२०८२, श्रावण ८ गते

Jul 24 2025 | २०८२, श्रावण ८ गते

एमालेको वडा कमिटी माओवादी केन्द्रमा, वडा एमालेविहिन

आइतवार , चैत्र २०, २०७८

रुकुम-रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ । सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमाले बिहीन भएको हो ।

यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो । अहिले त्यहीँ सिङ्गो वडा कमिटी नै माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार पार्टी प्रवेश गर्नेमा एमालेको वडा इन्चार्ज महेन्द्र बुढा, सचिव झुपबहादुर पुन, सदस्य टेकप्रसाद पुन, उपेन्द्र बुढा, पूर्ण बुढा, विनोद बुढा, पद्मोदया बुढा, नरम बुढा, मनदेउ बुढा, सन्तोष पुन, सूर्यमान पुन, भरण विक, धनलब बुढा रहेका छन् । उनीहरू सबैलाई जिल्ला इन्चार्ज ओली र पार्टी गाउँ सङ्गठन समितिका इन्चार्ज जिताराम कामीले फूलमाला, अविर तथा खादा ओढाएर पार्टी प्रवेश गराएका थिए। त्यहाँ सिङ्गो वडा कमिटीसँगै एमाले समर्थित सबै नागरिक पनि माओवादीमा प्रवेश गरेका छन्।