२०८३, कार्तिक १३ गते

Oct 30 2026 | २०८३, कार्तिक १३ गते

लायन्स भैरहवा ग्रीन सिटीद्वारा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न

शुक्रवार , कार्तिक १३, २०८३

  • 175
    Shares
  • 175
    Shares
  • भैरहवा, १३ कार्तिक । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको आयोजनामा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित श्री ठुटीपिपल माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गरिएको हो ।

    कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपालका जीएटी कोअर्डिनेटर चिफ महेशचन्द्र थापाले लायन्स क्लबले समाजमा विभिन्न सामाजिक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले ग्रीन सिटीले आयोजना गरेको शान्ति चित्रकला प्रतियोगिता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।विद्यार्थीले बनाएका चित्रमा शान्ति, सद्भाव र भाइचाराको भावना झल्किएको उहाँको भनाइ थियो ।

    त्यस्तै लायन्स भैरहवा ग्रीन सिटीका अध्यक्ष भानु पौडेलले विश्वमा शान्ति र भाइचारा कायम गर्नुपर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले क्लबले विभिन्न क्षेत्रमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

    कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ पीका डिस्ट्रिक्ट चिफ श्री रायमाझी, मनोज क्षेत्री, एरिया चिफ सुनिल सेन्चुरी, जोन चेयरपर्सन लक्ष्मी अधिकारी तथा विद्यालयकी सहायक प्रधानाध्यापक सीता रानाले पनि मन्तव्य राख्नुभएको थियो ।
    प्रतियोगितामा विद्यालयका ११ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा आयुषा धर्तीमगर प्रथम, साधना गडरिया द्वितीय र आलोक मल्लाह तृतीय हुनुभयो । त्यस्तै, रुक्मिणी थारु र नग्मा खातुनले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो ।

    प्रकाश पाण्डेको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव जयप्रकाश रायले गर्नुभएको थियो ।