शनिवार, जेठ ७ गते २०७९

मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ ताल कुपिन्डे

मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ ताल कुपिन्डे

images
images

खबर पात्रो

२३, चैत्र २०७८
  • 493
    SHARES
  • मौसमपिच्छे रङ्ग बदल्ने ‘अद्भूत’ ताल कुपिन्डे

    दाङ, २३ चैत।  प्राकृतिक सुन्दरता भएर पनि ओझेलमा परेको सल्यानको कुपिण्डे तालमा यतिवेला पर्यटकको भीड लाग्न थालेको छ। 

    डुङ्गा सञ्चालन र तालको प्रचारप्रसार बढेपछि हिजोआज ताल हेर्न पुग्नेको भीड लाग्ने गरेको हो। सल्यानको बनगाँड कुपिन्डे नगरपालिका–८ मा पर्ने कुपिन्डे तालको अवलोकन र डुङ्गामा सयर गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। ताललाई चारैतिरबाट पहाडले घेरेको छ। त्यस स्थानबाट चाखुरे र सिस्ने हिमालको अवलोकन गर्न सकिने भएकाले आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्। 

    images

    पानी बाहिरिने मार्ग नभएको र पानीको मुल पनि नदेखिने यस तालको सुन्दरताले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याएको छ। तालको अवलोकनका लागि भेरी र राप्ती अञ्चलका साथै देशका अन्य क्षेत्रबाट पनि पर्यटक त्यहाँ पुग्ने गरेका छन्। ताल वरिपरीको जङ्गलमा वन्यजन्तुको अवलोकन गर्न पाइने र वनभोजका लागि पनि उपयुक्त रहेकाले पर्यटकहरू आकर्षित भएका हुनसक्ने समितिले जनाएको छ। 

    सो ताल (दह) मा भेटिनु भएकी तुलसीपुर उपमहानगरपालिका–६ का ४९ वर्षीया सुशिला भट्टराई निकै खुसी देखिन्थीन्। उनले भनीन्, “यति राम्रो प्रकृतिको मनोरम दृश्य देख्न पाउँदा जुन आनन्दको अनुभूति गर्न पाएँ, त्यसबाट धेरै सन्तुष्टि मिलेको छ।” आफ्ना बहिनी र  छोराछोरीसँगै केही दिनअघि पुगेकी भट्टराई चार घण्टा समय दह (ताल) क्षेत्रमा बिताउँदा आफूले जुन आनन्दको अनुभूति गर्न पाए  यसको सुन्दरता देख्दा आफू लोभिएको र स्वर्गकी अप्सरा  उपनामभन्दा पनि कम नहुने रहेछ बताइन्। “यस्तो प्राकृतिक मनोरम सुन्दरताको खानी रहेको यति कञ्चन दहलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गरी यसको महत्वलाई उजागर गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ।  

    “नेपालको प्रमुख पर्यटकीय केन्द्रका रुपमा यसलाई विकास गराउन सके यसले सल्यानका साथै आसपासका गाउँ र सिङ्गो कर्णाली प्रदेशकै मुहार फेरिने रहेछ”, उनले भनीन्, “सल्यान जिल्लाका विभिन्न धार्मिक मठमन्दिरमा दर्शन तथा पूजा आराधना गर्नका लागि गएको समयमा कुपिन्डे दह र त्यहाँको बराह मन्दिरसम्म पुगेकी हुँ। सो दह निकै सुन्दर रहेछ। देख्दा निकै लोभ लाग्यो।”

     दाङका मात्र होइन, बाँकेको कोहलपुरबाट सो दह घुम्न साथीहरुसँग पुगेकी २१ वर्षीया अस्मिता रेग्मी पनि निकै खुसी थिइन्। उनले तालमा डुङ्गा चढेर जलविहार, तालमा फोटो खिच्न तथा टिकटक बनाउँदा निकै आनन्द आएको बताइन्। अहिले गर्मीको समयमा जङ्गल र सोही जङ्गलको बीचमा यति ठूलो नीलो सफा पानी रहेको दह ताल देख्दा यात्राको थकान सबै मेटिनाका साथै शीतलताको अनुभूति भएको उनको भनाइ छ। 

    कुपिन्डे दहमा पुगेकी तुलसीपुर उपमहानगरपालिका–५ की ४५ वर्षीया निरा ढुङ्गानाले यो ताल हाम्रो अद्वितीय सम्पत्ति हो, यसको संरक्षण  संवद्र्धनका लागि सबै लाग्नुपर्ने बताइन्। उनले तालसम्म पुग्ने मोटरबाटो कच्ची रहेकाले त्यस बाटोलाई कालोपत्र गर्न, दह देखि केही टाढा चमेना गृह, होटलहरु सञ्चालन भएमा पर्यकटलाई सुविधा हुने र पर्यटकको सङ्ख्या पनि दिनहुँ बढने हुँदा आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरीन्। आफूहरु सानो कार लिएर घुम्न त्यहाँ गएको ताल क्षेत्रमा जानेबाटो कच्ची तथा धुले हुँदा केही सास्ती खेपे पनि त्यहाँ पुगेपछि सबै थकान मेटिएको उनले बताइन्। 

     कुपिन्डे तालमा ढुङ्गा चलाउँदै आउनुभएका ५० वर्षीय हरिशचन्द्र पुरीले सो तालको पानीले वर्षमा तीन पटक रङ्ग बदल्ने गरेको बताए। माघ–फागुन महिनामा यो तालको रङ्ग परिवर्तन भएर खैरो र रातो बन्छ भने वर्षाको समयमा बाढी पस्दा पनि पानी कहिल्यै धमिलो नहुने उनको भनाइ छ। विशेष गरेर गर्मी महिनामा तालको अवलोकन गर्नका लागि टाढाटाढाबाट पर्यटक आउने गरेको र सो समयमा डुङ्गा चढेर तालको अवलोकन गर्नेहरुको सङ्ख्या बढ्ने गरेको पुरीले बताए।उनले भने, “पुरै ताल डुङ्गा चढेर अवलोकन गरेबापत रु २०० शुल्क लिने गरेका छौँ र मासिक रुपमा कम्तीमा रु २० हजार आम्दानी गर्ने गरेको छुँ।

     कुपिन्डे ताल संरक्षण समितिका अध्यक्ष चेतबहादुर कुँवरले विसं २०६७ मा मात्रै यो तालको अस्तित्व चर्चा आएको बताए। उनका अनुसार विशेषगरी गर्मीयाममा टाढाटाढाबाट पर्यटकहरु अवलोकनका लागि आउने गरेको र चैत महिनाको दोस्रो हप्तामा १५ हजारले तालको अवलोकन गरेको बताए। तालको आफ्नै विशेषता छ। वरिपरि घनाजङ्गल भए पनि यसमा एउटा पनि पात खसेको भेटिँदैन। पात खस्नासाथ आफैँ किनारमा पुग्छन्। नभए यहाँका चराहरूले छेउसम्म धकेल्छन् भन्ने मान्यता पनि छ। यो ताल चखेवा, पानी हाँस र स्थानीय गरेलो र बुधना माछाको बासस्थान पनि हो। यस तालमा गर्मीको समयमा धेरै पर्यटक अवलोकन गर्न आउने गरेको ताल संरक्षण समितिले जनाएको छ।

     दैनिक ४०० को हारहारीमा पर्यकट यहाँ आउने गरेका छन्। तल नजिकै बराहदेवको मन्दिर पनि छ। सो मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नाले आफूले चिताएको कुरा प्राप्त हुने धार्मिक विश्वास छ। ताल क्षेत्रमा आवश्यक पूर्वाधार नभएकाले प्रवेश शुल्क नतोकिएको भए तापनि डुङ्गा चढेको भने शुल्क लिने गरिएको छ। कुपिन्डे दहको गहिराइ ६९ मिटर, लम्बाइ एक हजार २०० मिटर र चौडाइ सरदर साढे तीन सय मिटर रहेकोे बताइएको छ। तालले कति क्षेत्रफल ओगटेको छ भन्ने बारेमा यकिन जानकारी नभएको बताइएको छ।  

    तालमा  पानी कहाँबाट आउँछ र कहाँबाट पानी बाहिरिन्छ भन्ने स्पष्ट छैन। यो तालको देखिने मुहान पनि छैन र निकास पनि छैन। तर वर्षामा तालमा पानीको सतह बढ्दै जान्छ भने हिउँदमा त्यो बिस्तारै घट्दै जाने गरेको अध्यक्ष कुँवरले बताए। यसको देखिने निकास नभए पनि पश्चिमतर्फको भागबाट जङ्गलको भित्रभित्रै पानी रसाएर जाने गरेको हुनसक्ने अनुमान गरिएको छ। 

     तालमा स्वदेशी तथा विदेशी पर्यकटलाई धेरै सङ्ख्यामा भित्र्याउन सके जिल्लाको मुहार नै फेर्न सकिने कुपिन्डे ताल संरक्षण समितिका पदाधिकारी बताउँछन्। त्यसका लागि ताल क्षेत्रमा पुग्ने बाटो कालोपत्र हुनुपर्ने, त्यहाँ पर्यटकहरुका लागि बास बस्ने होटल तथा चमेना गृह तथा भौतिक पूर्वाधारको विकास हुनुपर्ने र ताल क्षेत्रमा सुरक्षाका लागि उचित व्यवस्था हुनुपर्ने आवश्यक देखिन्छ। सल्यान जिल्लाको सदरमुकाम खलङ्गाबाट तीस किलोमिटर दक्षिणमा पर्ने सो ताल जङ्गलको बीचमा रहेको छ। रासस

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - १३:४९:५१ बजे

    खबर पात्रो


    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend