
मंगलवार , कार्तिक १८, २०७७
यज्ञमूर्ति भण्डारी
१.१ परिचय
जनगणना भन्नाले देशको निश्चित सीमानाभित्र निश्चित अवधिमा निश्चित विधिको अवलम्वन गरी बसोबास गरिरहेका सम्पूर्ण व्यक्तिहरुको व्यवस्थित तरिकाले पूर्ण रुपमा गणना गरिने समग्र प्रक्रिया हो । नेपालमा बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगी निर्धारित समयभित्र परिवार तथा परिवारका सबै व्यक्तिहरूकोे जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरणहरू संकलन, प्रशोधन, सारिणीकरण ९त्बदगबितष्यल० एवं प्रकाशन गर्ने समष्टिगत प्रक्रियालाई “जनगणना” भनिन्छ । जनगणना जनसंख्या तथ्यांकको एक प्रमुख स्रोत हो । जनगणनामा केवल व्यक्तिको टाउकाको मात्र गणना नभएर जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरणहरुको समेत तथ्यांक संकलन गरिन्छ । जनगणनाको तथ्यांकबाट नै विकासका लागि योजना निर्माण, नीति तथा कार्यक्रमहरु तय गरिनुका साथै राज्यपुर्नसंरचना गर्न, निर्वाचन क्षेत्र निर्धारण गर्न, प्रतिनिधि सभा र प्रदेशसभाको संख्या निर्धारण गर्न महत्वपूर्ण मानिन्छन् ।
१.२ नेपालमा जनगणनाको संक्षिप्त इतिहास
नेपालमा जनगणना लिने काम औपचारिक रुपमा वि.सं. १९६८ (सन् १९११)मा तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालाबाट सुरु भएको हो । सुरुका जनगणनाहरु मौजुदा सेन्सस गोश्वराबाट सञ्चालन गरिएका थिए । त्यसपछि प्रायः हरेक १०/१० वर्षको अन्तरालमा निरन्तर रुपमा जनगणना सञ्चालन हुँदै आएका छन् । नेपालमा हालसम्म ११ वटा जनगणनाहरु सम्पन्न भइसकेका छन् । वि.सं. १९७७ को जनगणनाको मुख्य उद्देश्य मालिक, कमारा कमारी, बाँधाको सूची तयार गर्ने रहेको थियो । वि.सं. १९६८, १९७७, १९८७ र १९९८ सम्म सम्पन्न भएका सुरुका चार वटा जनगणनाहरु ब्यक्ति गणना ९ज्भबम ऋयगलत० का लागि मात्र सिमित रहेको पाइन्छ भने वि.सं. २००९/११(सन् १९५२/५४) देखिका जनगणनाहरुलाई अन्तर्राष्ट्रिय रुपमा तुलनायोग्य भएकाले (आधुनिक–वैज्ञानिक) जनगणना मानिन्छन् । वि.सं. २००९/११ को जनगणना तत्कालिन संख्या विभागबाट सञ्चालन गरिएको थियो । वि.सं. २०१८ साल पछिका जनगणनाहरु सम्पूर्ण केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्दै आइरहेको छ ।
वि.संं.२०२८ सालमा सञ्चालित सातौ जनगणनामा पहिलोपटक लगत प्रशोधन कार्यका लागि कम्प्युटर (IBM 1404)को प्रयोग गरिएको थियो । वि.सं. २०४८ देखि जनगणना लैंगिक समावेशी हुन थाल्यो । दशौं जनगणना २०५८ देखि अषाढ ८ गते जनगणना दिवस मनाउन थालियो र यस जनगणनामा पूर्ण गणना र स्याम्पल विधि गरी दुवै विधि अपनाइएको थियो । वि.संं. २०६८ सालमा लिइएको ११ औ जनगणना १ सय वर्ष (एक शताब्दी) को जनगणना हो जसलाइ नेपालको गणतन्त्र पछिको पहिलो जनगणना भनिन्छ । यसमा पशुपंक्षीको समेत पूर्ण गणना गरिएको थियो । आगामी वि.सं.२०७८ सालमा गरिने जनगणना १२ औं जनगणना हुनेछ । १२ औ जनगणनालाई प्रविधियुक्त जनगणना गराउनका लागि तीव्र प्रयासको सुरुवात भइरहेको छ । ११ औं जनगणनाको मुलनारा “कोही नछुटुन कोही नदोहोरिउन” भन्ने रहेको थियो भने १२ औं राष्ट्रिय जनगणना २०७८ को नारा “मेरो गणना, मेरो सहभागिता” रहेको छ ।
१.३ विभिन्न जनगणना अनुसार नेपालको जनसंख्या
जनगणना वर्ष | जनसंख्या | जनसंख्या वृृद्धि दर | लैंगिक अनुपात |
जनघनत्व |
1968 |
56,38,749 |
- |
- |
38 |
1977 |
55,73,788 |
-0.13 |
- |
38 |
1987 |
55,32,574 |
-0.07 |
- |
38 |
1998 |
62,83,649 |
1.16 |
- |
43 |
2009/11 |
82,56,625 |
2.27 |
96.8 |
56 |
2018 |
94,12,996 |
1.64 |
97 |
64 |
2028 |
1,15,55,983 |
2.05 |
101.4 |
79 |
2038 |
1,50,22,839 |
2.62 |
105 |
102 |
2048 |
1,84,91,097 |
2.08 |
99.5 |
126 |
2058 |
2,31,51,423 |
2.25 |
99.8 |
157 |
2068 |
2,64,94,504 |
1.35 |
94.16 |
180 |
स्रोतः केन्द्रीय तथ्यांक विभाग
१.४ जनगणनामा प्रयोग गरिने विधिर अक्सर बसोबास
जनगणना गर्ने मुख्य २ वटा विधिहरु हुन्छन् ।
(क) वास्तविक उपस्थिति विधि (De-Facto method) : यस विधिबाट तथ्यांक संकलन गर्दा निश्चित समयमा जो जहाँ भेटिन्छ त्यहीबाट तथ्यांक संकलन गर्नुपर्छ । यस पद्वतिअनुसार प्रायः निश्चित रातको समयमा सन्दर्भ समय मानी त्यो रात जो जहाँ छ त्यहीबाट तथ्यांक संकलन गरिन्छ ।
(ख) स्थायी बसोबास गणना विधि (De-jure method) : यस विधिबाट तथ्यांक संकलन गर्दा कानुनी रुपमा बसोबास गरेको ठाउँ (Legal place of residence) बाट तथ्यांक संकलन गरिन्छ ।
नेपालमा प्रयोग गरिएको गणना विधिलाई modified de- jure method भनिन्छ ।
modified de- jure अक्सर बसोबास (Usual Place of Residence) अर्थात गणनाको समयमा कुनै व्यक्ति अक्सर जहाँ बसोबास गर्छन् त्यहीबाट गणना गर्ने विधि हो । यस विधिमा घर नभएका र चलायमान व्यक्तिहरु जस्तै जोगी, फिरन्ते, महन्तेहरुको गणना जनगणनाको अन्तिम दिन जहाँ भेटिन्छन् त्यहीबाट गरिन्छ ।
Usual place of residence: व्यक्ति ६ महिना वा सोभन्दा बढी जहाँ बसोवास गर्छन् वाबसोबास गर्ने मनसाय राखेको हुन्छन् त्यहीबाट गणना गरिन्छ । छोटो अवधिको लागि औषधिउपचार वा तिर्थाटन गएको समेतलाई अक्सर बसोवास गरेको स्थानबाटै गणना गरिन्छ ।
१.५ पाइलट जनगणना
राष्ट्रिय जनगणना सञ्चालन गर्नु अघि पाइलट जनगणना सम्बन्धी कार्य अपरिहार्य हुने गर्दछ किनकी यसैको आधारमा प्रश्नावली तयार गर्न र जनगणनाका लागि आर्थिक, प्राविधिक तथा प्रशासनिक व्यवस्थापन गर्न सहयोग गर्छ । १२ औं राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि पाइलट जनगणनामा छनौटमा परेका ७ प्रदेशका १४ जिल्लाहरु पाँचथर, मोरङ, धनुषा, पर्सा, काठमाण्डौं, मकवानपुर, कास्की, बाग्लुङ, रुपन्देही, प्युठान, सुर्खेत, जुम्ला, कैलाली र दार्चुला रहेका थिए । पाइलट जनगणना गर्ने कार्य तालिका केन्द्रीय तथ्यांक विभागको माघदेखि चैत्रसम्म रहेता पनि कोभिड–१९ का कारण तालिका प्रभावित भइ २०७७ आषाढ १ देखि २०७७ आषाढ १५ सम्म सञ्चालन भएको थियो ।
१.६ जनगणना तथ्यांकको संवैधानिक व्यवस्थाः
नेपालको संविधान २०७२ मा जनगणना तथ्यांक सम्बन्धी भएका संवैधानिक व्यवस्थाहरु निम्न रहेका छन् ।
-संविधानको धारा ५१ (च) (८) राज्यले जनसांख्यिक तथ्यांकलाई अद्यावधिक गर्दै राष्ट्रिय विकास योजनासँग आबद्ध गर्ने नीति लिएको छ ।
- संविधानको विभिन्नधाराहरुमा उल्लेख भएको मौलिक हक र समानुपातिक तथा समावेशी सिद्धान्तको कार्यान्वयन गर्न आधार तयार हुने ।
- संविधानको धाराहरु ८४ र धारा १७६ तथाधारा २८६(५) प्रतिनिधिसभा तथा प्रदेशसभाको क्षेत्र निर्धारणको लागि भुगोल र जनसंख्यालाई महत्वपूर्ण आधार मानेको छ ।
- संविधानको धारा २८१ म विशेष अधिकारको समिक्षा र पुनरावलोकन अन्तर्गत नेपाल सरकारले प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनालाई आधार मान्ने उल्लेख रहेको छ ।
१.७ तथ्यांक संकलन विधि
केन्द्रीय तथ्यांक विभागबाट सञ्चालन हुने १२ औं राष्ट्रिय जनगणनामा बहुमोडल विधि (Multimodel Approach) बाट स्थलगत तथ्यांक संकलन गरिन्छ ।
(क) कागजी प्रश्नावली विधि(PAPI method) : यो विधि तथ्यांक संकलनको परम्परागत विधि हो । यस विधिमा कागजी प्रश्नावली र कलम/डटपेनका माध्यमबाट गणक हरेक घरपरिवारमा पुगीउ त्तरदाता सँग आवश्यक तथ्यांक लिने गर्दछन् ।
(ख) टयाबलेट विधि(CAPI method) : मुलतः उपत्यका, महानगरपालिका र उपमहानगरपालिकामा टयाबलेट (हाते कम्प्युटर) विधिबाट तथ्यांक संकलन गरिन्छ ।
(ग) ई–सेन्सस विधि (E-census method) : विदेशस्थित दुतावास र कुटनीतिक आयोगहरुमा ई–सेन्सस विधिबाट तथ्यांक संकलन गरिन्छ ।
१.८ राष्ट्रिय जनगणना २०७८ का मुख्य विशेषताहरु
- संघिय लोकतान्त्रिक गणतन्त्र पछिको पहिलो जनगणना
- बहुमोडल विधि अपनाइने : कागजी फारमका अतिरिक्त ट्यावलेट र विदेशस्थित कुटनीतिक आयोगमा ई–सेन्सस गरी मिश्रित विधि अपनाइने
- पूर्ण गणना (एउटा मात्र लगत फारम प्रयोग गरिने)
- सामुदायिक प्रश्नावली स्थापित गरिने
- १४ वटा विषयगत रिपोर्ट प्रकाशन गरिने
१.९ जनगणनामा समेटिने विषयहरु
विगतका जनगणनाहरुमा जस्तै राष्ट्रिय जनगणना २०७८ मा पनि मुलत : जनसांख्यिक, सामाजिक र आर्थिक विवरणहरु नै संकलन गरिन्छ ।यस पटकको जनगणनामा पनि घरको स्वामित्व, संरचना, बनौट, घरायसी सुविधा तथा घरपरिवार सम्बन्धी विवरण, परिवारमा अनुपस्थित स्वदेश तथा विदेशमा रहेका व्यक्तिहरुको विवरण, जन्म, मृत्यु तथा मातृमृत्यु ,शैक्षिक अवस्था, प्रजनन, अपांगता, वैवाहिक अवस्था, भाषा, जातजाती ,धर्म, बसाईसराई, पेशा, व्यवसाय, आर्थिक क्रियाकलापहरु (रोजगारी तथा बेरोजगार)सम्बन्धी विवरणहरु संकलन गरिन्छ । यस पटकको जनगणनामा विगतका जनगणनामा भन्दा केही थप प्रश्नहरु सोधिनेछन जस्तै : जन्मदर्ता, घरको प्रयोजन, सरकारी अनुदान अन्तर्गत आवासीय घर निर्माण, वैंक तथा वित्तीय संस्थामा खाता, प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएका व्यक्ति लगायतका विवरणहरु सोधिनेछन् ।
१.१० राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यतालिका
क्र.सं. क्रियाकलाप समयावधि
१ घरपरिवार सूचीकरण कार्य ०७८ वैशाख २६–जेष्ठ १४
२ गणना कार्य ०७८ जेष्ठ २५–असार ८ गते
३ सामूदायिक प्रश्नावली भर्ने ०७८ जेष्ठ २५–असार ८ गते
४ जनगणना दिवस असार ८ गते
१.११ जनशक्ति परिचालनः
१२ औं राष्ट्रिय जनगणना २०७८ लाई सञ्चालन, व्यवस्थापन र सफल पार्नका लागि मुलुकभर ४२ हजार गणक, ९ हजार सुपरीवेक्षक र २ हजार प्रशासनिक कर्मचारीहरु खटिनेछन् ।
निष्कर्ष : नेपालमा हालसम्म ११ वटा जनगणनाहरु सम्पन्न भइसकेका छन् । मुलुक संघीय संरचनामा गइसकेकोले संघीयता कार्यान्वयन गर्नका लागि र हरेक तहमा तथ्यांकको अभाव पूर्तिका लागि आगामी १२ औं राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न ७६१ वटै सरकार, निजी क्षेत्र, राजनैतिक दलहरु, नागरिक समाज, गैरसरकारी संस्थाहरु, कर्मचारी, प्राध्यापक, अनुसन्धानकर्ता र सरोकारवालाहरु सबैको भूमिका अपरिहार्य हुन्छ । राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्यांकले नै समृद्घिको आधारशिला खडा हुनेछ र नेपाल सरकारले परिकल्पना गरे अनुरुपको सुखी नेपाली र सम्वृद्घ नेपालको नारा साकार हुनेछ ।
सन्दर्भ सामाग्री : केन्द्रीय तथ्यांक विभागका विभिन्न प्रकाशनहरु
(लेखक तथ्यांक कार्यालय, चितवनका तथ्यांक अधिकृत हुन् ।)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij