२०८३, कार्तिक १४ गते

Oct 31 2026 | २०८३, कार्तिक १४ गते

कथा खोज्दै...................।

शुक्रवार , कार्तिक १३, २०८३

  • 190
    Shares
  • 190
    Shares
  • पहिलो दिन :
    शनिबारको बिहानै कथा खोज्न गुल्मी जाने सल्लाह भएको थियो । घडीले ९ः३० बजाउँदा पनि मनीष पन्थ आएनन् । कलाकार बेनप्रसाद थापा र मूर्तिकार हरि वयम्वू मगर गुल्मीको सत्यवती, ठूलो लुम्पेक अघिल्लो साँझ पुगिसकेका थिए । बिहानै गुल्मीतिर जाने भनेर सुटबूट कसेर बसेको थिएँ । पर्खिनुको समय बढी नै अत्यारिलो हुँदोरहेछ । 

    मनीष पन्थलाई दुईपटक एसएमएस गरेपछि मेरै घरमा आए उनी । ढिलै भए पनि जाने निधो भयो । बुटवलको पाल्पा बसपार्कबाट बिहान १०ः३० वजे हाम्रो भट्भटे यात्रा सुरु भयो । गुल्मी, रिडीमा रहेको तीनमुखे पुलमा पुग्दा दिनको १२ बजेर ५६ मिनेट गएको थियो । रुद्रवेणीमा पुग्दा १ बजेर ९ मिनेट गइसकेको थियो । रुद्रवेणीबाट करिब आधा किलोमीटर उत्तरतिर अघि बढेपछि दाहिनेतिरबाट ठूलो लुम्पेकतिर हानियौं । त्यहाँबाट करिव ११ किमीको दूरी पार गरेपछि अस्लेवा हुँदै ठूलो लुम्पेक पुगिने रहेछ । 

    ल्हुम्पेक खास नाम भए पनि चलनचल्तीको लुम्पेक पुग्दा दिउँसोको २ बज्नै आँटेको थियो । बुटवलबाट मनीषले हाँकेको भट्भटे एक्कासी अस्लेवामाथि डाँडोमा हामीलाई पिसाबले अत्ताएपछि रोकेका थियौं । सायद यति लामो दूरीसम्म नरोकिइकन भट्भटे हाँकेको यो नै पहिलोपटक होला । कच्ची र ग्राभेलबाटो कटेपछि ठूलो लुम्पेक पुगेर बेनुलाई फोन गर्दा उनीहरु हचिङकोट दरबार क्षेत्रमा बुद्धको प्रतिमा राख्नका लागि फाउण्डेशन तयार गर्न थालेको थाहा लाग्यो । 
    बेनुको माल्दाइकहाँ खाना खाएपछि सत्यवती–३, ठूलो लुम्पेकको वडा कार्यालयमा आयोजित अन्तरपुस्ता सम्वाद तथा अभिमुखीकरण कार्यक्रम (जहाँ ब्याचलर र डिग्री पढ्दै गरेका विद्यार्थी र पुराना पुस्ताबीचको छलफल कार्यक्रम) मा हाजिर हुन म र मनीष पुग्यौं । कार्यक्रम सुरु भइसकेको रहेछ । हामीले पनि आतिथ्यता ग्रहण गरी छातीमा अतिथिको बिल्ला भिरियो ।

    मनीषले वक्ता र सहजकर्ताहरुको भिडियो खिचे । ‘माल्दाइ मपनि गाउँ आएँ’ शीर्षकको कविता वाचन गरेपछि थपडी पाएँ । खुसीले मेरो नाक टिप्न बिर्सिएको घिरौंलाजत्रो भयो । सायद मेरो कविताले स्थानीय सहभागीहरुलाई सोडाको काम गरेको हुनुपर्छ । स्थानीय खुमा सिंजाली बहिनीको नमुछे आमा दहीमा टीका...बोलको गीतले सबैलाई भावुक बनायो । गायिका बहिनी भक्कानिएर रोइन् । 

    सामाजिक एवम् शैक्षिक युवा अभियन्ता पासाङ सिंजालीले सहभागीहरुलाई शिक्षासम्बन्धि विषयमा आफ्नो प्रस्तुतीकरण दिइन् । उत्प्रेरक एवम् बहुमूल्य उनको सहजीकरणको उच्च प्रशंसा गरेका थिए धेरैजनाले । यो उमेरमा उनमा देखिएको शैक्षिक लगावले पक्कै पनि ठूलो लुम्पेककोमात्र होइन देशकै गौरव बढाउनेछ । होनाहार युवाको त्यो किसिमको शैक्षिक सुझबुझ र प्रस्तुति शैलीले नयाँ आयाम थपेको थियो । शैक्षिक नीति, योजना, कार्यक्रम र कार्यान्वयनलाई जनस्तरसम्म पुर्याउनका लागि कसले के गर्ने र रैथाने ज्ञान, सीप र व्यवहारसँग शिक्षालाई कसरी जोड्ने भन्ने विषय नै प्रभावकारी देखिन्थ्यो । ढुक्क भएर ,शालीन तरिकाले आफ्नो विषयवस्तुमा उनले देखाएको प्रतिभा नै काफी थियो । 

    सोही कार्यक्रममा युवा अध्येयता तथा राजनीतिकर्मी खोमा तरामूले ठूलो लुम्पेकको कला, संस्कृति, सभ्यता र रैथानेबालीका बारेमा गहन विषयवस्तु प्रस्तुत गरेका थिए । पौनेघण्टा बढी उनले आफ्नो विषयवस्तुमा धाराप्रवाह प्रवचन दिएका थिए । खोज, अध्ययन र अनुसन्धानमूलक उनको प्रिजेन्टेसनले सहभागीहरुलाई आफ्नै गाउँ, ठाउँ चिन्ने सुनौलो अवसर प्रदान गरेको थियो । उक्त प्रस्तुतीलाई बुकलेटका रुपमा प्रकाशन गर्न सकिएमा धेरैले ठूलो लुम्पेकको इतिहास, वर्तमान र भविष्यका बारेमा जान्ने सुवर्ण अवसर प्राप्त गर्नेछन् । 

    कार्यक्रमका मुख्य वक्ता काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक भुवन थापा बहुवी थिए । बहुप्रतिभाका धनी उनले महालुम्पेकको अवधारणा प्रस्तुत गर्दै कला, साहित्य र सिर्जनाले नै आफ्नो गाउँको परिचय फराकिलो बनाउन सकिने तर्क पेश गरेका थिए । बहुवीको मूर्तिकलामा खास दक्षता भए पनि चौतर्फी ज्ञानको दायराले उनलाई गाउँको हीरा सावित गरेको छ । सहभागीहरुलाई उनले आफ्नो ज्ञान, सीप र क्षमतामात्र प्रदर्शन गरेनन् बरु नयाँ पुस्तालाई गाउँको सर्वाङ्गीर्ण विकासका लागि आफूहरु समर्पित हुनुपर्नेमा जोड दिए ।  

    वडा नम्बर २ का वडाध्यक्ष खड्कवीर थापाले ठूलो लुम्पेकको श्रमशीलता, कर्मशीलता, मिलनसारिता र भावनामा एकरुपता छभन्न्ने कुरालाई छर्लङ्गै पारे । उनले आफ्नो वडालाई ठूलो लुम्पेकको दाँजोमा उभ्याउन नसकेकोमा दुःख मनाउ समेत गरे । वडा नम्बर ३ का वडाध्यक्ष जीतु तरामूले आफ्नो वडाको गौरव नै शिक्षित युवाहरु, उनीहरुका ज्ञान, सीप र क्षमता रहेको वर्णन गर्दै युवा र पुरानो पुस्ताबीचको सम्वादले नै गाउँको विकास सम्भव हुने ठहर गरे । 

    ल्हुम्पेक सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष हुमी सिंजालीले कार्यक्रमको बीट मारिन् । कार्यक्रम सकिएपछि चियापान भयो । घुमाउने रोटी अर्थात् सेलरोटी, कुखुराको फुल र अचार खाएर बीट मारियो । त्यतिबेला अस्ताउँदो सूर्यले पश्चिमतिर ओथारो बस्नै लागेको थियो । १ हजार ६ सय २८ मीटर उचाइँमा रहेका थानी बजैको काखमै रहँदा चिसो हावाले खुबै कान सेक्यो । 
    रातको गाँस र बासको प्रवन्ध बेनुले मालदाइकहाँ मिलाए । माल्दाइकी जेठी लाहुरेनी बुहारीले खुबै मिठास तरिकाले पाहुनाहरुको स्वागत, सत्कार गरिन् । साथीहरुले जाडोको दबाईले पीर बिसाए । म भने कुखुराको मासुले दाँत बजाएँ । 
    दोस्रो दिन :
    सखारै उठी थानीबजैलाई देव्रे पारेर सत्यवती गाउँपालिकाको वडा नम्बर २ को थुम्कातिर ओरालियौं । भुवन थापाको घरमा पुग्दा उनी जेठान लालबीरसँग कुरा गर्दै नातिनीलाई काखमा खेलाउँदै थिए । पुरानो घर, ठूलो आँगन, भान्साघरको बाहिर कलात्मक चित्रहरु, ढुंगाका विभिन्न आकृतिहरु झुण्डाइएका थिए । हेर्दा लाग्थ्यो, उनको घर नै कलात्मक कुनै जीवित संग्रहालय । उनको जीवनकथालाई द रियल स्टोरीमा समावेश गर्न मनीषले क्यामेरा तेर्साए । 
    कहिले मुडामा बसेर, कहिले बारीका पाटामा उभिएर, कहिले भान्साकोठा भित्रबाहिर घुमेर कथाका लागि आवश्यक फुटेजहरु लियौं । घरका भित्ताहरुमा टाँगिएका प्रमाणपत्र, सम्मानपत्र, प्रशंसापत्र देखेर हामीहरु चकित भयौं । सायद उनको कार्यविवरण र प्रगतिको कथा त्यीनै भित्ताका प्रमाणहरुले साक्षी बनेर वकालत गरिरहेका छन् । 

    उनका बारीका पाटामा फर्सीहरु पल्टिरहेका थिए । चटेलाहरु लहराहरुमा झुण्डिरहेका थिए । खुर्सानीहरुले आकाश ताकेका थिए । फूलहरु तिहार कुरिरहेका थिए । भोगटेहरु नै रुखका लागि भारी बनेका भेटिन्थे । टिम्बूरले आफ्नो परिचय दिएको थियो । केराले थाम खोजेको भान भो । ग्रामीण जीवन रहर लाग्दो थियो । भैसीको मोहीले तिर्खा मेट्न प्रयास गरेका थियौं । 

    बिहानको खानामा सिस्नु थियो । अचार च्वाट्ट । तिख्खर सागले मुखै रसायो । थपीथपी रासनग्रहण गरियो । सिस्नु थप्दै खाएका थिए छिमेकी बेनुले भसक्कै । प्राङ्गारिक खानाले मनै रमायो । खाना खाइवरी हामी गाग्रीढुंगा, खुल्ला जाँतो संग्रहालय र हेलीप्याड हेरेर फर्किदा मध्यान्हको १२ बजिसकेको थियो । मन आत्तिएको थियो । हामीलाई पुग्नु थियो ल्हाँचे पल्लोखोला, पासाङको घरमा । 

    मोटरसाईकलमा हुँइकिएर हामी ठूलो लुम्पेकतिर लाग्दै गर्दा बाटामा यामबहादुर थापाको ससुराली थुम्का, धनुबाँस कुलोमूनी पस्यौं । त्यहीनेर क्षितिजा राहादी, अमर सिंजापतिलाई समेत भेट्न अवसर मिल्यो । ठूलो लुम्पेकहुँदै हामी ल्हाँचे, पल्लोखोला पुग्दा दिनको एक बजिसकेको थियो । ओरालो तर गेग्रान कच्ची, ग्राभेल र आरसीसी गरिएको बाटो काटेपछि पासाङको घरमा पुगेका थियौं । 

    पासाङका बाबा एकोहोरो परिचित मेरा साथी रहेछन् । पासाङको परिवारले हामीलाई फूलको गुच्छाले भव्य स्वागत र सम्मान गरे । उनका बाबा भरतजीसँग करिब चार वर्षअघि दाङको कुनै कार्यक्रममा भेटिएका रहेछौं हामी । कुराकानी र चियापानी खाँदै गर्दा उक्त कुराको मालुम भो । 

    सामाजिक एवम् शैक्षिक युवा अभियन्ता पासाङ सिंजालीसँग उनको जीवन, संघर्ष र सफलताका लागि चालिएका कदमहरुका बारेमा करिब तीन घण्टा द रियल स्टोरीका लागि भिजुअल् कुराकानी गर्यौं । मन्टेश्वरी शिक्षा, नेपालको बालशिक्षा, रैनाथे ज्ञान, सीपसँग कसरी जोड्ने विषयमामात्र होइन, उनले व्यतीत गर्दै गरेको वर्तमान जीवनका अनेक पाटामा गहन वार्ता गरेका थियौं । 

    तार्किक एवम् धाराप्रवाह रुपमा उनले मेरा प्रश्नका जवाफ फर्काएकी थिइन् । मनमा लागेका र भन्न मिल्नेजति कुरा उनले भनिन् । कतिपय व्यक्तिगत प्रश्नहरुले उनलाई असहजता महसुस गराएको हो कि भन्ने मेरो मनमा शंका रह्यो । तर, उनमा मैले कुनैपनि असहजता र अमिलोपना देखिनँ । त्यो नै उनको खास गुण रहेछ । जे आउँछ, सहजै पचाउने उनको बानी र पाचक उस्तैउस्तै लाग्यो मलाई । 

    कोजाग्रत पूर्णिमाको अघिल्लो दिन हामीले उनको घरमा खीरसँगै खाजा खायौं । बेनु र हरि आत्तिएर हचिङकोटतिर लागे हामीलाई छाडेर । हामीले बाँकी दृश्यहरु खिच्यौं । पासाङको परिवारसँग मनीष र मैले फोटो खिच्ने अवसर मिल्यो । त्यतिबेला हाम्रा खुसीले पहाड चढेका थिए । हार्दिकतापूर्ण बिदाइसँगै ठूलो लुम्पेकको सामुदायिक होमस्टेमा भेट्ने वाचाका साथ छुट्टियौं । 

    साँझपख ठूलो लुम्पेकको सामुदायिक होमस्टेका दिदीबहिनीहरुले हामीलाई स्वागत गरे । करिब डेढघण्टा जति होमस्टे सञ्चालन र व्यवस्थापनसम्बन्धि तालिमको सहजीकरण गर्ने अवसर मिल्यो । दिदीबहिनीहरु हतारमा भएका कारण मेरो मनपनि स्थीर हुन सकेन । जेजति समय तालिम भयो, उपलब्धीपूर्ण भएको सहभागीहरुले बताए । एकछिन बेनु, पासाङलगायतका साथीहरु मादल र गीतको तालमा नाँचे । कलाकार सुमित्रा रानाको माइतीघरमा रातिको खाना खाइयो । सुत्न भने माल्दाइकहाँ पुगियो । 

    तेस्रो दिन :

    हचिङकोट ऐतिहासिक दरबार संरक्षण क्षेत्रमा पुग्दा बिहानको आठ बज्नै लागेको थियो । कलाकार बेनुले आफ्ना बाबा लालबहादुर र आमा खगी अनि भाइ बाबु थापाको स्मृतिमा बुद्ध प्रतिमा स्थापना गरेका थिए । सोही अवसरमा स्थानीय प्रकाश राना, जुत्तबहादुर थापा, केशव रानालगायतका इष्टमित्रहरुको सहभागीतामा बुद्धको प्रतिमा राखिएको थियो । पूजापाठ गरी बेनुले कार्यक्रमलाई अघि बढाउँदा भावुक भए उनी । हामीले कार्यक्रम घुम्दैफिर्दैका लागि भिजुअल् तयार पार्यौं । हचिङकोेटमा रहेको भग्वनावेश दरबार, टिकटक पार्क, यहाँ भइरहेका भौतिक निर्माण, गुराँस महोत्सव गर्ने विषयमा स्थानीयहरुसँग घुम्दैफिर्दै कार्यक्रम तयार बनाइयो । फर्किदा ड्रोन छाडेर पो आइएछ । 

    माल्दाइकहाँ खाना खाइवरी पाती हाल्ने सेनी दिदीको स्टोरी खिच्न उनकै घरमा गइयो । उनको खास नाम नर्मी राना मगर रहेछ । ७६ वर्षीया नर्मी रानाको संघर्षपूर्ण जीवन, लाहुरबाट भागेका आफ्ना श्रीमान, कक्षा ९ मा पढ्दै गर्दा मेननजाइटीसका कारण जेठो छोरोले श्रवणशक्ति गुमाउनुको पीडा कम्तीको छैन । शारीरिक अपांगताभित्रको सशक्त व्यक्तित्व नर्मी रानाको बटौलीसम्मको नून–तेल यात्रा रोमाञ्चक लाग्यो । मोहोरमा किनेको चप्पल घरि खुट्टामा घरि हातमा लगाएर हिंड्दाको किस्सा रोचक छ । बारुले गीत गाइन् । मीठो स्वर । दर्जन सन्तान जन्माए पनि आठजना जीवित सन्तान रहेछन् । सन्तानको पालनपोषण, शिक्षादीक्षा, स्वास्थोपचारका लागि उनले हड्डी घोटिन् । कहिले भैसी पालिन्, कहिले चिया बेचिन् । तन्दुरुस्त र टाठी नर्मी रानाको कथालाई द रियल स्टोरीमा समावेश गर्न पाउँदा खुसी छौं।

    पूर्णिमाको साँझपख हिमालय युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रम हेर्न गइयो । तर, भीडका कारण धेरै बेर बस्न कठिन भो । सुमित्राकी आमा, निर्मलाको जीवनकथालाई रेकर्ड गर्न उनको निवासतिर लाग्ग्यौं । 

    निर्मला आमैको द रियल स्टोरी प्रसारण भइसकेको छ । धेरैले हेरेर प्रतिक्रिया दिइरहेका छन् । सकारात्मक पृृष्ठपोषणले हामी प्रफूल्लित छौं । ७२ वर्षीया निर्मला आमाले पाँच पास भएपछि चार महिना शिक्षण सेवा गरिन् । महिला स्वास्थ्य स्वयंसेविका भइन् । सुँढेनी बनेर गर्भवती महिलालाई सहयोग गरिन् । महिला मण्डल खोलेर महिला सशक्तिकरणमा टेवा पुर्याइन् । भूमिगतकालीन अवस्थामा नेताहरुलाई ताउलोभरि खाना पकाएर खुवाइन् । सेवा गरिन् । सुरक्षा दिइन् । तर, उनमा कत्ति पनि केही गुनासो छैन । आमाले अत्यन्तै रोचक पारामा प्रश्नहरुका जवाफ दिएकी छिन् । 

    अभिनयमा समेत पारङ्गत उनलाई फिल्ममा खेलाउने हो भने उत्तम अभिनय गर्न सक्छिन् भन्ने कुरा फिल्मनिर्देशक मनीष पन्थले बताए । सुमित्रा, केशव, बालचन्द्र, निलिमा,  लोकबहादुर सरसँग बिदा मागेर माल्दाइकहाँ खाना खाएर सुत्न पुग्यौं । यसपालि बुढी सत्यवती जान नपाइने कुराले मनमा दुःख लाग्यो । तैपनि मन बुझाउने काम भयो । भोलि बिहानै बुटवल झर्ने सुन्दर सपना साँचेर राति ११ वजेतिर सुत्यौं ।