आइतवार , चैत्र १३, २०७८
भैरहवा, १३ चैत ।
‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । नयाँ वर्ष २०७९ को अवसर पारेर पूर्व संध्यामा यही चैत ३० गते सडक खाना महोत्सव हुने भएको हो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा हुने महोत्सवबारे आइतबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराइएको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने, यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्याउने महोत्सवको उद्देश्य रहेको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए । विगत ३ वर्षदेखि थला परेको पर्यटन व्यवसायमा केही हदसम्म चलायमान बनाउन मद्दत पुर्याउने अपेक्षा रहेको न्यौपानेले बताए । महोत्सव गर्न अनुमानित २५ लाख खर्च हुने उनले जानकारी दिए ।
महोत्सव सिद्धार्थनगर–१२ स्थित प्रहरी टोलमा साँझ ६ बजेदेखि राती ३ बजेसम्म हुने उनले बताए । महोत्सवमा १ सय वटा स्टल रहने र ५० हजार दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको संगठनका महासचिव राजेश महोत्राले बताए । महोत्सवमा १ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।
महोत्सवमा स्थानीय कला संस्कृति, स्थानीय कल्चर नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम हुने उनले बताए ।
उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले महोत्सवमा गुणस्तरीय सामग्री विक्रीवितरणका लागि अनुगमन गरिने बताए । उनले सडक खाना महोत्सव पर्यटन र व्यवसायसंंग सम्बन्धित रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले महोत्सवमा विक्रीवितरण हुने सामग्रीको गुणस्तर र मूल्यमा ध्यान दिनुपर्ने बताए ।
मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश प्रसाद बेल्बासेले सडक खाना महोत्सव सफल पार्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सह–आयोजकमा सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रवद्र्धकमा पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालय÷पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश, संरक्षक संस्थामा उद्योग व्यापार संगठन, रुपन्देही र संस्थागत सल्लाहकार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही तथा सहयोगी संस्थामा नाटा लुम्बिनी प्रदेश, सिद्धार्थ होटल एशोसियसन (सान), मदिरा व्यवसायी संघ, भैरहवा र लुम्बिनी होटल संघ, नेपाल (लान) रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij