
सोमवार , चैत्र २१, २०७८
भैरहवा, २१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) नामले अलग पार्टी भए पनि विचारले भने एउटै पार्टी रहेको दावी गरेका छन् । उनले ठूला भनिने दलले ३२ वर्षसम्म मुलुकलाई बन्धक बनाएर राखेको दावी गरे ।
राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले देशको अवस्था सामान्य देखिए पनि सामान्य भने नरहेको बताए । उनले भने, ‘अहिले मुलुकमा आम हड्ताल भएको छैन, आन्दोलन भएको छैन, मुलुक सामान्य जस्तो देखिएको छ, तर अवस्था सामान्य छैन्, अदालत अदालत जस्तो छैन, संसद् संसद् जस्तो छैन र सरकार सरकार जस्तो छैन् ।’ सम्पूर्ण विकासका योजनाहरु रोकिएको र सम्पन्न भएका योजनाहरु भुक्तानी समेत सरकारबाट हुन नसकेको उनले बताए । उनले विदेशीलाई मालिक मानेर सत्ता टिकाउने खेलमा तीनै दल बराबर जिम्मेवार रहेको आरोप लगाए । उनले भने, ‘नेपाल राष्ट्रलाई दुर्गतिको बिन्दुमा पुर्याउन तीनै दल जिम्मेवार छन, आज देश जुन स्थितिमा छ पर्खने र हेर्ने छुट छैन्, पर्खने र हेर्न भूल गर्यौ भने भावी सन्ततिको भविष्य धरापमा पर्छ । ’
नेता र पार्टीलाई दोष दिएर मात्र उन्मुक्ति नपाइने भन्दै निर्वाचनमा भोट दिने हात पनि कम दोषी नरहेको उनको भनाइ थियो । भोट दिएर जिताएको प्रतिनिधि गलत भए समाज र मुलुकले नै दुःख पाउने उनले जिकिर गरे । उनले भने, ‘देश बिग्रिए ओली, देउवा र प्रचण्डको के बिग्रन्छ ? युवाको भविष्य बिग्रन्छ । ’भोट दिने कुरा छोरी दिने कुरा भन्दा पनि ठूलो भएको उनको भनाइ थियो ।
भोट गलत मान्छे र पार्टीलाई गयो भने पुरै देश र समाजले दुःख पाउने उनले बताए । ३१–३२ वर्ष देशको नेतृत्व गर्ने अवसर पाएका दलहरुले देशले एउटा सम्झने कुरा पनि गर्न नसकेको उनले बताए ।
राप्रपा केन्द्रीय उपाध्यक्ष धु्रव प्रधानले राप्रपाप्रति नेपाली जनता आकर्षित भएको दावी गरे । उनले संस्कार, संस्कृति जोगाउन राप्रपालाई जिताउनुपर्ने बताए ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा देशको एक नम्बर पार्टी बन्ने दावी गरे । उनले राष्ट्रघातीलाई स्वीकार नगर्ने बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सहायक महामन्त्री ताहिर अली, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, केन्द्रीय सदस्य रेखा थापा, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा लगायतले बोल्दै राप्रपाले नै देश र जनताको पक्षमा काम गर्न सक्ने बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ हजार १ सय ९३ जना राप्रपामा प्रवेश गर्नुभएको पार्टीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij