बिहिवार , बैशाख १५, २०७९
बुटवल। तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। घिमिरे पार्टीका चुनाब प्रचारका कार्यक्रममा लगातार सहभागी भएका छन्।
निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन नहुने बताउँछन्।
उनी भन्छेन्, वहालवाला प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षदेखि कार्यपालिका सदस्यसम्मले पार्टीका कार्यक्रममा सहभागी हुन मिल्दैन।
निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ मा नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने उल्लेख छ।
‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ आचारसंहिताको बुँदा ५ (क) मा उल्लेख छ।
तर, वासुदेव घिमिरेले बिहीबार वडा नम्बर ४ को एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
उनी तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा वहाल रहेपनि लगातार पार्टीको कार्यक्रममा सहभागी हुन थालेपछि जनस्तरमा उनको कार्यशैलीको आलोचना हुन थालेको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
