु भएको र्यालीमा रुपन्देहीका २७ कमर्शीयल बैंक, १७ विकास बैंक, ४ वटा वित्तीय कम्पनी , ४ लघुवित्तिय संस्थाहरुको शाखा प्रमुख, कर्मचारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रञ्जना पौडेलले विश्व वित्तीय सप्ताह वार्षिक रुपमा मनाईने कार्यक्रमको मुख्य उद्देश्य किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने रहेको बताइन् । बैकिङ बजारमा प्रवेश गर्न उत्साहित हुने, वित्तीय साक्षरता अभिवृद्धि हुने र यसबाट पुँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वासका साथ यो कार्यक्रम भए पनि शहरमा भन्दा पनि गाउँगाउँमा बैंकिङ पहुँच बढाउन जरुरी रहेको बताइन । दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकले बैकिङ कारोबारमा नपुगेकोले चेतना फैलाउनका लागि शिक्षा र साक्षरताको कार्यक्रम लैजान जरुरी रहेको उनले बताइन् ।
सप्ताहअन्तर्गत बैंकहरुले पनि उद्योगी व्यवसायी, गृहणी, युवा, विद्यार्थी लगायतलाई समेटेर वित्तीय साक्षरताको महत्व, लघुवित्तका सेवा सुविधा, बचत, बीमा तथा कर्जाको महत्व, विप्रेषण, आम्दानी अनुसार बचत गर्ने बानीको विकास, बचतका प्रकार, डिजिटल बैैकिङ्ग, आवश्यकता अनुसार खर्च गर्ने बानीको विकास आदिका बारेमा कार्यक्रम गरेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij